After SEE Portal

बोर्ड अध्यक्षका लागि १५ जनाको आवेदन

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १५ जनाले दरखास्त दिएका छन् । सिफारिस समितिले बोर्डको अध्यक्षका लागि गत कात्तिक २५ गते दरखास्त आह्वान गरेको थियो । 

दरखास्त दिने अन्तिम म्याद मङ्सिर ९ गतेसम्म थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अध्यक्षका लागि दरखास्त दिनेमा पूर्वसचिवद्वय डा. महाश्रम शर्मा र लक्ष्मीराम पौडेल पनि छन् । यसअघि डा. शर्माले पनि आवेदन दिएका थिए र अन्तिम तीन जनामा परेका थिए । त्यो बेला प्रा.डा. चन्द्रमणि पौडेल, जनार्दन नेपाल र महाश्रम शर्माको नाम सिफारिसमा परेको थियो । मन्त्रिपरिषद्ले डा. पौडेललाई नियुक्त गरेको थियो । 

यसैगरी त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक दयामान कर्माचार्य, परीक्षा बोर्डकै अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख डा. रामचन्द्र पाण्डे र तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा पाण्डेले पनि दरखास्त दिएको बुझिएको छ । हेटौडास्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरसिंह बैठाले पनि अध्यक्षका लागि दावी गरेका छन् । 

प्राध्यापक डा. घनश्याम भट्टराई, प्राध्यापक डा. महानन्द चालिसे, कृष्णप्रसाद आचार्य, बाबुराम खनाल, धनमाया भट्टराई लगायतले पनि दरखास्त दिएको थाहा भएको छ ।

अध्यक्षका लागि शिक्षा तथा परीक्षाका क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव भएका र कुनै पनि राजनैतिक दलको सदस्य नभएको व्यक्तिले दरखास्त दिन पाउने कानुनी व्यवस्था छ । शिक्षा क्षेत्रको अनुभव भने पनि प्राध्यापनमा १२ वर्ष कार्य गरेको कार्यविधिमा उल्लेख छ । 

दरखास्त दिने व्यक्तिले बोर्डको नेतृत्व गर्ने सम्बन्धी अवधारणापत्र र चार वर्षको व्यावसायिक कार्ययोजना पनि पेश गरेका छन् । बोर्ड अध्यक्षका लागि उमेरको हदवन्दी छैन । प्राप्त दरखास्तलाई मन्त्रालयले लोक सेवा आयोगमा पठाएको छ । 

बोर्ड अध्यक्ष छनोटको लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने कानुनी व्यस्वस्था छ । सोही व्यवस्थाअनुसार आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा प्रा. डा. लेखनाथ शर्मा र मीना गुरुङ सदस्य रहेको समिति गठन भएको थियो ।  

दरखास्त दिनेहरुको अवधारणापत्र र कार्ययोजनाको समेत मूल्याङ्कन गरेर छनोटका लागि एक जनाको नाम सरकारलाई बुझाउने नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका सिफारिस समितिका सदस्य प्राध्यापक डा. लेखनाथ शर्माले बताए ।  

कक्षा १२ सम्मको शिक्षा विद्यालय संरचनामा गाभिएपछि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएर राष्ट्रिय परीक्षा बोर्ड गठन भएको हो । बोर्डका पहिलो अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको चार वर्षे कार्यकाल केही समयअघि सकिएको थियो ।  

A Levels MA
Thuprai - Books and E-books