मुस्कानलाई अमेरिकी अन्तर्राष्ट्रिय पुरस्कार

तेजाब हमलाबाट पीडित मुस्कान खातुनलाई अमेरिकाले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको राशी उल्लेख गरिएको छैन ।

हाल उनी काठमाडौँको नैकापस्थित ब्राइट फ्युचर स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन् । स्कुलका संस्थापक अध्यक्ष मोहन कार्कीले मुस्कान र उनका भाइ तथा बहिनीलाई समेत निःशुल्कमा अध्यापनको अवसर प्रदान गरेको बताए । मुस्कान वीरगञ्ज निवासी हुन् ।

नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी उनलााई पुरस्कृत गर्न पाउँदा हर्षित भएको जनाएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले आगामी मार्च ८ तारिखमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी सो पुरस्कार प्रदान गर्नेछन् । विगतमा अमेरिकामा नै भाैतिक उपस्थितिमा पुरस्कृत गर्ने गरिएकाेमा यस वर्ष काेभिड-१९ का कारण भर्चुअल कार्यक्रममार्फत पुरस्कृत गरिने भएकाे हाे ।

“हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायः जसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस तथा नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ । यसका अघिल्ला विजेताहरू मध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन् जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन्” विज्ञप्तिमा भनिएको छ ।

सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरको प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी थिइन् । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । यसका बाबजुद मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् । उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे । “यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो । नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ” विज्ञप्तिमा उल्लेख छ ।

Thuprai - Books and E-books