After SEE Portal

नयाँ भवन बने पनि टहरामा भर

Bridge Course

ललितपुर लगनखेलको नमुनामच्छिन्द्र माध्यमिक विद्यालयको नयाँ निर्माण गरिएको विद्यालय भवन आज उद्घाटन भएको छ । तर कक्षाकोठा कम निर्माण गरिएकाले टहरामै पठनपाठन गर्नुपर्ने अवस्थाको अन्त्य तत्कालन नहुने भएको छ ।

२००८ सालमा स्थापित सो विद्यालयको भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि जापानी सहयोग नियोग जाइकाले नयाँ भवन निर्माण गरिदिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज त्यसको उद्घाटन गरे । नयाँ भवनमा १८ वटा कोठा छन् । 

विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतले आफूहरुलाई कम्तीमा ३० वटा कक्षाकोठा आवश्यक परेको गुनासो गर्दै भने, “नयाँ भवन बनेको छ तर सबैलाई नयाँ भवनमा राखेर पढाउन पुग्दैन । टहरामा भर पर्नुपर्ने अवस्था छ ।” नयाँ भवन जापान सरकारको १२ करोड ३० लाख रुपियाँमा निर्माण भएको हो । 

दृष्टिविहीन विद्यार्थीलाई आवासीय रुपमा अध्यापन गर्ने गरेको सो विद्यालयमा ९७२ जना विद्यार्थी अध्ययनरत छन् । भूकम्पले भवन क्षतिग्रस्त हुँदा नजिकैको खाली चौरमा टहरो निर्माण गरिएको थियो । तिनै टहरा अझैसम्म राखिएका छन् ।

नयाँ विद्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानतः विद्यालय शिक्षा पालिकाको जिम्मेवारीमा रहे पनि सङ्घीय सरकारले पनि सहयोग गरिरहेको बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएकामध्ये हालसम्म छ हजार ६४७ भवनको निर्माण सम्पन्न भएको जानकारी दिए । भूकम्पका कारण क्षति भएकामध्ये सात हजार ५८३ विद्यालय भवन नयाँ बनाउनुपर्ने थियो ।

उनले अब १२ प्रतिशत विद्यालय भवन पुनर्निर्माण हुन बाँकी रहेको बताउँदै भने, “अब बाँकी काम शिक्षा मन्त्रालयमार्फत सम्पन्न गरिनेछ ।”

जापान सरकारले भूकम्पबाट क्षति भएकामध्ये २७४ वटा विद्यालय भवन निर्माण गर्न सम्झौता गरेकोमा हालसम्म २१९ वटाको निर्माण सम्पन्न भइसकेको छ ।

   

A Levels MA
Thuprai - Books and E-books