Thuprai - Books and E-books
Scholarship edusanjal

‘प्रश्नपत्र आउट भएपछि पनिकामा आगजनी’

Admission edusanjal
Schools edusanjal

इतिहास खोतल्दै जाने हो भने प्रधानमन्त्रीको जन्म दिन परेर वा शिक्षा डाइरेक्टरका छोरा विरामी परेर प्रवेशिका परीक्षा सरेको रमाइला सन्दर्भ फेला पर्छन् । परीक्षार्थीहरु परीक्षा केन्द्रसम्म पुग्न नसक्दा पनि परीक्षा सारिएको इतिहास छ । ती इतिहास राणाकालीन हुन् । २००७ सालको आन्दोलनका बखत परीक्षा स्थगित त भएन तर अधिकाँश परीक्षार्थी परीक्षामा सम्मिलित भएनन् । सरकारले त्यस वर्ष दुई पटकसम्म पूरक परीक्षा सञ्चालन गर्नुपरेको थियो । धेरैले हल्ला गर्छन् कि २००७ सालमा कसैलाई पनि अनुत्तीर्ण गरिएन भनेर । तर त्यो गलत हो । परीक्षा नियन्त्रण कार्यालयसँग अहिले पनि रहेका त्यस बेलाका मार्क लेजर अध्ययन गर्ने हो भने त्यस वर्ष धेरै परीक्षार्थी अनुत्तीर्ण भएको प्रष्ट देखिन्छ । त्यसैले दुई पटकसम्म पूरक परीक्षा सञ्चालन गर्नुपरेको थियो । बरु त्यस बखत कोर्सलाई घटाइ सकभर बढी विद्यार्थी उत्तीर्ण हुन् भन्ने चाहना राज्यले नै राखेको थियो । त्यसो हुनुको कारण थियो– विद्यार्थीहरु क्रान्तिमा संलग्न भएकाले पढ्न पर्याप्त समय पाएका थिएनन् । त्यो वर्ष विगतमा अनुत्तीर्ण भएर थन्किएकाहरुले पनि परीक्षा दिए । थुप्रै सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भए ।

एसएलसी परीक्षाको इतिहासमा कालो दिनका रुपमा २०२५ सालको घटनालाई पनि लिइने गरिन्छ । एसएलसी परीक्षाको इतिहास लेखेका पत्रकार प्रकृति अधिकारीसँगको कुराकानीमा उनले त्यस घटनाका बारेमा यसरी उल्लेख गरे, “परीक्षा स्थगित गरिएपछि परीक्षा नसार्न माग गर्दै ठूलै जत्थाले पनिकामा आगजनी गरिदियो । अन्ततः परीक्षा सारियो । परीक्षा नियन्त्रक निलम्बनमा परे ।”

त्यो बेला परीक्षा नियन्त्रण कार्यालय नयाँसडकमा थियो । सैनिक अस्पतालको ठिक पछाडि जोडिएको घरमा थियो । भाडाको घरमा थियो । घर दुई तले थियो । त्यो घर हालैमात्र भत्काइएको हो ।

२०२५ साल माघ २ गतेबाट परीक्षा सञ्चालन हुने गरी तालिका सार्वजनिक गरियो । परीक्षा पनि सञ्चालन भयो । “वितरण गरिएका केही प्रश्नपत्रमा पछि हुनुपर्ने विषयका प्रश्नहरु प्नि छापिन पुगे । यसले गर्दा परीक्षा स्थगन गर्नुपर्ने निर्णयमा पनिका पुगेको थियो” पत्रकार अधिकारीले भने ।

पछिका विषयका प्रश्न अघिल्लो दिनमै ‘आउट’ भएपछि परीक्षा रद्दका साथै स्थगन गर्नु स्वभाविक पनि थियो । परीक्षार्थीहरुले परीक्षा नसार्न माग गर्दै जुलुस निकाले । जुलुस पनिकासम्म आइपुग्यो । भूँइ तलामा आगो लगाइदिए । त्यही नजिक रोकिरहेको शिक्षा मन्त्रालयको गाडी पनि जलाइ दिए । तत्काल दमकल बोलाइयो । आगो निभाइयो । प्रहरीले केहीलाई पक्राउ पनि गर्‍यो । 

भोलिपल्टै अर्थात माघ ६ गते तत्कालीन परीक्षा नियन्त्रक शिवहरि आचार्यलाई निलम्बन गरियो । सो घटनाका बारेमा अनुसन्धान गरी प्रतिवेदन दिन तीन सदस्य रहेको जाँचबुझ आयोग गठन भयो । त्यस आयोगको अध्यक्ष थिए सूर्यबहादुर शाक्य तथा सदस्यहरुमा विश्वनाथ उपाध्याय र कमलमणि दीक्षित ।

पनिकाले माघ १७ गतेबाट पुनः परीक्षा सञ्चालन गर्‍यो । आयोगले चैतमा आफ्नो प्रतिवेदन पनि बुझायो । प्रतिवेदनले धेरै कुराहरु सार्वजनिक गर्‍यो ।

एसएलसीको इतिहास पुस्तकका लेखक अधिकारीले त्यस घटनालाई यसरी सुनाए, “भारतको कोलकातामा रहेको लोटस प्रेसमा प्रश्नपत्र छापिएको रहेछ । केही प्रश्नपत्रमा अर्को दिनका प्रश्न छापिएछन् । त्यस्तो हुनुमा परीक्षा नियन्त्रकको कमजोरी होइन, प्रेसका प्राविधिकहरुको भुल हो । परीक्षा नियन्त्रकले हजारौँ प्रश्नपत्रलाई एक एक रुजु गर्न सम्भव हुँदैन । विश्वासमा काम गर्नुपर्ने हुन्छ । बदनियतपूर्ण जानाजान त्यस्तो काम परीक्षा नियन्त्रकले गर्छन् भनेर सोच्नु नमिल्ने कुर प्रतिवेदनमा उल्लेख थियो ।”

त्यो वर्ष पौने दुई लाख प्रश्नपत्रहरु छापिएका थिए । एक दर्जन प्रश्नपत्रमा मात्र गलत प्रश्न मिसिन पुगेका थिए । त्यसका कारण परीक्षा नै स्थगन गर्नुपर्‍यो ।

आयोगले प्रेसका कर्मचारीले प्रेस धनीसँगको व्यक्तिगत रिसिइबी वा झगडा वा खराब नियतले यस्तो गर्नसक्ने औँल्यायो ।

“कहिले अधिकृत र कहिले नासुलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिइनु गलत भएको भनेर प्रतिवेदनमा भनियो । पनिका पनि बिरालोले बच्चा सारेको जस्तो बारम्बार यताउता सार्नु पनि राम्रो होइन भन्ने सुझाव आयोगले दियो” उनले थपे ।

शिवहरिपछि सूर्यप्रसाद उपाध्यायलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिइयो । आर्थिक अपचलन गरेको आरोप लागेपछि सूर्यप्रसाद बेपत्ता भए । मानिसहरुले उनले आत्महत्या गरेको अनुमान सबैले गरे । २०३८ साल ताक हराएका सूर्यप्रसाद आजसम्म घर आइपुगेका छैनन् ।