A Levels MA

नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन, शिक्षा मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताउनुभएको छ । विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौँको ७४औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले  दक्षिण एशियाको पुरानो भाषाका रुपमा रहेको नेपाली भाषालाई बलियो बनाउँदै अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिए । 

‘अङ्ग्रेजी मात्र होइन, चिनियाँलगायतका अन्य भाषाको सिकाइ र प्रयोग गर्दै जानुपर्छ’ उनले भने, ‘अङ्ग्रेजी भाषाको प्रयोग बढ्दै जाँदा नेपाली भाषा कमजोर बन्दै जाने सम्भावना बढेर गएको छ ।’ 

मन्त्री पोखरेलले शिक्षाले देशको समग्र विकासको खाका तयार पार्ने बताउँदै शिक्षा क्षेत्रको विकास बिना सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले सार्थकता पाउन नसक्ने बताए । उनले नयाँ–नयाँ प्रविधिको उपयोग गर्न नसके मुलुकले विकासमा फड्को मार्न नसक्ने औँल्याउँदै राज्यले प्रविधिमैत्री शिक्षामा जोड दिएको बताए। 

मन्त्री पोखरेलले काठमाडौँ उपत्यकामा दश प्रतिशत सामुदायिक र ९० प्रतिशत निजी विद्यालय रहेको जानकारी दिँदै सामुदायिक विद्यालयले निजी विद्यालयलाई पछि पार्नुपर्ने बताए ।

‘अधिकांश सामुदायिक  विद्यालय भौतिकरुपमा सबल छन्’ उनले भने ‘तर शैक्षिक गुणस्तर वृद्धि गर्न सकिरहेका छैनन् ।’  उनले गणित र विज्ञानको नजिता सन्तोषजनक आउन नसकेको बताउँदै  सरकारले विज्ञान विषय सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन गर्न लागेको  बताए । 

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले विश्व निकेतनमा अध्ययन गरेका विद्यार्थी राष्ट्रियस्तरमा प्रतिष्ठित बन्न पुगेको बताए । उहाँले कम्प्युटरलाई अतिरिक्त विषयका रुपमा अध्ययन गराउनेमा यस विद्यालय नेपालकै पहिलो भएको दाबी समेत गरे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता एवम् शिक्षा विज्ञान तथा  प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो । सो अवसरमा विद्यालयको स्तरोन्नतीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक तथा कर्मचारीहरुलाई सम्मानपत्र उपलब्ध गराइएको थियो ।

विद्यार्थीहरुले विज्ञान सम्वन्धि प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्वन्धले मात्रै विद्यालयको गुणात्मक विकास हुने बताएका थिए । 

 

 

सो अवसरमा विद्यालयका प्रधानाध्यापक कडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले आफ्नो प्रस्तुति गरेका थिए । 

 

Thuprai - Books and E-books