After SEE Portal

भवन बन्यो तर पढाउने शिक्षक छैनन्

Bridge Course

पर्यटकीय क्षेत्र हेलम्बु, नाम सुन्दै आकर्षक छ । लाङटाङ राष्ट्रिय निकुन्जले यसलाई झनै सुशोभित गरेको छ । शिरमा टलक्क टंकिएको सेतो हिमाल जस्तै परैबाट टल्किने विद्यालयका आकर्षक भवन देख्दा २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकन्पन बिर्सिएको महसुस गर्छन् बेतासे माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्याम तामाङ ।

भूकम्पले उनको सानो ढुङ्गामाटोको घर भत्कायो । छोराछोरीलाई लिएर बारीमा रात कटाएका तामाङ वैशाख ११ गते विद्यालय पुग्दा झनै दुखी भए । उनको घरको त अवशेष थियो तर विद्यालयको रूपरंग केही बाँकी थिएन । विद्यालयको भौतिक सम्पत्ति सबै नष्ट भइसकेका थियो । ‘त्यो दिन विद्यालय पुगेको क्षण सम्झदा अहिले पनि भक्कनो छुट्छ ।’ उनी भन्छन्, टेलिफोन सम्पर्क कतै हुन सकेन, चारैतिर ड्याङड्याङ र डुङ्डुङको आवाज मात्र सुने । मेरो मात्र विद्यालयका हालत यस्तो होला भनेर धेरै रोए । किनकि यो विद्यालय धेरै संघर्ष गरेर चलेको थियो ।’

२०७१ मा कक्षा ९ र ०७२ मा कक्षा १० सञ्चालन गर्ने अनुमति पाएको विद्यालयले सुरुमै प्राकृतिक विपतको सामना गर्नु पर्‍यो । त्यतिबेला सो विद्यालयमा २८६ जना विद्यार्थी अध्ययन गर्थे । कोही ४५ मिनेट माथिबाट तल झरेर आउथे भने कोही एक घण्टाको बाटो उकालो चढेर विद्यालय आइ पुग्थे । नजिकै विद्यालय थिएन । अन्यत्र गएर पढ्न सक्ने आर्थिक अवस्था आर्थिक अवस्था भएका सबै विद्यार्थी थिएनन् ।

विद्यार्थीको भविष्यको चिन्ता, भूकम्पको पराकम्पनको असरले गर्दा कयौं रात उनी सुत्न पनि सकेनन् । ‘बाबुले सधै भन्थे आमाले स्कुल पठाउँदा माहाजन साँइला दाइको खाजाको याद आयो, स्कुलभन्दा उनैको काम गर्न गए, जिन्दगी भर अर्काको कमारो बनेर बस्नु पर्‍यो ।’ उनले भने, ‘मेरा बाउको यो कथा मेरा विद्यार्थीमा लागु हुने हो कि भनेर डराए, एक्लै रोए ।’

दुइ दिनपछि मात्र उनले समाचार सुनें । भूकम्पले सबैतिर असर गरेछ । ३१ जिल्लामा भूकम्प क्षति पुर्‍याएछ । त्यसमा पनि १४ जिल्लाका ९ हजार ३०० भन्दा बढी विद्यालयमा असर गरेछ । सरकारले विद्यालयको सार्वजनिक छुट्टि गर्‍यो । दुई महिनापछि जस्ताको टहरा बनाएर पठनपाठन सुरु भयो ।

कक्षा त सुरू भयो, एक वर्षसम्म विद्यालय बन्ने छेकछन्द नै थिएन । वर्षामा पानीको बाछिटाले बालबालिकाको कापीकलम भिजेको सम्झदै भन्छन्, टहराको पठनपाठन कहाँ सजिलो थियो र ? झरीमा केटीका कापीकिताब भिज्थ्यो, हावाहुरीमा रूघाखोकी जस्ता धुलोजन्य रोगले सताउथ्यो ।’

कारितासले बनाएको विद्यालय भवन

लामो समयको पर्खाईपछि कारितास नामक स्वीट्जरल्याण्डको एक संस्थाले ११ कक्षाकोठा भएको भूकम्प प्रतिरोधी भवन बनाइ दियो । अहिले निजी विद्यालयकै सुविधामा विद्यार्थीले पढ्न पाएका छन् । ‘कारितासले हाम्रा छोराछोरी पढ्ने अत्याधुनिक सुविधा सम्पन्न भवन दानमा बनाएर गयो ।’ खुसी हुँदै उनले भने, कारितासले भवनका साथमा छात्रवास, शौचालय र खानेपानीको व्यवस्था गरिदियो ।’

दुईवटा आरसीसी बल्क र चारकोठे छात्रावास निर्माण गरिदिएको छ । कारितासको रू.४ करोड ५६ लाख ७० हजार आर्थिक सहयोगमा बन्दन भगवती निर्माण सेवा प्रालिले सो भवन निर्माण गरेको कारितासका नेपाल निर्देशक ब्रन सेफर्डले जानकारी दिए ।

कारितासले अत्याधुनिक भवनसंगै विद्यालयमा घेराबारा, सुरक्षित खेल मैदानको पनि व्यवस्था गरिदिएको छ । विद्यालयमा अहिले कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला र व्यवस्थित पुस्तकालय छ । कम्प्युटर प्रयोगशालामा ८ वटा कम्प्युटर छन् । भने पुस्तकालयमा केही पाठ्यक्रम सम्बन्धी र केही अन्य पुस्तक छन् । ‘नयाँ पाठ्यपुस्तक किन्ने स्रोत छैन । पुरानैलाई संरक्षण गरेर राखेका छौं ।’

हेलम्बु गाउँपालिकाको ६ नम्बर वडा २२.२४ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो वडामा ६१० घरधुरी छन् । भने २ हजार ३८० जनाको बसोवास रहेको छ । यो विद्यालय पनि यही वडामा अवस्थित छ । यहँँ करिब ३०० जना विद्यार्थी अध्ययनरत छन् ।

भूगोल प्रतिकूल छ । विद्यालय आउन कतिपय विद्यार्थीलाई सम्भव हुँदैन । त्यस्ता विद्यार्थीलाई छात्रावासमा नै राखेर पढाउने गरेको छ । प्रति विद्यार्थी मासिक दुई हजारदेखि २५ सय रुपियाँमा २० जना विद्यार्थीलाई आवासीय सुविधासहित पठनपाठन गराउँदै आएको छ ।

दरबन्दिविहीन विद्यालय

२०४५ सालमा कक्षा १—५ पाठनपाठन गर्ने गरी यो विद्यालयको स्थापना भएका हो । ०६५ सालमा नै तत्कालीन निम्नमाध्यमिक तह सञ्चालन गर्ने अनुमति पाएको यो विद्यालयले ०७१÷०७२ देखि कक्षा ९—१० को पठनपाठन गर्ने अनुमति पायो । विद्यालयले माथिल्लो कक्षा सञ्चालन गर्ने विधिवत अनुमति त पायो तर अहिलेसम्म निम्नमाध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी पाउँन सकेको छैन ।

बल्लतल्ल निमाविमा एक जना नेपाली राहत दरबन्दी पाएको छ । ‘उहाँले नै कक्षा ६ देखि १० सम्म नेपाली पढाउनु हुन्छ ।’ प्रधानाध्यापक तामाङ भन्छन्, ‘नलेखिएको कथा जस्तै भो हाम्रो विद्यालय कसैले पीडा नै बुझेनन् । दरबन्दीको अवस्था लेख्न लगाउँछन् लेख्यो कहिल्यै दरबन्दी दिँदै दिँदैनन् ।’

विद्यालयमा एक जना लेखापालको दरबन्दी छ । उनले कक्षा ९ र १० मा दैनिक पाँच घण्टी पढाउँछन् । सबैले सामुदायिक विद्यालयको गुणस्तर खस्केको भन्छन् तर दुर्गमका विद्यालयको अवस्थाको बारेमा कोही नबोलेको प्रधानाध्यापक तामाङले गुनासो गरे ।

विद्यालयमा पाँच जना प्राथमिक तहका शिक्षक छन् । तिनै शिक्षकको भरमा ११ वर्ष अघिदेखि निम्न माध्यमिक र चार वर्षअघिदेखि माध्यमिक तहको पठनपाठन भइरहेको छ । भने प्राथमिक तहका लागि विद्यालयले निजी स्रोतका शिक्षकको व्यवस्था गरेको छ ।

गतवर्ष सम्म फ्रेन्डस् अफ हिमालय चिल्ड्रेन नामक संस्थाले माध्यमिक तहका शिक्षकको तलब व्यवस्थापन गर्दै आएको थियो । तर अहिले मासिक२० हजार रुपियाँ मात्र दिने गरेको छ । संस्थाले नै पाल्दै आएका शिक्षकलाई समयमा नै पारिश्रमिक उपलब्ध गराउन समस्या भएको विद्यालयले जानकारी दियो ।

४७ विद्यार्थी संस्थाकै

ज्ञानमाया तामाङ अहिले १३ वर्षकी भइन् । भूकम्पले उनको घर भत्कायो घर मात्र होइन उनको आमाको ममता पनि खोस्यो । बुबा रातोदिन जाँडरक्सी खाने घरै नआउने हुँदा उनले कति दिनसम्म रोएरै बिताइन् । पाँच जना छोरी र तीन छोराको संरक्षक आमा बितेपछि उनलाई गाउँका केही अगुवाहरूले माइती नेपाल पुर्याए । ‘तर खै के नपुगेर हो कुन्नी माइती नेपालले मलाइ दुई महिनादेखि बस्नै दिएन ।’ विगत सम्झँदै भन्छिन्, ‘कहिले आफन्तकोमा बसे, कहिले कता बसेर पढें सोचे जस्तो पढ्न पाइन, तर फ्रेन्डस् अफ हिमालय चिल्ड्रेनको संरक्षण पाएपछि राम्ररी पढ्न पाएकी छु । मेरी बैनी पनि मसंगै बसेर पढ्छे ।’

सोही संस्थाको आर्थिक सहयोगमा ज्ञानमाया बतासेमा पढ्दैछिन् । उनी कक्षा आठकी उत्कृष्ट छात्रा हुन् । सो संस्थाले ज्ञानमाया जस्ता ४७ बालबालिकाको संरक्षणकत्व लिएर सोही विद्यालयमा पढाउँदै आएको छ ।

घरबास नभएका, जोखिममा परेका, अतिगरिब तथा अनाथ बालबालिकाको सम्पूर्ण जिम्मेवारी लिएर संस्थाले पढाउँदै आएको विद्यालयले जानकारी दियो ।

बनाइएका छन् त्यहाँका भौतिक संरचनाहरू पनि । हेलम्बुका सात वडामा ३५ वटा सामुदायिक विद्यालय छन् । त्यसमा माध्यमिक तहसम्म सञ्चालित नौ वटा विद्यालय छन् ।

सुन्दर प्राकृतिक छटाले सजिएको हेलम्बुमा बनाइएका विद्यालय भवनहरू सुरू देखि नै राम्रा भने होइनन् । २०७२ को विनाशकारी भूकम्पले क्षेदविच्छेद बनाएको हेलम्बुका भौतिक संरचनाहरू विभिन्न दातृ निकायको सहयोगमा चिरिच्याट्ट पारेर बनाइएको छ । भूकम्प प्रतिरोधी, अत्याधुनिकसुविधा सम्पन्न, विभिन्न प्रयोगशालासहितका बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री विद्यालय भवननिर्माण गरिएको छ ।

हेलम्बुका २६ वटा भूकम्प प्रभावित विद्यालय कारितास स्वीट्जरल्याण्डले बनाइ दिएको छ । नवनिर्मित सबै विद्यालय अत्याधुनिक र सुविधा सम्पन्न छन् । यिनै विद्यालयको सूचीमा पर्न सफल भएको छ हेलम्बुको बतासे माध्यमिक विद्यालय ।

A Levels MA
Thuprai - Books and E-books