लयमा चल्न सुरु गर्दै त्रिवि, सत्ता र शक्तिको युद्धले सुधारमा आशंका

त्रिभुवन विश्वविद्यालयले कोरोनापछि रोकिएका नतिजा धमाधम सार्वजनिक गरिरहेको छ ।

गत जेठदेखि अहिले सम्म विभिन्न संकायका २५ विषयको नतिजा सार्वजनिक गरिसकेको छ । यो त्रिविको इतिहासमा नयाँ रेकर्ड हो । अझै नयाँ रेकर्डका रुपमा त्रिविले गत साउन २ गतेदेखि ९ गतेसम्म सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम वर्षको ६ वटा विषयको नतिजा समेत प्रकशन गरिसकेको छ ।

सो तहको स्नातकोत्तर तह प्रथम वर्ष पोलिटिकल साइन्सको नतिजा परीक्षा भएको ११ दिनमा सार्वजनिक गरेको हो ।

त्यसैगरी एमए प्रथम वर्ष (पार्सियल) को नतिजा भने परीक्षा सकिएको ४ दिनमै सार्वजनिक गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले जानकारी दियो । पनिकाले थोरै विद्यार्थी भएका विषयको नतिजा शीघ्र सार्वजनिक गरेको जनाएको छ ।

पनिकाका कर्मचारीले दैनिक १२ घण्टा काम गरेर निर्धारित समयभन्दा अगावै नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । उनका अनुसार त्रिविले उत्तरपुस्तिाका परीक्षणसमेत क्षेत्रीय कार्यालयबाट सुरु गरेको छ । हरेक कार्यालयका कर्मचारी अहिले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म काममा खटिने गरेका छन् । पनिकामा अहिले ११९ जना कर्मचारी कार्यरत छन् । दैनिक ५२ जना कर्मचारीले १२ घण्टा काम गरिरहेका छन् ।

त्रिविमा नयाँ पदाधिकारी नियुक्ति पछि गरिएको पत्रकार सम्मेलनमा तीन महिनाभित्र कोरोनापछि रोकिएका सबै नतिजा तीन महिना भित्र सार्वजनिक गर्ने घोषणा गरिएको थियो । कर्मचारी अभावका कारण नतिजा समयमा सार्वजनिक गर्न नसकेको भनेर पन्छिदै आएको पनिकाका कर्मचारीलाई त्रिविले अतिरिक्त सुविधा सहित थप समय काममा खटाएपछि नतिजा समयमा नै सम्भव भएको त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले बताए । ‘त्रिविमा सुधारको सुरुवात गरिसकेका छौ ।’ उनले भने, ‘सबैको साथ र सहयोग पाएमा त्रिवि सुधारेर जान्छौं ।’

त्रिविले २०८० साउनदेखि पनिकाका कर्मचारीको थप सुविधा कटौती गर्दै कार्यालय समय १० देखि ५ बजेमा सीमित गरेको थियो । पुनः गत फागुनमा बसेको कार्यकारी समीतिको बैठकले अतिरिक्त सुविधा दिँदै काममा लगाउने निर्णय गरेपछि काममा सहजता भएको पनिकाको दाबी छ ।

त्रिवि अहिले आफ्नो वार्षिक कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन लगायतका अन्य शैक्षिक गतिविधि सञ्चालनमा जुटेको छ ।

पदाधिकारीलाई सञ्चालनमा सकस

यसैविच त्रिविमा पछिल्लो समय सत्ता र शक्तिको संर्घर्ष सुरु भइसकेको छ । त्रिवि स्थापना कालदेखि नै सभाबाट पारित हुँदै आएको नीति तथा कार्यक्रम यो वर्ष हस्तक्षेपपूर्ण ढंगले रोकिएको छ । त्रिविले बार्षिक बजेट त पाएको छ तर नीति र कार्यक्रम भने अझै सार्वजनिक हुन सकेको छैन ।

त्यस्तै त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्च स्तरीय समितिले दिएको सुझावका आधारमा पदाधिकारीलाई कारबाही गर्ने विषय गुमनाम बनेको छ । विपरीत शक्तिको टकराबका कारण यो विषय ओझेलमा परेको सरोकारवालहरू बताउँछन् ।

उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न त्रिवि उपकुलपति कार्यालयले राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्षको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

त्रिवि कार्यकारी परिषद्को गत चैत १५ गते बसेको बैठकले उक्त विषय छानबिन गर्न त्रिविका पूर्व रजिष्ट्रारसमेत रहेका पौडेलको संयोकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

सो समितिको प्रतिवेदनमा परीक्षा नियन्त्रक पुष्पराज जोशी, सह नियन्त्रकद्धय सुरेशजंग शाही र पवन बराललाई कारबाही गर्ने सिफारिस गरेको थियो ।

परीक्षा नियन्त्रक जोशीलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ५६ आकर्षित हुने र पर्याप्त आधारसहित नियमको परिच्छेद ५७ को व्यवस्था बमोजिम पदबाट बर्खास्तसम्मको कारबाही सिफारिस गरेको थियो । तर उक्त विषय सत्ता परिवर्तनसंगै ओझेलमा परेर गएको छ ।