भर्चुअल कक्षा आजको आवश्यकता

I Tech store

कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई स्तब्ध बनाएको छ । यसको प्रकोपले विश्वको आर्थिक, सामाजिक, शैक्षिक लगायत सम्पूर्ण पक्षलाई प्रभाावित भएका छन् । कोरोना भाइरस संक्रमणका कारण विश्वको जनजीवन प्रभावित भइरहेको छ । विश्वका सम्पूर्ण मानिस सामाजिक दुरी कायम गर्दै घरभित्रै बस्न बाध्य भएका छन् ।

 विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार कोरोनाको संक्रमणको सिकार १९ लाख २९ हजार ९९५ जना भइसकेका छन् । भने १ लाख १९ हजार ७८९ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् भने यसको संक्रमणबाट ४ लाख ५३ हजार १८ जना निको भएका छन् । नेपालमा ५ हजार ६९१ जनाको परीक्षण गरिएकोमा १६ जनामा संक्रमण भएको भेटिएको छ ।

विद्यालय विश्वविद्यालय लगायत सम्पूर्ण शिक्षण संस्था बन्द छन् । कतिपय विद्यालयलाई क्वारेन्टाइन बनाइँदै छ ।

यस्तो अवस्थामा विद्यार्थीले कहिलेबाट विद्यालयमा सहज रुपमा पठनपाठन गर्न पाउँछन् भन्न सकिने अवस्था छैन ।

एकातर्फ नेपालमा पनि यसको संक्रमण बढिरहेको छ भने अर्कातर्फ शिक्षण संस्था पूर्णरुपमा बन्द छन् । नेपाली विद्यार्थीमा उसै पनि पठन संस्कृति हराउँदै गएको विगतका उपलब्धीले देखाइसकेको छ । नेपालको सिकाइ उपलब्धीलाई हेर्ने हो भने गुणस्तर खस्कँदै गएको विगतका नतिजा तथा विभिन्न आयोगले दिएका प्रतिवेदनले पुष्टि गरिसकेको छ ।

यसको उदाहरण गर्नका लागि गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा र सोही वर्ष कक्षा १२ को नतिजालाई हेरे पुग्छ । गतवर्षको एसईईमा कुल ४ लाख ५९ हजार २७५ विद्यार्थी मध्ये ३ लाख २५ हजार ३३० विद्यार्थी सामुदायिक विद्यालयका थिए भने भने १ लाख ३३ हजार ९४५ निजी विद्यालयका विद्यार्थी सहभागी थिए ।

जीपीए  

सामुदायिक विद्यालय प्रतिशत 

निजी विद्यालय प्रतिशत

एनए     २.०५         १.३४
०.८० –१.२०      १.३२     ०.०९
१.२०–१.६० १३.०२   १.१०      
१.६०–२.००    २७.८०        ३.६२
२.००–२.४० २६.८७       ३.६२
२.४०–२.८०    १६.५१   ८.०३
२.८०–३.२०     ८.१०      २७.९०
३.२०–३.६०    ३.४४    २९.७५
३.६०–४       ०.८५       ११.०४
जम्मा   ७०.८४    २९.१६

माथिको तथ्यांकलाई हेर्दा जीपीए ४ देखि ३.२० जीपीए सम्म निजीको नतिजा राम्रो देखिएको छ । सोही वर्षको कक्षा १२ को नतिजालाई हेर्ने हो भने अङ्ग्रेजी विषयमा ४ जीपीए ल्याउन विद्यार्थी ३५ प्रतिशत पनि छैनन् । गणितको पनि उस्तै छ ।

त्यसैगरी उच्च शिक्षा हासिल गरी प्रमाणपत्र लिएका जनशक्ति पनि केवल प्रमाणपत्रधारी मात्र बनेका छन् । यसको उदाहरण हेर्नका लागि गत असोजमा शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह र निम्नमाध्यमिक तहको विषयगत अध्यापनन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजालाई हेरे पुग्छ ।

आयोगले लिएको सो परीक्षामा निम्न माध्यमिक तहको नेपाली विषयको लिखित परीक्षामा ४८ हजार ९३४ परीक्षार्थी सहभागी भएका थिए । सहभागी मध्ये केवल २ हजार ५९ जनाले मात्र न्यूनतम ५० अङ्क ल्याउन सफल भएका छन् । भने सोही विषयको परीक्षामा सहभागी २३ सय विद्यार्थीले उत्तरपुस्तिकामा उत्तर लेख्नै जानेन् । फलस्वरुप उनीहरूको परीक्षा रद्द गरियो । उत्तीर्ण विद्यार्थीभन्दा धेरैले उत्तरपुस्तिकामा वस्तुगत प्रश्नको कि नै लेखेनन् ।

त्यस्तै सोही तहको सामाजिक विषयमा २२ हजार ९९ परीक्षार्थी लिखित परीक्षामा सहभागी भएका मध्ये ७४२ जना मात्र उत्तीर्ण भए भने १ हजार १३५ जनाले उत्तरपुस्तिका लेख्नै जानेन् ।

त्यस्तै अङ्ग्रेजीमा १९ हजार ८०९ जना सहभागी मध्ये ९५४ मात्र उत्तीर्ण भए । भने ५४७ जनाले उत्तरपुस्तिकामा कि लेख्नै बिर्सिए । गणितमा ७ हजार ७७५ जना सहभागी मध्ये ६९१ उत्तीर्ण भए भने २३४ जनाले कि लेख्नै विर्सिए ।

त्यसैगरी विज्ञान विषयमा ३ हजार ३६७ जना सहभागी मध्ये २८९ जना मात्र उत्तीर्ण भए भने ७५ जनाले उत्तरपुस्तिकामा कि लेख्नै विर्सिए ।

माध्यमिक तहको नेपाली विषयमा १६ हजार ४७ जना परीक्षार्थी सहभागी भए । सय पूर्णाङ्कको सो परीक्षाको उत्तीर्णाङ्क ५० निर्धारण गर्यो तर सो परीक्षामा जम्मा २ हजार ७३८ जना परीक्षार्थीले मात्र न्यूनतम् ५० अङ्क ल्याउन सफल भए । आयोगका अनुसार लाइसेन्सको नेपाली विषयको सो परीक्षामा जम्मा १७.०६ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन सफल भए ।

दुवै तहको लाइसेन्स परीक्षामा सोधिएको अधिकांश प्रश्नहरू शिक्षाशास्त्र पढेका विद्यार्थीका लागि नयाँ भने होइनन् । परीक्षार्थीले कक्षा ११ देखि स्नातकोत्तरसम्म तिनै विषयमा पढ्दै आएका छन्। यो नतिजालाई हेर्दा नेपालको शिक्षा प्रणालीमा नै प्रश्न चिह्न उठेको छ ।

नेपालमा शिक्षाको अवस्था नै कहाली लाग्दो छ । नेपालका विद्यार्थीले अधिकांश पुरानै विषयबाट पुनः परीक्षा लिँदा विद्यार्थीको उपलब्धी लाजमर्दो देखिएको शिक्षाविद्हरू बताउँछन् ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । यिनले नेपालको शिक्षा प्रणाली कस्तो छ भन्ने प्रश्न उब्जाएको छ । तल्लो तहमा राम्रो देखिएको नतिजा माथिल्लो तहमा पुग्दा विस्तारै क्षय हुँदै हुँदै गएर केही समयपछि कमजोरमा रुपान्तरण हुँदै जाने गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम २०७५ को ५६ औं नम्बरमा गुणस्तरीय शिक्षाका लागि भर्चुअल सिकाइ र अन्तक्रियात्मक श्रव्यदृश्य माध्यमको उपयोगबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने उल्लेख गरिएको छ । तर सो नीति अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

अहिले विश्व परिवेश फरक भएको छ । शैक्षिक सत्र सुरु हुने समयमा पनि आफू तथा आफ्नो समुदायको स्वास्थ्य सुरक्षाका लागि सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यकारी अवस्था छ । एकातिर विषम परिस्थितिमा देश गुज्रिरहेको छ भने अर्कोतर्फ शैक्षिक क्षयीकरण हुँदै आशङ्का बढ्दै गएको छ ।

पठन संस्कृति नभएका नेपाली विद्यार्थीहरू दिनप्रतिदिन मोवाइल र ल्यावटप तथा ट्याब लगायत अन्य विद्युतीय उपकरणमा समय व्यथित गरिरहेका छन् । उनीहरूको मानसपटलबाट पढ्नुपर्छ भन्ने कुरा विस्तारै हराउँदै गएको छ । यस्तो क्षयीकरणलाई रोक्न तत्काल सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

अहिले प्रविधिले विश्वलाई साँधुरो घेरामा कैद गरिसकेको छ । एकै ठाउँ भला भएर पढाउनु पर्ने कुरा घरैभित्र बसेर भर्चुअल माध्यमबाट सिक्न र सिकाउन सकिने भइसकेको छ । त्यसैले यो समयको सदुपयोग गर्दै सम्बन्धित निकायले भोलिको सुन्दर भविष्यको कल्पानाका लागि विद्यार्थीको पठन संस्कृतिलाई प्रविधिमय बनाइ जीवन्तता दिन जरुरी छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण विधि तथा विकल्प देखि पूर्व तयारीका लागि आवश्यक प्रतिवेदन निर्माण गर्न  समिति गठन गरेको छ । शिक्षा मन्त्रालयले पूर्व विज्ञान मन्त्री गणेश शाहको संयोजकत्वमा २८ सदस्यीय समिति बनाएको छ । विज्ञहरु सम्मिलित उक्त समिति अन्र्तगत रहेका विभिन्न ६ वटा उपसमितिले तत्काल र भविष्यमा गर्नुपर्ने कामबारे मन्त्रालयलाई सुझाव दिने गरी कार्य निर्धारण गरिएको छ ।

सो समितिले विगतमा जस्तो लुकाउने गरिको प्रतिवेदन सरकारलाई नबुझाइकन स्वतन्त्र र सुन्दर नेपालको परिकल्पना गर्ने गरी शिक्षण विधि चयन गर्नुपर्ने तथा देश, काल र परिवेश सुहाउँदो सुझाव दिएर लाखौं विद्यार्थीको भविष्य निर्माण गर्नुपर्ने दायित्व देखिएको छ । यसका लागि भर्चुअल क्यालेण्डर तयार गरी भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने आजको आवश्यकता रहेको छ ।

Thuprai - Books and E-books