सफ्टवेयरले कायम गरिदिन्छ एसईईका परीक्षार्थीको सिम्बोल नम्बर

सफ्टवेयरबाटै प्रवेशिकाका परीक्षार्थीहरुको सिम्बोल नम्बर कायम गर्ने पद्धतिको थालनी गरिएको छ । यस वर्षबाट विद्यार्थीको आवेदन अनलाइनबाट इन्ट्री गर्नासाथ सफ्टवेयरले सिम्बोल नम्बर कायम गर्ने पद्धतिको थालनी गरिएको हो ।

विगतमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले आवेदन इन्ट्री गरेपछि इकाइले सिम्बोल नम्बर कायम गरिदिने गथ्र्याे । 

परीक्षा नियन्त्रक (कक्षा १०) रामराज खकुरेलले भने, “अब धेरै सजिलो बनेको छ । आवेदन इन्ट्री गर्नासाथ केन्द्रमा रहेको सफ्टवेयरले सिम्बोल नम्बर कायम गरिदिन्छ ।”

यसैबीच यस वर्ष (२०७६)को प्रवेशिका परीक्षा (एसईई)मा सहभागी हुन नियमिततर्फ चार लाख ९८ हजार परीक्षार्थीले रजिष्ट्रेसन फारम भरेका छन् । सबै आवेदन फारामको अझै इन्ट्री नभइसकेकाले कुल परीक्षार्थी सङ्ख्या यकिन हुन सकेको छैन । रजिष्ट्रेसन फाराम भनेकोभन्दा कमैले आवेदन फाराम भर्ने गरेका छन् । गत २०७५ सालमा पाँच लाख १२ हजारले रजिष्ट्रेसन फाराम भरेकोमा चार लाख ६५ हजारले परीक्षा दिएका थिए ।

यस वर्ष ग्रेड वृद्धि (आंशिक)तर्फ करिव १६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । उनले नियमित र ग्रेड वृद्धिका परीक्षार्थीका लागि एउटै प्रश्नपत्र कायम गरिने जानकारी दिए ।

परीक्षा नियन्त्रक खकुरेलले यस वर्ष देशभरि दुई हजार परीक्षा केन्द्र कायम गरिने जानकारी दिए । गत वर्ष एक हजार ९६५ परीक्षा केन्द्र कायम गरिएका थिए ।

यस वर्षको एसईई परीक्षा आगामी चैत ६ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । अनिवार्य विषयका सात वटै प्रदेशमा फरक प्रश्नपत्र सोधिनेछ । 

Thuprai - Books and E-books