त्रिविका सबै कार्यालय अत्यावश्यक बाहेक बन्द गरिने

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र अन्य क्याम्पस कार्यालयहरु आशिक रुपमा सञ्चालन हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गरी देशका विभिन्न ठाउँहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएकोले त्रिविका अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गर्ने भएको हो ।

त्रिविले प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित गर्ने उद्देश्यले त्रिवि मातहतका अस्पतालहरुमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिम गर्ने र अन्य क्याम्पसहरुमा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

त्रिविले अत्यावश्यक काम र कर्मचारीको व्यवस्थापन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई जिम्मेवारी दिने भएको छ । त्रिविले सम्बन्धित स्थानीय प्रशासनले लकडाउन तथा निशेधाज्ञा जारी गरेमा सो अवधिसम्म सो क्षेत्रका क्याम्पस र कार्यालयका सम्पूर्ण सेवाहरु बन्द गर्ने सो सूचनामा उल्लेख गरिएको छ ।

विश्वविद्यालयका सबै कार्यालय, पदाधिकारी, शिक्षक र कर्मचारीलाई कार्यालयहरुमा पत्राचारको लागि विश्वविद्यालयले उपलब्ध गराएको इमेल प्रयोग गर्न आग्रह गरेको छ ।

त्रिविका सबै मिटिड भर्चुअल हुने, फेस रिडिङ डिभाइसबाट हाजिरी गर्ने व्यवस्था मिलाउने, सोको व्यवस्था नहुञ्जेलसम्म हाजिरी खातामा हाजिरी गराउने भएको छ ।

त्रिविका सम्बन्धित क्याम्पस, विभाग र स्कुलले तोके अनुसारको अनलाइन कक्षा लिने शिक्षकहरुको सोही रेकर्डलाई आधार मानी हाजिरी गणना गर्ने भएको छ ।

अनलाइन कक्षा नलिने शिक्षकले क्याम्पसमा उपस्थित भई हाजिरी गर्नुपर्ने भएको छ । कार्यालयमा आएका कर्मचारीले कम्तीमा ६ फिटको दुरी कायम गर्नुपर्ने भएको छ । यसैगरी त्रिविले अति आवश्यक काम बाहेक अन्य कामका लागि कार्यालय प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक काम परेर पदाधिकारीहरुलाई भेट्नै पर्ने भए फोन वा इमेलबाट नै समय मिलाउनु पर्ने सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी कुनै पनि पदाधिकारीहरुले समूहमा भेटघाट नदिने, एकपटकमा बढीमा तीनजनालाई मात्रै भेट्ने व्यवस्था मिलाउन त्रिविले आग्रह गरेको छ।

 

Thuprai - Books and E-books