After SEE Portal

सिकाइ सुधार गर्न शिक्षणमा परिवर्तन आवश्यक

Bridge Course

गङ्गा बोगटीले मष्टा आधारभूत विद्यालयमा शिक्षण गराएको दशक नाध्यो । स्थानीय ऐचेँलीबगरको मष्टा माविमा सबै विषयको शिक्षक भएर काम गरेको दशक नाध्यो। यस अवधिभर अध्यापन गराएअनुसार उनका विद्यार्थीले भने सोचेजस्तो नतिजा कहिल्यै ल्याएनन् ।

खप्तडछान्ना गाउँपालिका भित्रका विद्यालयविच हुने प्रतिस्पर्धामा उनको विद्यालय जहिल्यै कमजोर बन्यो । अभिभावकले शिक्षकको मेहनत तथा विद्यार्थीको लगनशीलताप्रति प्रश्न उठाए । नतिजा नसुध्रिएपछि बोगटीलाई सिकाइ प्रक्रिया नै नमिलेको जस्तो भयो । उनले बेलाबेलामा तालिम लिनका लागि धेरै ठाउँमा चासो देखाइन् ।

तालिमका लागि शिक्षा कार्यालयसँग समेत समन्वय गरिन् तर कतै अवसर पाइनन् । गत हप्ता छान्नामै चलेको तालिमपछि भने उनलाई निकै जाँगर चलेको छ ।

शिक्षण सिकाइ सहज बनाउनका लागि १० दिने तालिम लिएकी बोगटीलाई अहिले शिक्षण गर्न सजिलो लाग्न थालेको छ । पहिले घोकन्ते (कण्ठस्थ) पार्ने गरी मात्रै पढाउथ्यौँ । त्यसमा सबै विद्यार्थीले सिक्न सक्दा रहेनछन् । अहिले भने विभिन्न सामग्री देखाएर मात्रै पनि विद्यार्थीले राम्रो सिक्न थालेका छन् । उनले आफूले लिएको तालिम परिणाममुखी हुने बताइन् ।

खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका शिक्षक जङ्गबहादुर खत्रीलाई पनि अहिले विद्यार्थीलाई अध्ययन गराउन सजिलो लाग्न थालेको छ ।

साढे दुई दशकदेखि अध्ययन गराउँदै आएका खत्रीलाई विद्यार्थीले सिक्ने र सिकाउने कला अहिले फरक लाग्न थालेको हो ।

‘लामो समयदेखि आफैँले निर्माण गरेका शैक्षिक सामग्रीबाट अध्ययन गराउँदै आएका थियौँ । नतिजामा भने विद्यार्थीले नसिकेको धेरै देखियो । आजभोलि भने थप शैक्षिक सामग्रीबाट विद्यार्थी छिटो सिक्दै आएका छन्’, उनले भने। उनले विद्यालयमा चित्र, शैक्षिक सामग्री वा विद्यालय बाहिरका साङ्केतिक दृश्यबाट पनि विद्यार्थीले छिटो सिक्ने गरेको बताए । उनले भने, ‘शिक्षण सिकाइलाई प्रभावकारी बनाउन पालिकाको समन्वयमा भएको तालिम शिक्षक विद्यार्थीलाई नै प्रभावकारी भएको छ ।’ उनले विगतका वर्षका भन्दा राम्रो नतिजा यसै वर्षदेखि हुने बताए ।

खप्तडछान्ना–५ खप्तड माविका शिक्षक हिरेन्द्रबहादुर सिंहले पनि सिकाइ प्रक्रिया केही फेरिएपछि नतिजा राम्रो आउने बताए । उनले भने, ‘पहिलेको र अबको सिकाइ प्रक्रिया धेरै नै फरक हुने पाएका छौँ । यसभन्दा अघि किताबका पाठहरू सुनाउँदै त्यसलाई अथ्र्याइन्थ्यो । समयमा पुस्तक नपुगेर एउटा दुइटै पुस्तक वा पुराना पुस्तकबाट सिकाइन्थ्यो । त्योबाट खासै राम्रो नतिजा पनि आउँदैनथ्यो । अब भने सिकाइ विधि नै प्रत्यक्ष चित्र तथा सामग्रीबाट हुन्छ ।’

यसबाट विद्यार्थीले चाँडो सिक्ने विश्वास लिएको उनले बताए । गत हप्ता खप्तडछान्ना गाउँपालिकामा रिड नेपालले सञ्चालन गरेको पाठ्यक्रममा आधारित सिकाइ वातावरण निर्माणसम्बन्धी १० दिने तालिममा ३८ वटा आधारभूत विद्यालयका एक सय ८९ जना शिक्षकलाई तालिम दिइएको थियो ।

समृद्ध खप्तडछान्ना परियोजनाअन्तर्गत अष्ट्रेलियाली सरकार र हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा पाठ्यक्रममा आधारित शैक्षिक सामग्री निर्माण, शैक्षिक सामग्रीको प्रयोग, कक्षाकोठा व्यवस्थापन, परिवर्तित पाठ्यक्रमको प्रयोग, निरन्तर विद्यार्थी मूल्याङ्कन र शिक्षण विधिलगायतका विषयमा छलफल गरिएको थियो ।

रिड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशीका अनुसार पालिकाभरिका सबै शिक्षकलाई ११ जना प्रशिक्षकले प्रशिक्षण गरेका थिए ।

ईश्वर आधारभूत विद्यालय घाटखोलामा सञ्चालन भएको तालिममा रामेश्वर प्रधान, राजेन्द्र पन्त, केशवदेव गिरी, जनकराज जोशी, ऋषिकेश आचार्य, सुजाता राई, रमा लिम्बू, विष्णु उपाध्याय, देवराज जोशी र मनिषा तामाङले विद्यार्थी सिकाइ मूल्याङ्कन र अभ्यासबारे आफ्नो अनुभवसहित सिकाइ विधिहरू सुनाएका थिए ।

तालिमपश्चात् सबै विद्यालयलाई रिड नेपाल तथा खप्तडछान्ना गाउँपालिकाले पाठ्यक्रम, शैक्षिक सामग्री, विद्यार्थी सिकाइ अभिलेख फारम वितरण गरेको संयोजक जोशीले बताए ।

A Levels MA
Thuprai - Books and E-books