रु १० मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन

ललितपुर, २२ मङ्सिर (रासस) ः के तपाइँ एक पटक प्रयोग गरिसकेको वा प्रयोगमा नआएका लत्ताकपडा, पुस्तक, स्टेशनरीका सामग्रीहरु कहाँ व्यवस्थापन गर्ने भन्ने समस्यामा हुनुहुन्छ ? त्यसो भए होस्टेहैंसे नामक संस्थालाई खबर गरिदिनुहोस् । संस्थाका स्वयंसेवकहरुले ती सामग्री लगेर बिक्री गरी त्यसबाट हुने आम्दानीले गरीब, अनाथ, बालबालिकालाई अध्ययनको खर्च जुटाइदिन्छन् । 

सो संस्थाले यसरी नै सङ्कलन गरेका सामग्रीहरु बिक्री गरी प्राप्त आम्दानीबाट विगत चार वर्षदेखि सर्लाही जिल्लामा चार वटा विद्यालयको स्थापना गरी दुई हजार विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म अध्ययनको अवसर प्रदान गरेको छ । 

सर्लाहीका पडेरिया, सहोडवा, धनगढा र श्रीपुर विद्यालयको स्थापना गरी त्यहाँ अध्ययनरत विद्यार्थीलाई वार्षिक रु तीन हजारको खर्चमा पढाउने गरिएको सो संस्थाकी सस्ंथापिका सुलोचना श्रेष्ठ शाहले बताउनुभयो । उहाँका अनुसार २०७२ सालको भूकम्पपछि विद्यालय सञ्चालनका लागि जनस्तरबाटै यसरी रकम सङ्कलन गर्न थालिएको हो । 

चारवटा विद्यालय सञ्चालन गर्न वार्षिक रु ६० लाख खर्च हुने गरेको र सो रकम यसरी नै सामग्री बिक्री गरी सङ्कलन गर्ने गरिएको संस्थाका कार्यकारी निर्देशक कृष्ण शाह बताउनुहुन्छ । विपन्न, दलित र पिछडिएका समुदायका विद्यार्थीले मात्र अध्ययन गर्न पाउने ती विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उहाँको भनाइ छ । 

प्रत्येक शुक्रबार जावलाखेल भनीमण्डलस्थित एनसेल कार्यालयसँगै डा ऋषि शाहको घर कम्पाउन्डभित्र कपडालगायत अन्य उपभोग्य वस्तु बिक्रीका लागि राख्ने गरिएको छ । नेपालमा रहेको विदेशी नागरिक तथा अन्य व्यक्तिहरुबाट सङ्कलन गरी ल्याइएको ती सामग्रीहरु खरीद गर्न आउनेको भीड नै लाग्दछ । रु १० देखि १०० सम्ममा आवश्यकताअनुसारका स्तरीय सामग्री खरीद गर्न सकिने भएकाले विभिन्न उद्योग कारखाना, कार्यालयमा कार्यरत कर्मचारीदेखि सर्वसाधारण समेत आउने गरेको संस्थाकी कार्यकारी सहायक प्रतिमा न्यौपाने बताउनुहुन्छ । 

सभ्य र समृद्ध समाज निर्माण गर्ने उद्देश्यले २०४६ सालमा स्थापना भएको यस संस्थाले शिक्षा र सशक्तीकरणमार्फत दिगो सामुदायिक विकासका क्रियाकलापहरु गर्दै आएको छ । 

Thuprai - Books and E-books