Ranakalin Shiksha

यसरी सुरु भयो नपालमा ट्राभल एण्ड टुरिजमको पढाइ

ट्राभल एण्ड टुरिजमको नेपालमा प्रशस्त संभावना छ । यहाँको भूगोल, प्राकृतिक सम्पदाले नेपालको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपालको आर्थिक सम्वृद्धिको सपना देख्नेले पहिले ट्राभल एण्ड टुरिजमको विकास गर्नुपर्छ । नेपालमा एक दर्जन हाराहारीमा विश्वविद्यालय छन् ती विश्वविद्यालयको स्थापनाको इतिहास केलाउने हो भने कुनै पनि विश्वविद्यालयले ट्राभल एण्ड टुरिजमलाई पाठ्यक्रमका रुपमा प्रयोग गरेनन् । बनाएनन् । अथक प्रयास र लामो संघर्ष गरेर नेपालमा ट्राभल एण्ड टुरिजमको एकेडेमिक पठनपाठनको सुरुवात गरिएको हो ।

विश्वका धेरै विश्वविद्यालयले ट्राभल एण्ड टुरिजमलाई पाठ्यक्रमका रुपमा प्रयोग गरी आफ्नो देशको आर्थिक उन्नति गरेको प्रत्यक्ष अवलोकन गरेपछि सन् २००२ मा काठमाडौंको रविभवनमा ‘काठमाडौं एकेडेमी अफ टुरिजम एण्ड हस्पीटालीटी (काथ) कलेजको स्थापना गरिएको क्याम्पस प्रमुख सुधिर अधिकारी बताउँछन् ।नेपालमा सुरुसुरुमा होलटमेनेजमेन्ट सम्बन्धी विषयको पठनपाठन नाथमले गथ्र्यो । नाथमले एचएमटीटीसीको कक्षा सञ्चालन गथ्र्यो । प्रशस्त संभावनाका बाबजुद नेपालमा ट्राभल एण्ड टुरिजमको पठनपाठन हुँदैन थियो । केही निजी संस्थाले टुरिजम र फेशन डिजाइन सम्बन्धी कक्षा सञ्चालन गर्थे । त्यही समयमा ट्राभल एण्ड टुरिजमको आवश्यकता महसुस गरी डिप्लोमा इन ट्राभल एण्ड टुरिजम र पोस्ट ग्राजुएसन इन डिप्लोमाको कोर्स सञ्चालन गरेको अधिकारीले बताए । तत्कालीन राजा विरेन्द्रले नेपालमा पर्यटन र होटल व्यानेजमेन्टमा उच्च शिक्षा सञ्चालन गरिने गरी सम्बोधन गरेपछि कलेजले सञ्चालन गर्दै आएको डिप्लोमा इन ट्राभल एण्ड टुरिजमको पाठ्यक्रमलाई त्रिभुवन विश्वविद्यालयमा लिएर गएको प्रमुख अधिकारीले बताए । ‘मैले तयार गरेको डिप्लोमा इन ट्राभल एण्ड टुरिजम त्रिविले बीबीएस सरहको मान्यता दिने प्रतिवद्धता जनायो ।’ उनले भने, ‘त्रिविले बीटीटीएमको कोर्स नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजमले पढाउन सुरु गर्यो ।’

सो कलेजको स्थापक प्रमुखका रुपमा आफ्नो कोर्स सञ्चालन गर्दै आएका अधिकारीलाई सो कलेजले अत्याधिक नाफामुखि भएपछि त्यसको विकल्पमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर सन् २००२ को अप्रिल देखि स्नातक र स्नातकोत्तरको कक्षा सञ्चालन गर्न थालेको हो । बीटीटीएसएमटीटीएसको कक्षा विगत १९ वर्षदेखि कलेजले सञ्चालन गर्दै आएको छ । स्थापनाको पहिलो वर्ष कलेजमा १४ जना विद्यार्थी भर्ना भए । दोस्रो वर्ष ६० जना विद्यार्थी भर्ना भए । त्यसबेला यो विषय पढाउने शिक्षक थिएनन् । व्यवसायिक रुपमा तालिम सञ्चालन गर्दै आएका मान्छेलाई विषयवस्तुको ज्ञान गराएर प्रशिक्षक बनाउनु पर्ने अवस्था थियो । तत्कालीन समयमा उच्च माध्यमिक शिक्षा परिषद्ले पनि नेपालमा ट्राभल एण्ड टुरिजमको कक्षा सञ्चालन आवश्यकता महसुस गरेर एउटा बोर्ड गठन गरेको थियो । सो बोर्डको संयोजक बनेर अधिकारीले नै १०+२ मा पनि ट्राभल एण्ड टुरिजमको कोर्स निर्माण गर्न सफल भएको बताए ।

नेपालका दुर्गम क्षेत्रका विद्यार्थीलाई सकेसम्म छात्रावृत्ति दिएर ट्राभल एण्ड टुरिजम पढाउन सक्यो भने देशले आर्थिक संवृद्धि हासिल गर्ने अधिकारीको विश्वास छ ।कलेजले स्नातक तहमा भर्नाका लागि एकपटकमा  ६० हजार  रुपियाँ शुल्क लिने गरेको छ । एक पटक  भर्ना भएको विद्यार्थीले पछिल्ला वर्षमा भर्ना नगर्नुपर्ने प्रावधान  कलेजले गरेको छ । चार वर्से स्नातक तहमा आठ सेमेस्टर हुन्छन् । कलेजले मासिक  ८ हजार रुपियाँ शुल्क  लिने गरेको छ । त्यसैगरी स्नातकोत्तरमा भर्नाका लागि कलेजले ६५ हजार शुल्क  लिन्छ भने मासिक ८ हजार ५०० शुल्क  लिने गरेको प्रमुख अधिकारी बताउँछन् ।

कलेजमा अहिले स्नातक र स्नातकोत्तरमा २०० जना विद्यार्थीले ट्राभल एण्ड टुरिजममा उच्च शिक्षा हासिल गर्दैछन् । स्नातक तहमा १६० र स्नातकोत्तरमा ६० जना विद्यार्थी अध्ययनरत रहेको कलेजले जानकारी दियो । कलेजले विभिन्न  विषयम  १२ कक्षा  उत्तीर्ण सबै विद्यार्थीलाई  भर्ना लिने गरेको छ । दुर्गम तथा पिछडिएको क्षेत्रलाई विशेष प्राथमिकताका आधारमा पढाउँदै आएको छ । व्यासायिक शिक्षा भएको हुनाले यसका विषयवस्तुको अध्ययन अध्यापन व्यवहारिक रुपमा सञ्चालन गर्ने गरेको छ । टुर, ट्राभल र्यपटिङ लगायतका विषयवस्तुलाई कलेजले विभिन्न स्थलमा गई स्थलगत र प्रयोगात्मक कक्षा सञ्चालन गर्ने गरेको छ । कलेजले विभिन्न इन्डिस्ट्रीमा इनटनसिपका लागि पठाउने गरेको छ । यहाँ पढेका विद्यार्थीले थाइल्याण्ड र मलेशिया ६ महिना पठाउने गरेको छ । इनटनसिपका  लागि विदेश जाने विद्यार्थीले सुरुमा जाने खर्च आफैं व्यवस्थापन गर्नुपर्ने छ । इन्टनसिपका लागि विदेश गएका  विद्यार्थीलाई त्यहीका इन्डिस्ट्रीले दिएको भत्ताले नै खर्च पुग्ने गरेको छ ।अहिले नेपालमा ट्राभल एण्ड टुरिजम विषयमा विभिन्न  विश्वविद्यालयबाट सम्बन्धन लिएर करिब  पाँचवटा कलेजले उच्च शिक्षा  प्रदान  गर्दै आएका छन् । यो विषयमा  वार्षिक चार पाँच सय स्नातकोत्तर विद्यार्थी उत्पादन हुने गरेका छन् । उत्पादित ९० प्रतिशत जनशक्तिले प्रमाणपत्र हातमा पर्न साथ रोजगारी पाउने गरेका  छन् । यहाँका ७० प्रतिशत  जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको प्रमुख अधिकारी बताउँछन्  ।