After SEE Portal

त्रिविले स्नातक तहको समय परिवर्तन गर्ने उपकुलपतिको घोषणा

Bridge Course

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले शैक्षिक क्यालेण्डर बनाई लागुगर्ने त्रिविलाई पुनः संरचना गर्ने, मानविकी र शिक्षाशास्त्र संकायलाई पुनः तीन वर्षे बनाउने लगायतका घोषणा गरेका छन् ।

परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमा नहुँदा चार वर्षे स्नातकलाई पुरा गर्न पाँच ६ वर्ष लाग्छ । लामो समय एउटै तहमा रहदा उच्च शिक्षामा राज्य र अविभावकको लगानी मंहगो भएको भन्दै उनले पुनः तीन वर्षमा झार्ने घोषणा गरेका छन् ।

त्रिविले मानविकी संकायको ३ वर्षे स्नातक २०७७ सालदेखि चार वर्षे बनाएको थियो भने शिक्षा शास्त्र सांकयको स्नातक २०७२ सालदेखि चार वर्षे सञ्चालन गर्दै आएको छ ।

शैक्षिक गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय मान्यता अनुरुप तीन वर्षे स्नातकलाई चार वर्षे बनाएको त्रिवि पुनः स्नातकलाई तीन वर्षे बनाउने छलफलमा यसअघि नै जुटेको थियो । त्रिविका केही पदाधिकारीले यसअघि देखि नै त्रिविको स्नातक तह तीन वर्षमा झार्नुपर्ने प्राज्ञिक परिषद्मा प्र्रस्ताव राखिसकेका छन् । विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने विभिन्न सङ्कायका डिनले प्रस्ताव राखेका थिए । परीक्षा नियन्त्रण कार्यालयले समेत स्नातकलाई चारवर्षेबाट झारेर तीनवर्षे नै बनाउनुपर्ने राय व्यक्त गरेको थियो।

शिक्षा शास्त्र संकायको स्नातक तहलाई तीन वर्षको बनाएर शिक्षक बन्न चाहनेका लागि थप एक वर्ष शिक्षण पद्धति नै पढाउनु पर्ने राय सो बैठकमा शिक्षा शास्त्र संकायका डिन प्राडा चित्रबहादुर बुढाथोकीले व्यक्त गरेका थिए ।

 त्रिविको व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्नातकलाई चारवर्षे बनाउँदा विद्यार्थी टिकाउन मुस्किल परेको बताए। चारवर्षे कोर्सलाई तीन वर्ष पढेर एक वर्ष रोजगारीसँग जोड्ने गरी इन्टर्नसिपमा पठाउने कि पाठ्यक्रम नै परिमार्जन गर्ने भन्ने विषयमा छलफल हुनुपर्ने उनको धारणा छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार स्नातक तह अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा २०७८ सालमा पहिलो वर्षको परीक्षा दिन १३ हजार जनाले फाराम भरेकामा तेस्रो वर्षको परीक्षा (२०८० साल) मा आइपुग्दा नौ हजार जना मात्रै बाँकी रहेका छन्।

त्यस्तै २०७८ सालमा पहिलो वर्षको परीक्षाका लागि बिबिएसमा एक लाख १० हजार परीक्षार्थी रहेकामा अहिले तेस्रो वर्षको परीक्षाको समयमा ६० हजारले मात्रै परीक्षा दिएका छन्।

परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालमा पहिलो वर्षको परीक्षामा ६५ हजार विद्यार्थी रहेको बिएडमा तेस्रो वर्षको परीक्षासम्म आइपुग्दा ३२ हजार विद्यार्थी मात्र रहेको जानकारी दियो । त्यस्तै विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत २०७८ सालमा सात हजार रहेका विद्यार्थी तेस्रो वर्षको परीक्षाको समयमा छ हजार मात्रै रहेका छन्।

ती सबै विद्यार्थी प्रथम वर्षको पढाइका लागि २०७७ सालमा क्याम्पस भर्ना भएका हुन् ।

अहिले सञ्चालनमा आएको वार्षिक तथा सेमष्टर प्रणालीको समय परिवर्तन गर्नु अघि सबै संकाय तथा विषयको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने त्रिविका सूचना अधिकारी योगेन्द्र प्रसाद दाहालले बताए । ‘नीति तथा कार्यक्रममा उक्त विषय सम्बोधन भएको हो ’ उनले भने ।

त्रिविले २०७१–७२ सालदेखि व्यवस्थापन सङ्कायबाट स्नातक तहलाई चारवर्षे बनाएको थियो भने २०५२ सालबाट दुई वर्षे स्नातक तहलाई ३ वर्षमा रूपान्तरण गरेको थियो ।

A Levels MA
Thuprai - Books and E-books