एसईईमा गत वर्ष भन्दा करिब ३५ हजार बढी परीक्षार्थी सहभागी हुँदै

चालु शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्ष भन्दा ३४ हजार ३३८ जना बढी विद्यार्थी सहभागी हुने भएका छन् । यो वर्ष ५ लाख १६ हजार ५७७ जना परीक्षार्थी सहभागी हुने भएका छन् । गत वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी भएका थिए ।

यो वर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी हुँने भएका छन् । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना गरी कूल ५ लाख १६ हजार ५सय ९१ जना परीक्षार्थी सहभागी हुने भएका हुन् । त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जना सहभागी हुने भएका छन् ।

२ हजार ३७ वटा परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ । बोर्डले साधारण शिक्षा, परम्परागत शिक्षा (संस्कृति, वेदविद्याश्रम, गोनय र मदरसा), प्राविधिक तथा व्यवसायिक शिक्षा गरी तीन धारका परीक्षार्थी रहने जनाएको छ ।

आगामी चैत्र १७ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि वाग्मती र गण्डकी बाहेक सबै प्रदेशमा प्रश्नपत्र पुर्याइसकेको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार २ हजार ३७ वटा परीक्षा केन्द्रबाट परीक्षा लिइने छ । सबैभन्दा बढी परीक्षा केन्द्र वाग्मती प्रदेशमा ७३४ वटा राखिएको छ भने सबैभन्दा कम कर्णालीमा १७९ वटा छन् । कर्णालीबाट यो वर्ष सबैभन्दा कम ४१ हजार ३२९ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् ।

बोर्डका अनुसार प्रश्नपत्र पुग्न बाँकी दुईवटा प्रदेशमा दुई तीन दिनभित्र पुर्याउनेगरी तयारी भइरहेको छ ।

Thuprai - Books and E-books