कक्षा १२ को परीक्षामा न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने

कक्षा १२ को नतिजा नयाँ पद्धतिअनुसार हुने भएको छ ।

लेटर ग्रेडिङ निर्देशिका रातारात संशोधन गरी २०७८ सालको एसईईको नतिजा सार्वजनिक गरिएपछि यतिबेला कक्षा १२ को नतिजाको पद्धतिका बारेमा सरोकारवालाको चासो निकै बढेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिकाअनुसार नै हुने जानकारी दिए ।

“न्यूनतम ३५ प्रतिशत हासिल नगर्नेको प्रमाणपत्रमा ननग्रेडेड उल्लेख हुनेछ” उनले भने, “एसईईको जस्तै कक्षा १२ को नतिजा पनि पुरानै विधिबाट हुने भन्ने भ्रम र हल्लाको पछाडि नलाग्न विद्यार्थीलाई अनुरोध गरेका छौँ ।” उनले पुरानो कोर्सका परीक्षार्थीको हकमा साविककै व्यवस्था भए पनि नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिएकाहरुको नयाँ मूल्याङ्कन पद्धतिअनुसार नतिजा सार्वजनिक हुने बताए ।

मङ्गलबारको बोर्ड बैठकले एसईईको उत्तरपुस्तिकामा प्राप्ताङ्क देखेपछि बोर्ड सदस्यहरू नतिजाप्रति निकै निरास भएका थिए । नयाँ स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्दा ६० प्रतिशतभन्दा बढी अनुत्तीर्ण हुने स्थिति देखिएपछि पुरानै विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय बोर्ड बैठकले गर्दै लगत्तै निर्देशिका परिमार्जन गरेको थियो । हरेक विषयमा सैद्धान्तिकमा न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकमा न्यूनतम ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था निर्देशिकाले गरेको थियो ।

निर्देशिका जारी गर्दा नयाँ पाठ्यक्रम कार्यान्वयनसँगै लागू हुने भनिए पनि लगत्तै तत्काल लागू हुने भनी संशोधन गरिएको थियो । सो संशोधन नगरिएको भए कक्षा १० मा २०८० सालबाट लागू हुन्थ्यो । तर मङ्गलबार संशोधन गरिएपछि अब पुनः २०८० सालबाट नै लागू हुने अवस्था सिर्जना भएको छ ।

परीक्षा नियन्त्रक शर्माले कक्षा १२ पूरा गरेका विद्यार्थीको अध्ययन उच्च शिक्षासँग जोडिएकाले त्यहाँ गुणस्तर आवश्यक पर्ने भएकाले मापदण्डभन्दा बाहिर जान नमिल्ने बताउँदै ३५ प्रतिशत नल्याउनेहरुको प्रमाणपत्रमा ननग्रेडेड उल्लेख गर्ने गरी नतिजा सार्वजनिक गरिने जानकारी दिए ।

यसैबीच आज कक्षा १० को परीक्षा बोर्डको बैठक बस्दैछ । बैठकले २०७८ सालको एसईईको ग्रेडवृद्धि परीक्षाको मिति निश्चित गर्नेछ । परीक्षा नियन्त्रण कार्यालयले आगामी भदौ ५ वा ७ गतेबाट सो परीक्षा सञ्चालन गर्ने प्रस्ताव बैठकमा लिएर जाँदैछ ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal