After SEE Portal

टुकी बालेर पढाउन सुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्ट

Bridge Course

साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ ।

अध्ययनका लागि विद्यार्थीको सङ्ख्या बढ्न थालेकाले भरतपुर महानगरपालिका–१० मा अवस्थित यो विद्यालयमा प्रवेश परीक्षा लिने गरिन्छ । विसं २०२० जेठ ६ गते चार विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालयमा अहिले तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् ।

गुणस्तर मापन केन्द्रको परीक्षणमा ९३ दशमलव ०५ प्रतिशत अङ्क प्राप्त गरी यो विद्यालय देशकै उत्कृष्ट दोस्रो बन्न सफल भएको हो । हिरक महोत्सव (६०औँ वार्षिकोत्सव) मनाइरहेको विद्यालयको इतिहास आफैँमा मर्मस्पर्शी छ ।

विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीका अनुसार चार वर्षमा प्रवेशिका परीक्षा उत्तीर्ण गराउने उद्देश्यका साथ ‘नारायणी रात्रि हाई स्कुल’ नाम राखी यो विद्यालय स्थापना गरिएको हो । दिनभर कामले व्यस्त उमेर छिप्पिएका युवायुवतीहरूले बेलुका ५ देखि ९ बजेसम्म अध्ययन गर्ने गरेका थिए । उनले भने, ‘बिजुलीबत्तीको अभावमा लालटिन, मइन्टोल र टुकीबत्ती बालेर पढ्नुपर्ने अवस्था थियो ।’ त्यसबेला प्रौढ वा युवा अवस्थाका विद्यार्थीको पठनपाठनको नतिजा शुन्य नै थियो । रात्रिकालीन समयमा सोचेजस्तो नतिजा नआएपछि विसं २०३७ मा विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गरियो ।

बिहानी सत्रमा विद्यालय सञ्चालन गरे पछि विसं २०३८ मा पनि विद्यालयको प्रवेशिका परीक्षा शून्य प्रतिशत नै भयो । बिहानी सत्रबाट २०४५ सालमा बिहान १० देखि बेलुका ४ बजेसम्म पठनपाठन सुरु भयो । सञ्चालन शैलीमा केही परिवर्तन भएकाले विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार हुँदै गएको प्रचार्य दवाडीको भनाइ छ।

विसं २०४९ देखि यस विद्यालयलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन सामूहिक प्रयत्न र पहल भएको थियो । बिहान ९ः५० देखि बेलुका ४ः३० सम्म पढाउने, अतिरिक्त अङ्ग्रेजी÷गणित पढाउने, प्रवेश परीक्षा लिने, उत्तीर्णांक ४० गर्ने, शिक्षकलाई अध्यापनमा प्रतिबद्ध गराउने, नतिजाको विश्लेषण गरी सार्वजनिक गर्ने, परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउनेलगायत योजनाका साथै लगबुक, गृहकार्य डायरी, दैनिक पाठयोजना आदिको व्यवस्था गर्दै २०५७ सालमा आइपुग्दा जिल्लाकै प्रथम विद्यालयका रुपमा आउन सफल भएको तत्कालीन प्रधानाध्यापक टेकबहादुर थापाले बताए ।

वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका उनले भने, ‘विसं २०५७ देखि हालसम्म यो विद्यालय जिल्लाको उत्कष्ट स्थानमै छ र विसं २०६८ देखि राष्ट्रिय मूल्याङ्कनमा समेत विद्यालय उत्कृष्ट हुँदै आएको छ ।’

विसं २०६८ मा मध्यमाञ्चल आठौँ, विसं २०६९ मा रष्ट्रिय पाँचौँ, विसं २०७० राष्ट्रिय छैटौँ, २०७१ मा राष्ट्रिय २१औँ, २०७२ मा राष्ट्रिय दोस्रो तथा मध्यमाञ्चल प्रथम, २०७३ मा राष्ट्रिय दोस्रो तथा ३ नं प्रदेशको प्रथम र २०७४ मा राष्ट्रिय चौथोका साथै २०७५ को कक्षा १२ को परीक्षामा ३ नं प्रदेशको प्रथम हुन यो विद्यालय सफल भएको उहाँले जानकारी दिए ।

विसं २०७८ को कक्षा १० को एसईई परीक्षामा सर्वाधिक जिपिए (तीन दशमलव छ भन्दा माथि चार जिपिएसम्म) ल्याउने ९३ जना थिए । भने एकजनाले चार जिपिए प्राप्त गरेका थिए । कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, डिआइटी, प्री–डिप्लोमाको कक्षा सञ्चालन गरिएको छ ।

हाल दृष्टिविहीन र बौद्धिक अपाङ्ग गरी दुवै अपाङ्ग एकाइसमेत सञ्चालित छन् । दृष्टिविहीन ३२ र आवासीय ३४ जना बौद्धिक अपाङ्ग डे–बोडर्सका रुपमा अध्ययनरत छन् ।

भौतिक व्यवस्थापनमा विद्यालय सबल छ । हरियाली, फूलबारी, सरसफाइलगायतमा विद्यालयले निकै ध्यान दिइएको पाइन्छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरलाई शैक्षिक क्षेत्रमा देशकै नमुना महानगरका रुपमा विकास गर्ने काममा यो विद्यालय कोसेढुङ्गा साबित भएको बताइन् । यहाँका विद्यालय व्यवस्थापन समिति, शिक्षकशिक्षिका, विद्यार्थी र अभिभावकको मिहिनेतका कारण विद्यालय उत्कृष्ट बनेको भन्दै उनले थप गुणस्तर सुधारमा जुट्न आग्रह गरिन् । म

A Levels MA
Thuprai - Books and E-books