स्थानीय तहमा आधारभूत तहको सिकाइ उपलब्धी अत्यन्तै न्यून

अधिकांश विद्यालयमा अध्ययनरत तल्लो तहका बालबालिकाको सिकाइ उपलब्धी अत्यन्तै न्यून भएको एक अध्ययनले देखाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले गरेको विद्यालय सर्वेक्षणका क्रममा कक्षा १ देखि ८ सम्मका विद्यार्थीको सिकाइ उपलब्धी अत्यन्तै डरलाग्दो पाइएको हो । सो महानगरपालिकामा गरिएको अध्ययनमा लिंग, जात र विद्यालयको प्रकार र आर्थिक अवस्थाका आधारमा विद्यार्थीको सिकाइ उपलब्धी फरक परेको पाइएको छ ।

तुलसीपुरका कक्षा ३ सम्मको आधारभूत साक्षरता र गणित प्रश्नको परीक्षण गर्दा २९ प्रतिशत विद्यार्थीले मात्र नेपाली बोध प्रश्नको उत्तर दिन सकेका छन् । अङ्ग्रेजीको अवस्था अझै डरलाग्दो देखिएको छ । सो अध्ययनमा कक्षा तीनकै पाठ्यक्रम अनुसार समावेश भएका पाठ पढेर उत्तर लेख्न लगाउँदा केवल १२ प्रतिशत विद्यार्थीले मात्र अनुच्छेद पढेर उत्तर दिन सकेको पाइएको छ भने, गणितमा दुईले भाग जाने भाजक गर्न लगाउँदा केवल २० प्रतिशतले मात्र भाग गर्न जानेको अध्ययनमा देखिएको छ ।

निजी र सामुदायिको सिकाइ अन्तर उच्च

त्यसैगरी कक्षा ८ मा नेपालीमा औसतमा ६० प्रतिशतले सामान्य बोध प्रश्नको उत्तर दिन सकेका छन् । त्यसैगरी २७ प्रतिशतले अङ्ग्रेजी र गणितको भाग मिलाउन ३६ प्रतिशतले मात्र सकेको सो अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त अध्ययनमा सामुदायिक विद्यालयको प्रदर्शन अत्यन्तै न्यून पाइएको छ । सामुदायिकका विद्यार्थीले नेपालीमा ५२, अङ्ग्रेजीमा १० प्रतिशत भन्दा कम र गणितमा १७ प्रतिशतले मात्र सामान्य भाग गर्न जानेको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणका अनुसार, निजी तर्फबाट कुल ३०.२९ प्रतिशत विद्यार्थीहरूले नेपालीको बोधसंग सम्बन्धित प्रश्नको उत्तर दिए भने उक्त प्रतिशत सार्वजनिक विद्यालयमा कुल २५.६८ प्रतिशत मात्र भेटियो ।

यो अन्तर अङ्ग्रेजी र गणितमा अझ गम्भीर प्रकृतिको भेटिएको छ । सर्वेक्षणमा, निजी विद्यालयका कुल २६.६१ प्रतिशत विद्यार्थीहरूले गणितमा भागको सही उत्तर दिन सके भने सार्वजनिक विद्यालयबाट जम्मा ७.३८ प्रतिशत विद्यार्थीहरूले भागफलको सही उत्तर दिन सकेका छन् ।

यसै गरी, अङ्ग्रेजीमा कुल १६.२८ प्रतिशत निजी विद्यालयका विद्यार्थीहरूले बोधसंग सम्बन्धित प्रश्नको उत्तर दिए भने उक्त प्रतिशत सार्वजनिक विद्यालयहरूको तुलनामा ३.५६ प्रतिशतमा झरेको देखाएको छ ।

निजी र सार्वजनिक विद्यालयहरूबिचको अन्तर प्रारम्भिक कक्षाहरू देखिनै देखिन्छ । भदौमा गरिएको अध्ययनमा कक्षा १ मा पढ्ने कुल ६.६८ प्रतिशत विद्यार्थीहरू नेपालीको वर्णमाला पहिचान गर्न असक्षम भेटिए । नेपालीको वर्णमाला पहिचान गर्न सक्षम सार्वजनिक विद्यालयको कक्षा १ मा २८.२० प्रतिशत, अङ्ग्रेजीमा २.२४ भेटिए भने, निजी विद्यालयका विद्यार्थीहरू अक्षर पहिचान गर्न असफल रहे भने उक्त प्रतिशत सार्वजनिक विद्यालयहरूमा ३७.१३ रहयो। यसै गरी गणित विषयमा निजी तर्फबाट १.७५ प्रतिशत विधार्थीहरुलाई सामान्य एक अंक पहिचान गर्न आएन भने सार्वजनिक विद्यालयहरूका ३५.५८ प्रतिशत विद्यार्थीहरुलाई सामान्य एक अंक पहिचान गर्न सकेनन् ।

२०७६ भादै १ गतेदेखि ३१ सम्म सञ्चालन गरिएको नेपाली, अङ्ग्रेजी, र गणितमा टिचफर नेपालको १२० जना सर्वेक्षकले उपमहानगर भित्र अध्ययनरत २८ हजार ६६ जना विद्यार्थीमा परीक्षण गरेको थियो । सर्वेक्षणका क्रममा तत्कालीन अवस्थाका ८४ प्रतिशत बालबालिका सहभागी रहेको उपमहानगरपालिका शिक्षा शाखाले जानकारी दियो ।

शाखाको सहकार्यमा टिच फर नेपालले गरेको उक्त सर्वेक्षणमा विद्यालयमा अनुपस्थित भएका १६ प्रतिशत बालबालिका मात्र छुटेका थिए ।

तल्ला कक्षाका विद्यार्थी बढी अनुपस्थित हुने

तुलसीपुरको सर्वेक्षणमा तल्ला कक्षाका विद्यार्थी बढी अनुपस्थित हुने गरेको पाइएको छ । सो अध्ययनमा निजी विद्यालयका जम्मा ९ प्रतिशत विद्यार्थी अनुपस्थित हुने गरेका छन् भने सामुदायिक विद्यालयका २७.५ प्रतिशत विद्यार्थी अनुपस्थित हुने गरेको पाइएको छ । अनुपस्थित विद्यार्थी मध्ये पनि कक्षा १ का ४० प्रतिशत विद्यार्थी अनुपस्थित हुने गरेका छन् भने कक्षा ८ का २७.५ प्रतिशत अनुपस्थित हुने गरेको पाइएको छ ।

निजीमा छोरी, सामुदायिकमा छोरी

सो अध्ययनले निजी विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी छोरा रहेको तथ्य सार्वजनिक गरेको छ ।

सो अध्ययनमा ९३ प्रतिशत सरकारी जागिरेका छोराछोरी, ९२.प्रतिशत व्यवसायीका छोराछोरी र ९१ प्रतिशत शिक्षकका छोराछोरी निजी विद्यालयमा अध्ययन गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ ।

Thuprai - Books and E-books