After SEE Portal

त्रिविले १४ अर्ब तलब  र पेन्सनमा खर्चने

Bridge Course

त्रिभुवन विश्वविद्यालयले बार्षिक रू १० अर्ब तलब र भत्ता तथा रू चार अर्ब पेन्सनमा खर्च गर्दै आएको छ ।

विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको दरबन्दी रहेको छ । उक्त दरबन्दीमा कार्यरत शिक्षक कर्मचारीका लागि बार्षिक १४ अर्ब खर्च गर्दै आएको हो ।

विश्वविद्यालयले गत आर्थिक वर्षमा रू २८ अर्ब बजेट विश्वविद्यालयसभाबाट पारित गरेको थियो भने सरकारले रू नौ अर्ब बजेट दिएको  विश्वविद्यालयका रजिष्ट्रार प्राडा पेशल दाहालले बताए ।

विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्राडा दाहालले  अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन  दिन नसकेको उनले जानकारी दिए ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको दरबन्दी रहेकोमा सरकारले १३ हजार जनाका लागि मात्रै तलब भत्ता  उपलब्ध गराउने गरेको जानकारी दिए ।

कार्यक्रममा पूर्व उपकुलपतिहरू प्राडा तीर्थराज खनियाँ र केदारभक्त माथेमा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायतका वक्ताले विश्वविद्यालयले समयअनुसार परिमार्जन गर्न नसकेको धारणा राखेका थिए ।

विश्वविद्यालयले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशिन बाध्य भएको  पूर्व उपकुलपतिहरूको धारणा थियो ।

सम्मेलनले एशोसिएशनको नयाँ कार्य समिति चयन गर्नेछ । कार्यक्रममा ग्लोबल आइएमइ बैंकले डिजिटल बैंकिङसम्बन्धी कक्षासमेत सञ्चालन गरेको थियो । सम्मेलनमा एशोसिएशनका महासचिव प्राडा ऋदिशकुमार पोखरेलले संगठनका गतिविधि समेटिएको प्रतिवेदन तथा कोषाध्यक्ष डा कुश्मिला आचार्यले कोषको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

A Levels MA
Thuprai - Books and E-books