असोज १०, ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला सहित अन्य जिल्लामा गरी २ लाख ६० हजार विद्यार्थी बाढीपहिरोबाट प्रभावित भएका छन् ।
गत शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरण कार्यकारी समितिको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुर, ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको धारणा सार्वजनिक गरेको छ ।
उक्त प्रकोपमा परी १६२ विद्यालय प्रभावित भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तथ्याङ्क अहिले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार मकवानपुरमा ६ जना विद्यार्थीको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिकास्थित वत्सलादेवी माविका ६ जना विद्यार्थीको पहिरोमा पुरिएर निधन भएको हो । त्यस्तै रुपन्देहीमा समेत २ जना विद्यार्थीको मृत्यु भएको छ । रूपन्देहीको बुटवल उपमहानरगपालिकास्थित कालिका मानविज्ञान माविमा कक्षा १० मा अध्ययनरत २ जना विद्यार्थीको धादिङको झ्याप्लेखोला पहिरोमा परी निधन भएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित जोरपाटी माविका १, ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित गोठभन्ज्याङ माविमा अध्ययनरत २ जना, गादावारी नगरपालिकाको फूल्चोकी इङ्लिस स्कुलका १ विद्यार्थीको निधन भएको छ । त्यसैगरी दोलखाको भीमेश्वर नगरपालिकास्थित अल्पाइन स्कूलका एक विद्यार्थीको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकमा ९ जना विद्यार्थीको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । तेमाल गाउँपालिकास्थित कुशेश्वर माविमा अध्ययनरत १ जना विद्यार्थी र उनका परिवारका सबै सदस्यको पहिरोमा परेर मृत्यु भएको छ । सर्वोद्वार माविका २ जना विद्यार्थीको समेत पहिरोमा परी परिवारसहित निधन भएको छ । त्यसैगरी रोशी गाउँपालिका स्थित ज्वालादेवी प्राविमा कक्षा ४मा अध्ययनरत २ जनाको निधन भएको छ । पनौती नगरपालिकास्थित श्रीराम माविमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको पहिरोमा पुरिएको निधन भएको छ । त्यस्तै सामुदायिक बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको घर भत्किँदा पुरिएर निधन भएको छ । काभ्रे इबो स्कुलमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको समेत पहिरोमा परी निधन भएको मन्त्रालयले जनाएको छ । बनेपा नगरपालिकास्थित आशापुरेश्वर आधारभूत विद्यालयका एक विद्यार्थीको पहिरोमा पुरिएर निधन भएको छ । काभ्रेकै रोशी गाउँपालिकास्थित ज्वालादेवी प्राविका २ जना विद्यार्थीको परिवारसहित निधन भएको छ ।