After SEE Portal

विद्यार्थीको दिवा खाजाको पैसा प्रधानाध्यापकद्वारा चट

Bridge Course

सरकारले यो वर्षदेखि लागु गरेको प्रारम्भिक बालविकास देखि कक्षा पाँच सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको दिवा खाजा कार्यक्रम विद्यालयका पहुँचवालाले आफूखुसी खर्च गर्ने गरेको पाइएको छ ।

महोत्तरीको गौशाला नगरपालिका वडानं. ११ स्थित नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय कालीपुरका प्रधानाध्यापक देवनारायण महतोले दिवा खाजा शीर्षकमा विद्यालयमा आएको करिब ८७ हजार रुपियाँ व्यत्तिगत रुपमा खर्च गरेको पाइएको हो ।

प्रधानाध्यापक महतोले सो रकम विद्यालय व्यवस्थापन समितिलाई जानकारी नदिईकन व्यक्तिगत रूपमा खर्च गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र कुमार महतोले बताए । विद्यालयमा हिजो गरिएको शिक्षक अभिभावक भेलामा सो रकम प्रधानाध्यापकले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको खुलेको अध्यक्ष महातोले जानकारी दिए ।

हिजोको सो भेलामा विद्यालयको खातामा रहेको रकममध्ये आफूले व्यक्तिगत रूपमा पैसा खर्चिएको प्रधानाध्यापक महतोले स्वीकार गर्दै आफू बिरामी परेकोले उपचारको लागि खाताबाट रकम निकालिएको महतोले बताए । उनले एक साताभित्र आफूले सम्पूर्ण रकम चुक्ता गर्ने र माघ मसान्तभित्र हिसाबकिताब पारदर्शी गर्ने बताए ।

नगर शिक्षा शाखाले विद्यालयलाई प्रति विद्यार्थी दैनिक १५ रुपियाँका दरले वर्षको दुई पटक रकम निकाशा गर्ने गरेको र सो रकम मध्ये विद्यार्थी विचैमा छाडने तथा अन्य कारणले गत वर्षको पनि ४४ हजार रुपियाँ फस्यौट हुन बाँकी रहेको नगर शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार शाखाले एक वर्षमा प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्म १ लाख ७६ हजार ४ सय रुपियाँ निकाशा गर्ने गरेको छ ।

लामो समयदेखि विद्यालयमा आन्तरिक विवाद भएका कारण वास्तविक घटनाका बारेमा आवश्यक छानविन गरिने र दिवा खाजा कार्यक्रमलाई प्रभवकारी रुपमा अनुगमन गरिने नगरपालिकाका प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले बताए ।

मन्त्रालयले दिवा खाजाका लागि सिधै स्थानीय सरकारलाई रकम हस्तान्तरण गरेको हुनाले स्थानीय सरकारले नै यसको अनुगमन तथा निरीक्षण गर्नु पर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले बताए । ‘आफ्ना छोराछोरीका लागि आएको रकम कहाँ गयो ? भनेर अभिभावक, विद्यालय व्यावस्थापन समितिले खोज्नु पर्छ ।’ उनले भने, ‘हामी कहाँ दिवा खाजा सम्बन्धी रकमको दुरुपयोग भएको खबर आएमा शिक्षा, विकास तथा समन्वय इकाइलाई सोद्छौं, इकाले शिक्षा शाखामा अनुसन्धान गरेर नसियत दिन वा सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा काययक्रम सहजीकरण पुस्तिका, २०७६ ले व्यवस्था गरेको सजायाँ दिन्छौं ।’

२८ लाख विद्यार्थीलाई लक्षित गरी सरकारले बजेट भाषणमा नै ७ अर्ब ५२ करोड रुपियाँ विनियोजन गरेको छ ।

अधिकांश विद्यालयमा समस्या

नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालयमा मात्र होइन जिल्लाका अधिकांश विद्यालयमा दिवा खाजाको रकम हिनामिना भएको शिक्षा विकास तथा समन्वय इकाइले बतायो । इकाइका अनुसार राजनैतिक हस्तक्षेपका कारण विद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न सकिएको छैन । अभिभावकले पनि यसको खोजी नगर्दा दिवा खाजा कार्यक्रम प्रभावकारी हुन नसक्ने आशंका बढ्दै गएको छ ।

A Levels MA