A Levels MA

कैलालीका विद्यालय अझै सञ्चालनमा आएनन्

कैलालीको भजनीका आशिष खत्री कक्षा ४ मा पढ्छन् । भजनी–८ स्थित कालिका आधारभूत विद्यालय सोनाफाँटामा अध्ययनरत उनको विद्यालय असोज १ गतेदेखि नै बन्द छ । असोज १ गते आएको बाढीले विद्यालय डुबानमा परेपछि खत्रीसहित ६१ बालबालिका  विद्यालय जान  पाएका छैनन् ।

गत हप्तालगातारको वर्षापछि आएको बाढीले विद्यालयसमेत डुबानमा परेपछि कैलालीको भजनीका केही विद्यालय सञ्चालनमा आउन सकेका छैनन् ।  विद्यालय बन्द भएपछि खत्री विद्यालय जान नपाएका हुन् ।

‘मलाई विद्यालय जान मन लागेको छ । साथीहरूसँग खेल्न मन छ’, उनले भने, ‘बाढीले डुबेको भनेर मलाई घरबाट विद्यालय जान दिइएको छैन, हाम्रो विद्यालय छिटो खोलिदिनुपर्यो ।’

विद्यालयका प्रधानाध्यापक रामबहादुर चौधरी विद्यालयमा छ फिटसम्म पानी  जमेको बताउँछन् । ‘बाढीले विद्यालय सबै डुब्यो, कक्षाकोठा, कार्यालय भवन सबैमा पानी पस्यो, कार्यालयका केही सामान रहेनन्’, उनले भने, ‘बाढीले कागजात, पाठ्यपुस्तक, खेलकुद सामग्री, शिक्षक निर्देशिका, बालबालिकाका हाजिरी रजिष्टरलगायतका सबै सामान भिजेर नष्ट भए ।’

प्रधानाध्यापक चौधरीले विद्यालय अझै हिलाम्मे रहेकाले सरफाइ गर्न समस्या भइरहेको जानकारी दिए । ‘विद्यालयको पानी तान्ने मोटरसमेत भिजेको छ । त्यहाँ हिलो र पानी अझै भएकाले मोटर चलाउन सकिने अवस्था छैन, जसले सरसफाइ गर्नसमेत समस्या भएको छ’, उनले भने, ‘छ दिनदेखि विद्यालय बन्द छ । अझै केही दिन सरसफाइ गर्न लाग्छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खत्री बाढीले विद्यालयमा क्षति भएको जानकारी दिए ¦बाढीले विद्यालयमा भएका सबै सामान नष्ट भए’, उनले भने, ‘अझै हिलाम्मे भएकाले विद्यालय सञ्चालन गर्न सकिएको छैन । हामीमात्र होइन अन्य विद्यालय पनि यस्तै समस्यामा छन् । हामीले पालिकालाई सहयोग गर्न भनेका छौँ ।’

भजनी–८ जनकपुरस्थित इभन बाबा आधारभूत विद्यालयमा पनि बाढीले क्षतिपुर्याएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद चौधरीले बाढीले विद्यालयमा लाखौँको क्षति भएको  जानकारी दिए ।

‘विद्यालयमा तीन फिटसम्म पानी पस्यो । विद्यालयमा दिवाखाजा क्यान्टिन भत्किएको छ‘, प्रधानाध्यापक चौधरीले भने, ‘कक्षाकोठामा बिच्छ्याइएका २० वटा कार्पेट नष्ट भएका छन् । अहिले सरसफाइ चलिरहेको छ । लाखौँको क्षति भएको छ ।’

भजनी–८ कै कक्षा ४ मा अध्ययनरत बालिका सपना चौधरीका बाढीमा परेर सबै कापी–किताब नष्ट भए । घर बाढीले डुबानमा प¥यो, बाआमासँगै सपना हुलाकी सडकमा बसिरहेकी छिन् । ‘कापीकिताब बाढीमा बगे, विद्यालय जान सकिएको छैन’, उनले भने, ‘अब मैले कसरी पढ्ने होला ?’

हुलाकी सडकमै बसिरहेका अर्का बालक शिखर चौधरी पनि यस्तै सोचिरहेका छन् । उनका पनि बाढीले कापी–किताब बगाएको छ । ‘कापी–किताब बगिहाले, पढ्न पाएको छैन’, उनले भने, ‘अब घर फर्केपछि आमाले नयाँ किता किनिदिने भन्नुभएको छ । अहिले त विद्यालय गएको छैन ।’

भजनी नगरपालिकाका शिक्षा अधिकृत पङ्खबहादुर शाहले ३५ विद्यालयमा बाढीले क्षति पुगाएको जानकार ीदिए । ‘३५ विद्यालयमा पानी पसेको छ । विद्यालयका कागजात, शैक्षिक सामग्री, कम्प्युटर क्षति भएका छन्’, उनले भने, ‘अधिकांश विद्यालयमा बाढीपीडित आश्रय लिएर बसिरहनुभएको छ । विद्यालयमा पढाइ प्रभावित भएको छ ।’

शिक्षा अधिकृत शाहले विद्यालयमा भएको क्षतिको विवरण सङ्कलनका लागि शुक्रबार प्रधानाध्यापकको बैठक आप्व्हान गरिएको जानकारी दिए । ‘यहाँ ३९ सामुदायिक विद्यालय, १५ संस्थागत विद्यालय छन्, अहिलेसम्म दुई विद्यालयबाट निवेदन आएको छ’, उनले भने, ‘शिक्षामा ठूलो क्षति भएको छ । ठूलो नोक्सान भएको छ । कतिपय विद्यालयका पर्खाल भत्किएका, पुस्तकालय नष्ट भएका छन् । विवरण सङ्कलनपछि राहतका कार्यक्रम हुनेछन् ।’

Thuprai - Books and E-books