विद्यार्थी बिरामी पर्न थालेकाले दुई विद्यालय बन्द

धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्राविका विद्यार्थीमा विगत एक सातादेखि ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले बन्द गरिएको विश्वज्योतिका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

सुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेकामा सातापछि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेकाले अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो । अहिले पकुवाको साविक वडा नं ३ रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी छन् ।

विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ । सुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको नभएका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो । अहिले झण्डै ५० विद्यार्थी बिरामी भएकाले सबैको पिसिआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भइरहेको वडाध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो।

भाइरल जरो र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले सजगता अपनाउन विद्यार्थीलाई भनिएकाले उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा जचाएर औषधि सेवन गरिरहेको प्रधानाध्यापक तिमिल्सिनाले बताउनुभयोे । जिल्लामा असोज १ देखि विद्यार्थीकै उपस्थितिमा पढाइ गरिएको थियो । जिल्लामा कोरोना सङ्क्रमण दर भने न्यून छ । अहिले जिल्लाभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात रहेको र ७५सङ्क्रमितको मृत्यु भइसकेको छ ।

Thuprai - Books and E-books