A Levels MA

शिक्षकको शव एक हप्तादेखि अस्पतालमै

सडकमा मृतावस्थामा फेलापरेको शिक्षकको शव एक हप्ता बितिसक्दा पनि परिवारले बुझेका छैनन् । विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आएका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव परिवारले एक हप्ता अगाडिदेखि बुझेका छैनन् ।

एक हप्ता अघि मृतक भट्टराईको शव डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा फेला परेको थियो । अस्पतालले परीक्षणमा लापरबाही गरेको भन्दै मृतक शिक्षकका परिवारले शव एक हप्ता बितिसक्दा पनि उनको शव बुझ्न मानिरहेका छैनन् । मृतक भट्टराईका दाजु उद्धव भट्टराईले घटनाको पूर्ण अनुसन्धान नभएसम्म शव नबुझ्ने जानकारी दिए ।

घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखेपछि विगत सात दिनदेखि शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अस्पतालमा गरिएको शव परीक्षणमा अप्रकृतिक मृत्युको कुनै संकेत देखिएको छैनर । परीक्षणमा सामान्य देखिएपछि भिसेरा परीक्षणका लागि अहिले नमूना काठमाडौँ पठाइएको प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले मृतक भट्टराईको हत्या आशङ्कामा अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै तथ्य फेला पार्न नसकेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा गरिएको शव परीक्षण रिपोर्टमा हत्याको कुनै कुरा उल्लेख नभएपछि अनुसन्धानमा समस्या भएको प्रहरी अधिकारीको भनाइ छ । मृतक शिक्षक भट्टराई बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी हुन्।

Thuprai - Books and E-books