After SEE Portal

लकडाउनमा शिक्षकहरू के गर्दैछन् ?

Bridge Course

सम्पूर्ण शिक्षकहरु होम क्वारेन्टाइनमा रहनु भएको बेला समय व्यवस्थापन तथा सदुपयोग के कसरी गरिरहेका छन् भनेर जिज्ञासा उत्पन्न भयो । शिक्षकहरुलाई म्यासेन्जर तथा फोनबाट सम्पर्क गरे । केहीले जवाफ दिए । केहीले दिएनन् । शिक्षकहरुको जवाफ हुबहु यहाँ प्रस्तुत गरेको छुः 

सुशीला ढकाल बालउद्धार माध्यमिक विद्यालय, कपन, काठमाडौँ 

प्रविधिमैत्री शिक्षक समाज, नेपालद्वारा आयोजित जुम कन्फरेन्समार्फत अनलाइन प्रशिक्षक प्रशिक्षणमा सहभागी भई लाभान्वित हुने अवसर प्राप्त गरिरहेकी छु । सिकाइलाई समय सापेक्ष र प्रविधिमय बनाइ राज्यको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षकको सूचना प्रविधिको सिपलाई विकास गर्ने यस संस्थाको मुख्य ध्येय रहेको छ । आफ्नो पेशा र वृत्तिसँग सम्बन्धित कोर्स तथा अध्ययनलाई निरन्तरता दिएकी छु । बाँकी समय परिवारका बालबालिकाका लागि दिनुका अलावा पुस्तक अध्ययन, विभिन्न खेल, करेसाबारी र फूलबारीको काममा समय बित्छ । हौसला बढाउन सकरात्मक सूचना सम्प्रेषण गर्न सामाजिक सन्जालको प्रयोग गरेकी छु । 

 

लेखनाथ भट्टराई इन्द्रेश्वरी मावि, मेलम्ची, सिन्धुपाल्चोक

लकडाउनको सुरुका दुई दिन वार्षिक परीक्षाका उत्तरपुस्तिका परीक्षण गरियो । त्यसपछि एकान्तबासलाई विस्तारै अभ्यस्त बनाउन थालेको छु । छोराका लागि मिडास इक्लासको एप्स डाउनलोड गरेर उसलाई केही समय सहजीकरण गरिरहेको छु । मिडास इक्लास एक महिनालाई निःशुल्क छ । दैनिकी परिवारभित्र नै सीमित छ । छोरा र परिवारमा नै मोबाइलमा बाघचाल तथा चेस खेलमा दिनको केही समय बित्ने गरेको छ । बाँकी समय साहित्यिक पुस्तक अध्ययन, युट्युबमा उपलव्ध फिल्म परिवारका साथमा हेरेर, अनलाइन खबर, मोबाइलमा डाउन लोड गरिएको शिक्षक मासिक एप्सबाट लेखहरु, अनलाइनमा उपलव्ध लेखहरु, ईपुस्तकालयमा उपलब्ध पुस्तकहरु र टिभीमा समाचार हेरेर नै समय बित्ने गरेको छ । 

 

कृष्ण घिमिरे रामेश्वर मावि, खमारे, सिन्धुपाल्चोक 

अवस्था गम्भीर हुँदाहुँदै पनि आफू बाँचौ र अरुलाई बचाऔँ भन्ने कार्यलाई मूर्तरुप दिँदै नयाँ शैक्षिक योजना निर्माण गरेको छु । अभिभावकलाई आफ्ना नानीबाबुको सुरक्षा गर्न घर बाहिर जान नदिन र संयम अपनाउन आग्रह गरिएको छ । अन्तिम नतिजा प्रकासनको चरण भएकोले त्यसको आन्तरिक तयारी घरमा बसेर गरिँदै छ । किताब पढ्ने, गुगल सर्च गरी नयाँ जानकारी लिँदै दिनचर्या बित्दैछ । साबुन पानीले हात धुन लगाउने, सफा बस्ने, घर आँगन सफा राख्ने, सफा खाना खाने, लेखपढ् गर्न लगाउने, न आत्तिने, बाहिर ननिस्कने, आवश्यक परेर निस्किनु परेमा मास्क लगाउने, आफू सुरक्षित हुने, सुरक्षित हुन लगाउने आदिका बारेमा जानकारी गराउने गरेको छु ।

 

 

 

जमुना कुँवर आदर्श मावि, लायकु, भक्तपुर

नियमित दैनिक कामका अलावा दैनिक योगा गर्ने गरेकी छु । विभिन्न पुस्तकहरु सङ्कलन गरी अध्ययन गरिरहेकी छु । एलएलबीको परीक्षाका लागि तयारी गरिरहेकी छु । अडियो सुन्ने, नोट लेख्ने गरेकी छु । समसामयिक विषयमा सामाजिक सञ्जालबाट अपडेट लिने गरेकी छु । विद्यार्थीलाई अनुशासनमा रहन सुझाव दिने गरेकी छु । अभिभावकलाई आफ्नो विद्यार्थीले मोबाइल र टिभीको दुरुपयोग तथा सदुपयोग के गरिरहेका छन् भन्नेबारेमा पनि निरीक्षण गरिरहेको छु । बच्चाहरूलाई अभिभावकप्रति, समाजप्रति र राष्ट्रप्रतिको जिम्मेवारीका बारेमा सुझाउने गरेकी छु । करिअर गाईडेन्सको प्रशिक्षकसमेत भई काम गरेकी हुनाले विद्यार्थीहरुलाई सो विषयमा फोन र मेसेन्जरबाट परामर्शसमेत दिने गरेकी छु 

 

केशव नेपाल जाल्पादेवी माध्यमिक विद्यालय, कोठे, सिन्धुपाल्चोक

चैत्र ५ गतेबाट विद्यालय बन्द भए पनि चैत ७ गतेदेखि बिदा दिइयो । चैत्र ११ गतेबाट लकडाउन भएपछि बिहान ५ बजेअघि उठ्ने कार्यतालिका परिवर्तन भएको छ । पढ्ने र लेख्ने काममा गति आएका छन् । साहित्य र दर्शन अध्ययन गर्दैछु । साहित्यमा कथा कविता लेखिरहेको छु । धर्म संस्कृतमा महाभारतका केही पात्रहरुको अध्ययन गर्दैछु । विद्यालयका अभिभावकलाई आवश्यकताअनुसार फोन सम्पर्क गरी विद्यार्थीबारे जानकारी लिने गरेको छु ।

 

 

नविन कँडेल त्रिपुरेश्वर मावि, वीरेन्द्रनगर, सुर्खेत

यो लकडाउनको समयलाई भरपुर उपयोग गर्दै हामी देशभरका प्रविधिमैत्री शिक्षक समाजमा आवद्ध शिक्षकहरुले अनलाईनमार्फत शिक्षकका लागि शिक्षण सिकाइको लागि आवश्यक पर्ने कम्प्युटर तथा इन्टरनेटसम्बन्धी तालिम सञ्चालन गर्न व्यस्त छौँ । विषयगतरुपमा कुन कुन विषयलाई कसरी प्रभावकारीरुपमा शिक्षण गर्न सकिन्छ र आधुनिक प्रविधिको प्रयोग कक्षाकोठामा कसरी गरेर प्रभावकारीरुपमा शिक्षण गर्न सकिन्छ भन्ने कुराको खोजी एवं शिक्षणमा प्रयोग गर्न सकिने विभिन्न सफ्टवेयरको प्रयोग नै तालिमका मुख्य विषवस्तु रहेका छन् ।

 

 

एकता संग्रौला नाथेश्वरी आधारभूत विद्यालय, इलाम

विभिन्न पेशाकर्मी, सुरक्षाकर्मी, स्वास्थकर्मी, कर्मचारी, शिक्षक लगायत सबैको महत्वपूर्ण जिम्मेवारी रहनुपर्छ । यद्यपि शिक्षण पेशामा आवद्व व्यक्तिले अपेक्षाकृतरुपमा कम प्रभावकारी भूमिका निर्वाह गरेको महसुस भएको छ । तर पनि परिवार र समाजमा सकारात्मक सन्देशहरु अनुभूत गराउन हाम्रो भूमिकाले केही मात्रामा योगदान पुर्‍याएकै छ । अध्ययन, दैनिक क्रियाकलापका अलावा साहित्य सिर्जना एवम् अन्य रचनात्मक कार्यहरु समय व्यवस्थापनका महत्वपूर्ण पक्षको रुपमा सावित भएका छन् ।

 

 

 

सन्तोष बुढाथोकी बूढानीलकण्ठ मावि, बूढानीलकण्ठ, काठमाडौँ । 

मैले दैनिक नियमित व्यक्तिगत काम, शारीरिक कसरत र अध्ययनलाई जोड दिएको छु । श्रीमद्भागवत गीताको १८ अध्याय लकडाउनको समयमा पढेर सके । पढ्ने क्रममा संस्कृत श्लोक उच्चारणमा पूर्णतया गाह्रो भयो । सामाजिक सञ्जालमा अलिक बढी नै अभ्यस्त भइएको छ । सुताइ अलिक बढेको छ । फेसबुकको माध्यमबाट चेतनामूलक ‘स्टाटस’ लेख्ने र ‘शेयर’ गर्ने गरेको छु । हिरालाल सुवेदीले लेख्नुभएको अङ्ग्रेजी व्याकरणको पुस्तकलाई पुनः अध्ययन गरिरहेको छु । 

 

श्याम तामाङ शारदा मावि, शङ्खरापुर, काठमाडौँ  

सुरुमा कसरी बाँच्ने अनि बचाउने भनेर चिन्ता लाग्दो रहेछ । परिवार तथा साथीहरुसँग छलफल र सुझावमा समय दिएको छु । घरमा हुँदा पनि विद्यार्थीको चिन्ता लाग्दो रहेछ । म काठमाडौँको ग्रामीण भेगमा रहेको हुँदा इन्टरनेटको पहुँचमा कम हुन्छु । सकभर हरेक माध्यमबाट विद्यार्थीसँग जोडिने कोसिस गर्दैछु । विशेष त एसईई दिने विद्यार्थीहरुको चिन्ता बढी लाग्छ । यो लकडाउनमा घरमै बसेर पढ्न अनुरोध गर्ने गरेको छु । विद्यालय जाने वातावरण नभएकोले योजना निर्माणमा मानसिक योजनाबाहेक केही गर्न सकेको छैन । बाँकी समय अध्ययनमा बिताउँछु । 

 

 

शारदा श्रेष्ठ बाल विकास मावि, आलापोट, काठमाडौँ

आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्ने अभियानलाई आत्मसात गर्दैछु । यो जटिल समयमा सकारात्मक सोचका साथ विविध किसिमका नवीनतम लेख रचना पढ्ने, शेयर गर्ने र त्यस्ता लेख रचनालाई अनुकरण गर्न खोजिरहेकी छु । विभिन्न किसिमका ज्ञानवर्द्धक, सूचनामूलक, समय सापेक्ष, सन्देशमूलक, उपयोगी पुस्तकहरु खोजी गर्दै पढिरहेकी छु । सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञानको कमी भएकोले स्वयम् शिक्षामा कसरी सूचना र प्रविधिको विकास गर्न सकिन्छ भनी खोज गर्दै सिक्ने कोशिस गर्दैछु । आफ्नो विषयसँग सम्बन्धित नवीन विषयवस्तु खोजिरहेकी छु । सहज र सरल प्रस्तुतीकरणको विविध शैली र तरिकाको खोजी गरिरहेकीछु । 

 

 

 

 

नारायण धिमाल तेजविनायक मावि, गोठाटार, काठमाडौँ

पटक्कै हडबडाउने समय होइन । सिर्जनशील रही आत्मविश्वास कायम गरेर व्यक्तिगत सरसफाइमा ध्यान दिई शारीरिक तन्दुरुस्ती राख्दै आएको छु । शिक्षक एक सामाजिक अभियन्ता भएकोले कोरोनासम्बन्धी सचेतना बढाउने कार्यमा पनि संलग्न छु । यसअघि आफ्नो कार्य व्यस्तताले गर्दा परिवार, इष्टमित्र, साथीभाइसँग भेटघाट, कुराकानी हुन नसकेको अवस्थामा फोन र सामाजिक सञ्जालमार्फत सम्बन्ध अझ सुमधुर बनाउन सकिन्छ । आफूलाई वर्तमान परिवेशअनुसार अद्यावधि राख्नुपर्छ । विगतको शैक्षिक सत्रमा हासिल हुन नसकेका शैक्षिक उपलब्धिलाई हासिल गराउन योजना बनाएको छु । शिक्षासम्बन्धी फिल्म र डकुमेन्ट्री हेर्न, विभिन्न पत्रपत्रिका, पुस्तक पढ्न पनि समय खर्चिएको छु । 

 

 

अम्बिका धिताल महेन्द्रग्राम मावि, चाँगुनारायण, भक्तपुर 

कतिपय शिक्षक नयाँ शैक्षिक सत्रका लागि योजना बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । कतिपय उत्तरपुस्तिका परीक्षणमा । गीत, गजल, मुक्तक, हाइकु जस्ता लेख रचना लेखेर समय व्यवस्थापन गर्दै आएकी छु । त्यसैगरी मेरो सानो बाबु सानो भएको हुँदा उसको हेरचाहमा धेरै समय बिताइरहेकी छु । उसलाई नाच्न, बोल्न, गाउन अनि मौखिकरुपमा क, ख, ग, ए, बी, सी पनि सिकाइरहेकी छु । एसईई दिने विद्यार्थीको एउटा समूह बनाएर आफूले पढाउने विषयमा छलफल गराउने, अभ्यास गराउने र उनीहरूका समस्या समाधान गर्ने काममा पनि व्यस्त छु । आउने वर्ष कक्षा ११ को पाठ्यक्रम परिवर्तन हुने क्रममा छ । आफूले पढाउने विषयको अध्ययन गरेकीछु । लकडाउन अझै लम्बिएमा केही शैक्षिक सामग्री बनाउने सोचमा छु । 

चन्द्रकला दवाडी सरस्वती माध्यमिक विद्यालय, धनगढी

शिक्षक एक योजनाकार हो । शिक्षक सधैं विषयवस्तुमा अध्यावधिक हुनुपर्छ । शैक्षिक सत्र २०७७ बाट नयाँ पाठ्यक्रम लागु हुँदैछ त्यसकारण यस अवधिभर नयाँ पाठ्यक्रमको ढाँचा अध्ययन गरिहेकी छु । उपयोगी पुस्तकहरू तथा सन्दर्भ सामग्रीको अध्ययन गरेर समय व्यथित गरेकी छु । आजको युग सूचना तथा प्रविधिको युग हो, शिक्षक प्रविधिमा दक्ष हुनुपर्छ । भर्चुअल तालिममा सहभागी भई प्रविधिसम्बन्धी विभिन्न सीप तथा वेवपेज निर्माण गर्ने, ब्लग, यूट्यूब तथा गुगलका बारेमा तालिम लिइरहेकी छु । माध्यमिक तहको विज्ञान शिक्षक भएकोले एसईई विज्ञानको अभ्यास पुस्तक तथा म्यानुअल लेख्दै आफूलाई रचनात्मक कार्यमा समावेश गराइरहेकी छु ।

A Levels MA
Thuprai - Books and E-books