इतिहास खोतल्दै जाने हो भने प्रधानमन्त्रीको जन्म दिन परेर वा शिक्षा डाइरेक्टरका छोरा विरामी परेर प्रवेशिका परीक्षा सरेको रमाइला सन्दर्भ फेला पर्छन् । परीक्षार्थीहरु परीक्षा केन्द्रसम्म पुग्न नसक्दा पनि परीक्षा सारिएको इतिहास छ । ती इतिहास राणाकालीन हुन् । २००७ सालको आन्दोलनका बखत परीक्षा स्थगित त भएन तर अधिकाँश परीक्षार्थी परीक्षामा सम्मिलित भएनन् । सरकारले त्यस वर्ष दुई पटकसम्म पूरक परीक्षा सञ्चालन गर्नुपरेको थियो । धेरैले हल्ला गर्छन् कि २००७ सालमा कसैलाई पनि अनुत्तीर्ण गरिएन भनेर । तर त्यो गलत हो । परीक्षा नियन्त्रण कार्यालयसँग अहिले पनि रहेका त्यस बेलाका मार्क लेजर अध्ययन गर्ने हो भने त्यस वर्ष धेरै परीक्षार्थी अनुत्तीर्ण भएको प्रष्ट देखिन्छ । त्यसैले दुई पटकसम्म पूरक परीक्षा सञ्चालन गर्नुपरेको थियो । बरु त्यस बखत कोर्सलाई घटाइ सकभर बढी विद्यार्थी उत्तीर्ण हुन् भन्ने चाहना राज्यले नै राखेको थियो । त्यसो हुनुको कारण थियो– विद्यार्थीहरु क्रान्तिमा संलग्न भएकाले पढ्न पर्याप्त समय पाएका थिएनन् । त्यो वर्ष विगतमा अनुत्तीर्ण भएर थन्किएकाहरुले पनि परीक्षा दिए । थुप्रै सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भए ।
एसएलसी परीक्षाको इतिहासमा कालो दिनका रुपमा २०२५ सालको घटनालाई पनि लिइने गरिन्छ । एसएलसी परीक्षाको इतिहास लेखेका पत्रकार प्रकृति अधिकारीसँगको कुराकानीमा उनले त्यस घटनाका बारेमा यसरी उल्लेख गरे, “परीक्षा स्थगित गरिएपछि परीक्षा नसार्न माग गर्दै ठूलै जत्थाले पनिकामा आगजनी गरिदियो । अन्ततः परीक्षा सारियो । परीक्षा नियन्त्रक निलम्बनमा परे ।”
त्यो बेला परीक्षा नियन्त्रण कार्यालय नयाँसडकमा थियो । सैनिक अस्पतालको ठिक पछाडि जोडिएको घरमा थियो । भाडाको घरमा थियो । घर दुई तले थियो । त्यो घर हालैमात्र भत्काइएको हो ।
२०२५ साल माघ २ गतेबाट परीक्षा सञ्चालन हुने गरी तालिका सार्वजनिक गरियो । परीक्षा पनि सञ्चालन भयो । “वितरण गरिएका केही प्रश्नपत्रमा पछि हुनुपर्ने विषयका प्रश्नहरु प्नि छापिन पुगे । यसले गर्दा परीक्षा स्थगन गर्नुपर्ने निर्णयमा पनिका पुगेको थियो” पत्रकार अधिकारीले भने ।
पछिका विषयका प्रश्न अघिल्लो दिनमै ‘आउट’ भएपछि परीक्षा रद्दका साथै स्थगन गर्नु स्वभाविक पनि थियो । परीक्षार्थीहरुले परीक्षा नसार्न माग गर्दै जुलुस निकाले । जुलुस पनिकासम्म आइपुग्यो । भूँइ तलामा आगो लगाइदिए । त्यही नजिक रोकिरहेको शिक्षा मन्त्रालयको गाडी पनि जलाइ दिए । तत्काल दमकल बोलाइयो । आगो निभाइयो । प्रहरीले केहीलाई पक्राउ पनि गर्यो ।
भोलिपल्टै अर्थात माघ ६ गते तत्कालीन परीक्षा नियन्त्रक शिवहरि आचार्यलाई निलम्बन गरियो । सो घटनाका बारेमा अनुसन्धान गरी प्रतिवेदन दिन तीन सदस्य रहेको जाँचबुझ आयोग गठन भयो । त्यस आयोगको अध्यक्ष थिए सूर्यबहादुर शाक्य तथा सदस्यहरुमा विश्वनाथ उपाध्याय र कमलमणि दीक्षित ।
पनिकाले माघ १७ गतेबाट पुनः परीक्षा सञ्चालन गर्यो । आयोगले चैतमा आफ्नो प्रतिवेदन पनि बुझायो । प्रतिवेदनले धेरै कुराहरु सार्वजनिक गर्यो ।
एसएलसीको इतिहास पुस्तकका लेखक अधिकारीले त्यस घटनालाई यसरी सुनाए, “भारतको कोलकातामा रहेको लोटस प्रेसमा प्रश्नपत्र छापिएको रहेछ । केही प्रश्नपत्रमा अर्को दिनका प्रश्न छापिएछन् । त्यस्तो हुनुमा परीक्षा नियन्त्रकको कमजोरी होइन, प्रेसका प्राविधिकहरुको भुल हो । परीक्षा नियन्त्रकले हजारौँ प्रश्नपत्रलाई एक एक रुजु गर्न सम्भव हुँदैन । विश्वासमा काम गर्नुपर्ने हुन्छ । बदनियतपूर्ण जानाजान त्यस्तो काम परीक्षा नियन्त्रकले गर्छन् भनेर सोच्नु नमिल्ने कुर प्रतिवेदनमा उल्लेख थियो ।”
त्यो वर्ष पौने दुई लाख प्रश्नपत्रहरु छापिएका थिए । एक दर्जन प्रश्नपत्रमा मात्र गलत प्रश्न मिसिन पुगेका थिए । त्यसका कारण परीक्षा नै स्थगन गर्नुपर्यो ।
आयोगले प्रेसका कर्मचारीले प्रेस धनीसँगको व्यक्तिगत रिसिइबी वा झगडा वा खराब नियतले यस्तो गर्नसक्ने औँल्यायो ।
“कहिले अधिकृत र कहिले नासुलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिइनु गलत भएको भनेर प्रतिवेदनमा भनियो । पनिका पनि बिरालोले बच्चा सारेको जस्तो बारम्बार यताउता सार्नु पनि राम्रो होइन भन्ने सुझाव आयोगले दियो” उनले थपे ।
शिवहरिपछि सूर्यप्रसाद उपाध्यायलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिइयो । आर्थिक अपचलन गरेको आरोप लागेपछि सूर्यप्रसाद बेपत्ता भए । मानिसहरुले उनले आत्महत्या गरेको अनुमान सबैले गरे । २०३८ साल ताक हराएका सूर्यप्रसाद आजसम्म घर आइपुगेका छैनन् ।