After SEE Portal

स्वेच्छिक अवकासको प्याकेज

Bridge Course

ललितपुर महानगरपालिकाले ५० वर्ष उमेर पुगेका शिक्षकका लागि स्वेच्छिक अवकासको प्याकेज ल्याएको छ ।

सो महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकमध्ये सो उमेर पुगेका स्थायी शिक्षकले स्वेच्छिक अवकास लिन चाहेमा बाँकी सेवा अवधिका आधारमा सुविधा दिएर बिदा गर्ने आकर्षक प्याकेज अगाडि सारिएको छ ।

सो महानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत शेषकान्त पौडेलले पुराना शिक्षकलाई खुशी बनाएर बिदा गर्न, दरबन्दी मिलानलाई सहजरूपमा सम्पन्न गर्न र नयाँ पुस्ताका शिक्षकलाई भित्र्याउन यस्तो प्रस्ताव अगाडि सारिएको बताए । 

ललितपुर महानगरपालिकाभित्र सबै तहका गरी ६८३ दरबन्दी छ । त्यसमध्ये करिव डेढ सय शिक्षकको उमेर ५० भन्दा माथि रहेको अनुमान गरिएको छ । उनले ३० देखि ५० जनासम्मको आवेदन पर्न सक्ने अनुमान गरिएको बताए । 

महानगरपालिकाले २०७८ साल साउनपछि एक वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकका लागि एक लाख रुपियाँ, साउनपछि दुई वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई एक लाख ५० हजार रुपियाँ, साउनपछि तीन वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई दुई लाख रुपियाँ, साउनपछि चार वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई दुई लाख ५० हजार रुपियाँ र साउनपछि पाँचदेखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई तीन लाख रुपियाँ उपलब्ध गराइनेछ ।

अधिकृत पौडेलले यसका लागि आवेदन दिन ३० दिने म्याद दिइएको जानकारी दिए ।

यसैबीच सोही महानगरपालिकाले सामुदायिक विद्यालयमा रिक्त रहेका तथा रिक्त हुने शिक्षक पदमा करारमा शिक्षक छनोट गर्न गठन हुने छनोट समितिमा रही कार्य गर्न विशेषज्ञ सूची तयार गर्ने उद्देश्यले आवेदन माग गरेको छ ।

आधारभूत तह कक्षा १–५ र कक्षा ६–८ का लागि सम्बन्धित तह वा माथिल्लो तहमा स्थायी नियुक्ति भइ परीक्षणकाल पूरा भएको र न्यूनतम योग्यता शिक्षाशास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने तथा माध्यमिक तहका लागि सम्बन्धित तह विषयमा स्थायी नियुक्ति भई परीक्षणकाल पूरा भएको, शिक्षाशास्त्रमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण, कक्षा ११–१२ का लागि स्नातकोत्तर वा सो सरहको योग्यतामा न्यूनतम द्वितीय श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने तोकिएको छ ।

A Levels MA
Thuprai - Books and E-books