After SEE Portal

शिक्षकलाई चिन्ता छ नि !

Bridge Course

सामाजिक सञ्जालमा शिक्षकप्रति गरिएका नकरात्मक टीका टिप्पणीले म जस्तो शिक्षकको मन त्यति दुखेको छैन, जति बाटो–बाटोमा गुच्चा डण्डिवियो खेलेर दिन बिताइरहेका, माटोमा लडिबुडि खेलेर धुलाम्य भएका आफ्ना विद्यार्थी भाइबैनीहरूलाई देख्दा मेरो मन दुखेको छ, कुँडिएको छ, रोएको छ ।

हिजोसम्म कक्षाकोठामा संगै खेल्दै रमाउँदै गरेका विद्यार्थी भाइबहिनीहरूलाई बाटोमा घुल्लाम्मे भेट्दा मलाई नचिनेर अकमकाउँदा र ठम्याउन नसक्दा मेरो मन कुँडिएका, भाँचिएको छ । सकिन्छ शिक्षण पेशालाई मलजल गरेर शिक्षकलाई सम्मानित गर्ने काम गर सक्दैनौं उल्टै शिक्षकको जरो उखेल्ने काम नगरौं । यसका अलावा उसका पनि आफ्ना बालबालिकाहरू छन् । दिउसो भरी टिभी मोबाइलमै दिन काटिरहेका छन् । ती बच्चाहरू स्कुल जान नपाएको पीडा त शिक्षकसँग छदैछ अझ त्यो भन्दा बढि पीडा त आफूलाई कक्षाकोठाबाट अलग्याउनु परेकोमा छ ।

समस्याको उल्झनमै रुमल्लिरहँदा सुल्झनको लागि सरोकारवाला निकायहरूले उत्तिको चासो दिन नसकिरहेको हो कि भन्ने भान जो कोहिलाई भएकै कुरा हो । पहिलो कुरा त शैक्षिक सत्र विलय कै स्थितिमा छ । विद्यालयका शैक्षिक सँगै भौतिक संरचनाहरू पनि ध्वस्त हुने अवस्थामा रहेका छन् । विद्यालयका शिक्षण सिकाइ क्रियाकलाप मात्र होइन भौतिक संरचनाहरू पनि ध्वस्त हुने खतरामा छन् । विद्यालयका कम्प्युटर ल्यावहरू धुलोले छापिइसकेको छ । अब त बत्तिको तारको कति ठाउँमा मुसाले काटिसक्यो होला ।

विज्ञान प्रयोगशाला चार महिनापछि कस्तो भयो होला ? त्यहाँका सामानहरू प्रयोगविहीन भएर बसिरहेका छन्, सडेका छन् । अहिले कता–कता सुन्नमा पनि आएको छ कारोना सङ्कट व्यवस्थापन सहित विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिने रे ! स्थानीय तहको नारी छामिसकियो । कत्तिको सक्षम छ भन्ने कुुरा अतितका क्रियाकलापले नैं बताइसक्यो । सामान्य अवस्थामा त स्थानीय तहले विद्यालय सञ्चालन, रेखदेख राम्रोसँग गर्न नसिकरहेको स्थिति छ त्यहिमाथि यस्तो सङ्कटकालीन स्थितिमा विद्यालयको जिम्मा स्थानीय तहलाई दिए यसको हविगत के हुने हो ? हामी सबैले अनुमान लगाउन सक्छौं । कुनै परिवारको घरमूलि बुबाले मैले केटाकेटी सम्हाल्न सकिन तैंले सम्हाल है भनेर जेठो सन्तानलाई जिम्मा लगाएर हुन्छ र ?

शिक्षकलाई चिन्ता छ नि ! अबबाट स्कुल सुरु भइहाले पनि शिक्षक सामु एउटा ठूलै चुनौती खडा छ । त्यो हो अहिलेसम्म विद्यार्थीले बेहोरेको शैक्षिक क्षतिको सोधभर्ना कसरी गर्ने ? कमसेकम बैशाखमै शैक्षिक सत्र सुरु भइदिएको भए कोर्स पनि आरामसँग सकिने थियो । उसै त कमजोर जगमा अडिएका विद्यार्थीहरू । अब बचेखुचेको दुई चार महिनामा वर्षदिनको कोर्ष नसक्दा भएभरको अपजस शिक्षकले नैं खेप्नुपर्ने डर छ । जसो तसो सकाउँदा पनि फेरि विद्यार्थीले बुझ्दैनन् कि भन्ने पिरालो । पैतालिस दिनको वर्षे बिदा सक्दा पहिले स्कुलमा पढेका सबै कुरा निलेर रित्तो दिमाग बोकेर स्कुल आउने बालबालिकाहरू अहिले त लगभग आधा शैक्षिक सत्र नैं स्कुलको मुख देख्न पाएका छैनन् । यो स्थितिलाई सामान्यीकरण कसरी गर्ने ? अब त सबै विद्यार्थीहरूलाई एउटै कक्षामा राखेर शिक्षण गर्दा नि फरक नपर्ला जस्तो छ । किनकी उनीहरूको लेवल एउटै बनिसकेको छ । पढाएका सबै कुराहरू बिर्सिएका छन् । शैक्षिक सत्रको लागि जति दिनहरू खुम्चिदै गए त्यति नै विद्यार्थी र शिक्षक दुबैमा प्रेसर पर्ने कुरा त सबैले जाने बुझेकै कुरा हो ।

हिजोसम्म शिक्षकको भूमिकालाई नजरअन्दाज गर्ने आँखाहरूले अहिले शिक्षक बसेको दृष्यलाई अति नैं इष्र्यालु भावमा हेरिरहेका छन् । अहोरात्र सेवामा खटिएर आफ्नो पेशामा अविच्छिन्न लाग्दा सरकारले दिएको सामान्य तलबमा पनि सन्तोष मान्न सक्ने शिक्षक । अहिले बसी बसी मासिक तलब थाप्दा कुन शिक्षकको हात काम्दैन होला र ? त्यसैले हामी शिक्षक त चाहन्छौं जति सक्दो छिटो सुरक्षित किसिमबाट विद्यालय खुलोस् । विद्यार्थी पढ्ने वातावरण मिलोस् । एउटा शिक्षकको पहलले सम्भव हुने कुरा पनि होइन । ताजुक त यो कुरामा लागेको छ कि छ महिना हुन लागिसक्यो शिक्षा मन्त्रालय सधैं एउटै कुरामा रटान लगाइरहेको छ । ‘हामी विद्यार्थीको वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापको लागि तयारीमा लागिरहेका छौं ।’ कस्तो खालको तयारी हो कहिल्यै नसिद्धिने ? तत्कालै महामारी रोकिएला जस्तो छैन । यस्तो स्थितिमा सरकार यत्तिकै खुट्टा कमाएर बस्यो भने विद्यार्थीको भविष्य डामाडोल हुने सुनिश्चित छ । विद्यालय शिक्षाको अधिकार स्थानीय सरकारले ग्रहण गरेको वर्तमान परिप्रेक्ष्यमा स्थानीय सरकारको भूमिका पनि गौंण छ । यस्तो अवस्थामा स्थानीय सरकारले आफ्नो क्षेत्रको अवस्था मूल्याङ्कन गरेर केन्द्रिय सरकारलाई रचनात्मक सुझाव दिन सक्थ्यो । तर त्यो पनि भएन ।

विश्वका विभिन्न मुलुकहरू जसले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् उनीहरू हर तरहबाट शैक्षिक संस्थाहरू खोल्नको लागि प्रयासरत छन् । अहिलेको आधुनिक युगमा कक्षाकोठामा विद्यार्थी थुपारेर गरिने शिक्षण सिकाइ क्रियाकलापलाई मात्रै सर्वमान्य र एक मात्र विकल्पको रुपमा स्वीकार गरेको हाम्रो जस्तो देशकोे परम्परागत शिक्षा पद्धति भएको मुलुकमा यसबारे सोच्ने फुर्सद भने कसैलाई छैन ।

शिक्षाका व्यापारीहरूले दोहन गरेको शिक्षकको श्रमको हिसाब अब खोज्ने बेला आएको छ । शिक्षाको व्यापार गरी महल ठड्याएर सात पुस्तालाई पुग्ने गरी सम्पत्ति कुम्ल्याएकाहरू अहिले लकडाउनमा शिक्षकलाई दुई चार महिनाको तलब दिन पनि दाँतबाट पसिना निकालिरहेका छन् । वर्खाभरी गोरु जोतेर हिउँदमा काम छैन भनी गोरुलाई नखुवाई राख्दा अर्को वर्खासम्म गोरु बाँचेन भने त्यो किसानको कस्तो दुर्दशा होला ? एउटा विद्यालयले वर्षमा जम्मा सरदर २१० दिन पढाउँछ । यो भनेको सात महिना हो । यसरी नैं हिसाब गरेर अभिभावकले पनि सात महिनाको तलब दिए के हुन्छ नि ? प्रत्येक शैक्षिक सत्रको अन्तिम महिना चैत्रमा खासै पढाई नैं हुँदैन त्यो बेलामा पनि अभिभावकले मैले पैसा दिन्न भनी अड्डी कसे भने त्यो व्यापार कसरी फस्टाउला ?

नेपालको शैक्षिक इतिहासमा शिक्षकको इतिहास जब्बर छ । त्यसलाई मेटाउन खोज्नु एउटा दुस्साहस मात्र हुन्छ । द्वन्द्वकालमा राज्य र विद्रोही दुबैले दुईतिरबाट बन्दुकको नाल तेर्साउँदा पनि कत्ति विचलित नभई आफ्नो कर्तव्यपथमा नै ध्यान केन्द्रित गर्ने एक सच्चा र कर्मण राष्ट्रसेवक हो शिक्षक । कथम कदाचित एकाध व्यक्तिहरू त्यो खाले परिस्थितिसँग जुध्न नसकेर शिक्षण पेशाबाट हात धोएको विगत हामीसँग भएपनि उनीहरूलाई झन फलिफाप भयो, खुदो प¥यो । राजनीतिमा प्रवेश गरे । कयौंपटक शासन सत्ताको मेजमानीमा सामेल भए । जनतालाई झुठो आश्वासनमा बाँच्ने आदत बसाले । तर माखो मारेनन् । द्वन्द्वकालीन समयमा शिक्षकलार्ई तारो बनाइयो । कयौं कर्तव्यनिष्ठ र इमान्दार शिक्षकहरूले कर्तव्य पालना गर्ने शिलशिलामा नैं आफ्नो ज्यानको आहुति दिनुप¥यो । त्यो बेला शिक्षकहरू विद्रोही र राज्य दुवैबाट दमित भएका थिए जसको कारणले अचानो मासु जस्तो बनेर बस्नुपरेको थियो ।

किनकि द्वन्द्वमा सामेल हुने अधिकांश नेताहरूको पेशागत पृष्ठभूमि शिक्षण थियो । दुवै पक्षबाट शिक्षक यसकारणले पनि तारो बनेका थिए । विद्रोहीले शिक्षकलाई आफ्नो मोर्चामा सामेल गराउन बलजफ्ति प्रयोग गथ्र्यो । राज्यले पनि सबै शिक्षकलाई एउटै नजरले हेर्ने र त्यही खालको व्यवहार गर्ने । शिक्षकलाई एउटै आँखाले हेर्नुलाई कुनै पनि हालतमा न्यायोचित मान्न सकिँदैन । नराम्रा शिक्षक अपवादको रुपमा नगण्य मात्रामा रहेपनि इमान्दार शिक्षकहरूको बाहुल्यता छ । राम्रो शिक्षकलाई फूलको आँखाले हेर्नुपर्छ । सबै शिक्षकलाई एकै ठाउँमा मुछेर मूल्याङ्कन गर्दा राम्रो गर्न खोज्ने शिक्षकहरू पनि आज निरुत्साहित भइरहेका छन् ।

शिक्षण पेशालाई अन्तिम विकल्पको रुपमा लिइएको छ । अरु ढोका बन्द भएपछि मात्र अन्त्यमा हाम्रो कदम यसतर्फ लम्कन्छ । यो कक्षाकोठाभित्र पसिसकेपछि पनि बन्द भइसकेको अपेक्षित कोठाको ढोकातर्फ फर्केर चिन्ता गरिरहने र काममा चित्त लगाउन नसक्नाले पनि शिक्षकहरूमा आवश्यक मात्रामा पेशागत विकास हुन सकेको छैन । मान्छेको स्वाभाव न हो हातमा भएको फूललाई धूलो सम्झन्छ तर हातबाट खसेको धुलोलाई फूल सम्झन्छ ।

शिक्षक चारैतिरबाट तारो बनिसकेपछि यसबाट बच्न र आत्मरक्षाको लागि हामी एकजुट हुनुको विकल्प नैं छैन । शिक्षकको पेशागत संघ संगठनको विश्वास छैन । तिनीहरूले हाम्रो आवाजलाई सम्बोधन गर्न सक्दैनन् । त्यसैले हामीले यसलाई गैह्र राजनीतिक तवरबाट नैं सुल्झाउन आवश्यक छ । हामीले आफू एउटा शिक्षकको नाताले होइन कि आम नागरिकको हैसियतबाट शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनको लागि सक्दो ढङ्गबाट उठ्नुपर्छ ।

शिक्षा क्षेत्रलाई सम्मानजनक बनाउनको लागि शिक्षकहरूले आवाज उठाउन थालेको धेरै भयो । ती आवाजहरू राजनीतिक पिछलग्गुको रुपमा रहेको शिक्षक संघ, संगठनहरूबाट नैं अप्रत्यक्ष रुपमा दमित भएका छन् । आन्दोलन पनि हुन्छ तर बिचैमा केहि तत्वहरू सल्बलाउँछन् अनि आन्दोलन तुहिन्छ । राजनीतिक माया मोहमा फसेका दुई चार जना राजनीतिक अराजक तत्वहरूको कारण आन्दोलनले सही दिशानिर्देश गर्न सक्दैन । सडकमा हुन्जेल शिक्षामा आमूल परिवर्तनको खाँचो छ भनी नारा लगाएर हिड्नेताहरूको आवाज सत्तामा पुगेपछि बिलाएको कुरा पनि हामीले देखे जानेकै हो ।

शिक्षक भनेका समाजका ऐना हुन् तिनै ऐनामा हिलो छ्याप्ने काम भएपछि शिक्षा क्षेत्रको दर्पणछायाँ धमिलो हुनु स्वाभाविकै हो । शिक्षामा रुपान्तरणकारी भूमिका निभाउनको लागि अहिलेको युवा जमात नलागेको पनि होइन तर तिनीहरूको त्यो कदमलाई फिस्ल्याउने काम दुई कौडीको राजनीतिक क्रियाकलापले गरिराखेको छ ।

(लेखक श्री बालसिद्ध मा.वि.वालिङ–७, केवरे भञ्याङ, स्याङ्जाका शिक्षक हुन्)

A Levels MA