शारीरिक अपाङ्गता भएकी पोखरा महानगरपालिका–१७ निवासी सुस्मा रुचाल हाल बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत गर्दैछिन् ।
परिवारको हेरचाह नपाउँदा पढ्न नपाएकी रुचाल आवासीय सुविधासहित अध्ययन गरिरहेकीछिन् । यस विद्यालयमा रुचालजस्ता १४ जना अपाङ्गता भएका विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत गरिरहेका छन् । शारीरिक रुपमा अपाङ्गता भएका, अभिभावकविहीन, सामाजिक तथा पारिवारिक अपहेलनामा परेका उनी जस्तै विद्यार्थीलाई यो विद्यालयले अध्ययनको व्यवस्था मिलाएको छ तर तिनै अपाङ्गता भएका विद्यार्थीलाई पढाउने विद्यालय सरोकारवालाको नजरमा पर्न सकेको छैन ।
सो विद्यालयमा बागलुङ बजारका श्रमिक तथा माझी समुदायका ११७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । ग्रामीण भेगका विद्यालयहरु सुविधा सम्पन्न भइसक्दा सदरमुकामसंगै रहेको रामरेखा आधारभूत विद्यालयमा भौतिक पूर्वाधारलगायत संरचनामा निकै कमजोर छ । अपाङ्गता भएका विद्यार्थी पढाए पनि अपाङ्गमैत्री पूर्वाधार बन्न सकेको छैन । सीमित स्रोत र साधनले विद्यालय चलिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीले बताए ।
“विभिन्न जिल्ला र बागलुङका दूरदराजमा रहेका अपाङ्ग बालबालिकालाई शिक्षा दिनु हाम्रो कर्तव्य हो तर विद्यालयको आन्तरिक आय छैन । सरकारले आवासीय सुविधाका लागि दिएको मासिक चार हजारले पुग्दैन”, अध्यक्ष केसीले भने, “अपाङ्गमैत्री केही भौतिक संरचना भए पनि पूर्ण छैन । अपाङ्गमैत्री शौचालय, लत्ताकपडा, स्याहारसुसारको अभाव छ । अतिरिक्त सहयोग कतैबाट पाइएन ।”
विद्यालयमा लोपोन्मुख माझी समुदायका छोराछोरी समेत पढ्दै आएका छन् । विद्यालय सञ्चालनमा थुप्रै कठिनाइ रहेको विद्यालयका निमित्त प्रधानध्यापक सृजना पौडेलले बताइन् । एकजनाले मासिक रु १२ हजार तलबमा २४ घण्टा अपाङ्गता भएका बालबालिकाको स्याहार गर्ने कार्य कठिन भएको प्रधानाध्यापक पौडेलको भनाइ छ ।
“शारीरिक रुपमा कमजोर बालबालिकाको नियमित औषधि तथा उपचारको खाँचो छ । औषधि उपचारको खर्च विद्यालयले थेग्न सकेको छैन”, प्रधानअध्यापक पौडेलले भनिन्, “बागलुङ बजारमै भएर समेत हाम्रो विद्यालयमा कसैको नजर परेको छैन ।”