After SEE Portal

पाठ्यपुस्तककाे मूल्यमा कालाे पाेतिए

Bridge Course

मूल्य उल्लेख भएको ठाउँमा कालो पोतेर नयाँ मूल्य उल्लेख गरिएका पाठ्यपुस्तक राजधानीका पसलहरुमा छ्याप्छ्याप्ती फेला परेको छ । पाठ्यपुस्तकमा मूल्य नै उल्लेख नगरिएका पाठ्यपुस्तक पनि बेग्रल्ती फेला परेका छन् ।

पाठ्यपुस्तक अनुगमन समितिले आजबाट अनुगमन थालेको छ । भोटाहिटी र नयाँबानेश्वरका सात वटा पुस्तक पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा त्यसरी नयाँ मूल्य उल्लेख गरेर पाठ्यपुस्तक बिक्री गरिएको पाइएको हो ।

अनुगमन समितिका सदस्य सुप्रभात भण्डारीले भने, “पाठ्यपुस्तक उत्पादनदेखि बिक्री वितरणमा निकै बद्माशी गरिएको पाइयो । खुलेआम लुट भइरहेको छ ।”

उनका अनुसार निकै धेरै सङ्ख्यामा पुस्तक भिडाउने गरिएको पाइएको छ । उनले कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई औसतमा १० देखि १६ वटासम्म पाठ्यपुस्तक भिडाइएको पाइएको जानकारी दिए । “यो त अति नै भयो” उनले भने, “पाठ्यक्रम विकास केन्द्रले कुन कुन पाठ्यपुस्तक पढ्ने भनेर निर्धारण गरेको छ । तर जथाभावी भिडाइएको छ ।”

अनुगमनका क्रममा नेपालको पुरानो नक्सा उल्लेख भएका पाठ्यपुस्तक अनिगिन्ति फेला परेका थिए । कसै कसैले नेपालको नयाँ नक्सा उल्लेख भएको पाठ्यपुस्तकको आवरणमात्र फेरेको पाइएको छ । भित्र पुरानै पुस्तक राखिएको छ । सामाजिक शिक्षा नेपाली भाषामा अध्यापन गर्नुपर्ने भए पनि अझैसम्म अङ्ग्रेजी भाषाका सो पुस्तक बिक्री गर्ने गरिएको पाइएको छ ।

यसैगरी, नेपालको झण्डा, राष्ट्रिय रंग सिम्रिक श्यामश्वेतमा छापिएको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेकोभन्दा निकै चर्काे मूल्यमा पाठ्यपुस्तक बिक्री भइरहेको अनुगमन समितिले फेला पारेको छ । जनक शिक्षा सामग्री केन्द्रले छापेका पाठ्यपुस्तकको गुणस्तर खस्किएको पाइएको छ ।

नेपाल अभिभावक महासङ्घका अध्यक्षसमेत रहेको अनुगमन समिति सदस्य भण्डारीले अनुगमन कार्यलाई आगामी सातामा पनि निरन्तरता दिइने स्पष्ट गर्दै भने, “अनियमित गर्ने प्रकाशक र बिक्रेता सबैलाई भोलिबाट लिखित स्पष्टीकरण सोधिने छ ।” आजको अनुगमनमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याल, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने, पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घका प्रतिनिधि विष्णु पौडेल, अभिभावक सङ्घका अध्यक्ष केशव पुरी पनि सहभागी थिए । 

 

A Levels MA