मनाङबाट ४३ विद्यार्थी एसईईमा सहभागी हुँदै

आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चापाईका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, प्रकाशज्योति मावि थोचेबाट १४, अन्नपूर्ण मावि मनाङबाट चार, भानु मावि तालबाट सात र लोकप्रिय मावि खुलाबाट चार जना परीक्षामा सहभागी हुनेछन् ।

मनाङको लोकप्रिय माविमा एउटा परीक्षा केन्द्र छ । जिल्लामा परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रमुख चापाईले बताए । परीक्षा सुरक्षित र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिएको बताइएको छ ।

यसैगरी, बैतडीमा  एसईईको तयारी तीव्र पारिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका  प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार परीक्षा सञ्चालनका लागि २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छ ।  

ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमिततर्फको  परीक्षा दिएको विद्यालयमै हुने छ । विगतमा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिए पनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीहरूको परीक्षा नियमितको परीक्षा दिएकै विद्यालयमा गर्न केन्द्राध्यक्षहरूलाई नियुक्त गरिसकिएको छ । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन नियुक्त केन्द्राध्यक्षका लागि यही वैशाख ६ गते अभिमुखीकरण कार्यक्रम  राखिएको छ ।

यस वर्षको एसईई परीक्षामा जिल्लाका ५ हजार ४३१ विद्यार्थी सहभागी  हुने छन् । भने, नियमिततर्फ पाँच हजार १८१, प्राविधिकतर्फ १८१ र ग्रेड वृद्धितर्फ ६७ विद्यार्थीसहभागी हुनेछन् । 

शैक्षिकसत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसइई सञ्चालन गर्न लागिएको हो । यो वर्षको एसईईमा देशभरिबाट कुल ५ लाख १४ हजार ९६७  परीक्षार्थीका लागि २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको हो । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जानकारी दियो ।

बोर्डका अनुसार देशभरका ११ हजार ६१५ नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी सहभागी हुँदैछन् । त्यसैगरी प्राविधिक तर्फका मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।

Thuprai - Books and E-books