तोडफोड र तालाबन्दी प्रति त्रिविद्वारा दुख प्रकट, आफ्नो गल्ती ढाकछोप गरेको विद्यार्थीको आरोप

विद्यार्थीको एक समूहले त्रिभुवन विश्वविद्यालय राजिष्ट्रारको कार्यालयको मूलद्धारमा तालाबन्दी गरेको छ । उक्त कार्यको प्रति विश्वविद्यालयले दुख प्रकट गरेको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

त्रिवि अन्तर्गतका विभिन्न डीन कार्यालयहरूले सेमेष्टर परीक्षा प्रणाली बमोजिम विभिन्न समयमा  लिएको परीक्षाका  विषयमा उठेका प्रश्नको सम्बन्धमा त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समिति एवं सम्बन्धित डीनको कार्यालयबाट छानविन समिति गठन गरिएको र प्राप्त प्रतिवेदनको आधारमा परीक्षालाई अझ बढी व्यवस्थित, मर्यादित, विश्वसनीय र त्रुटीरहीत किसिमले सञ्चालन गर्न गराउन सम्बन्धित डीनको कार्यालयलाई समयमै निर्देशन दिने काम भएको आज जारी गरिएको विज्ञप्तिमा  भनिएका छ ।

विश्वविद्यालयको गरीमा र प्रतिष्ठामा गम्भीर आँच पुर्याउने उद्देश्यले आज  दिउँसो ११ः५५ बजे केही अराजक समूहले उपकुलपतिको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी, निर्जिव बस्तु कुर्ची, टेबल, ढोका तोडफोड गर्ने, नेमप्लेट फ्याक्ने रजिष्ट्रारको कार्यालयका झयाल तोडफोड गर्ने, कार्यालय एवं महाशाखामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई आतंकित गराई विज्ञान तथा प्रविधि अध्ययन संस्थानको कामकारबाहीलाई समेत ठप्प हुनेगरी राजिष्ट्रारको कार्यालयको मूलद्धारमा नै तालाबन्दी  गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उत्पन्न समस्याको समाधान वार्ता र सम्बाद हो भन्ने कुरा विश्वविद्यालयको तर्फबाट बारम्बार व्यक्त गरिरहेको स्थितिमा आफूलाई उच्च शिक्षाको अध्ययन कार्यमा संलग्न भएको भन्ने समूहबाट सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्यलाई कुनै पनि बौद्धिक समूहले उचित र उपयुक्त हो भनी किमार्थ भन्न सक्दैन  विज्ञप्तिमा  भनिएको छ ।

साथै प्रचलित कानूनको बर्खिलाप हुने गरी सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानून बमोजिम कारवाही  गर्न त्रिविले माग समेत गरेको छ ।

यसैविच असन्तुष्ट विद्यार्थीले त्रिविले सधैं आफ्नो गल्ती लुकाएर एउटै गल्ती बारम्बार गर्ने, प्रश्नपत्र निर्माणमा लापरबाही गर्ने, बारम्बार प्रश्नपत्र हुबहु नक्कल गर्ने गर्ने प्रवृत्तिको ढाकछोप गर्दै आएको भन्ने आरोप लगाएका छन् ।

विद्यार्थीहरूले शान्तिपूर्वक ज्ञापनपत्र बुझाउन जाँदा प्रहरी परिचालन गरी विद्यार्थीलाई त्रिवि प्रशासनले नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत ९ जना उपकुलपति बास्कोटालाई ज्ञापन पत्र बुझाउन गएका थिए । तर उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए ।

अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सरह शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि सामान्य तोडफोड भएको अध्यक्ष पराजुलीले बताए ।

Thuprai - Books and E-books