विद्यालय दिवा खाजाको ‘मेनु’ तयार भयो

एक जना विद्यार्थीलाई दैनिक १५ रुपियाँको खाजा कस्तो होला ? बर्गर र पिज्जा खाने वर्गका विद्यार्थीहरुका लागि त्यति रकमले कुनै अर्थ नराख्ला तर सामुदायिक विद्यालयमा अध्ययनरत सामान्य वर्गका विद्यार्थीका लागि त्यति रकमको खाजाको महत्व रहनसक्दछ । 

सरकारले देशभरिका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ । यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका तयार गरी देशभरिका विद्यालयमा पठाउँदैछ ।

‘जङ्क फुड’ खुवाउन मनाही गरिएको छ । स्थानीयस्तरमा उपलब्ध उत्पादनलाई नै जोड दिने खालका विभिन्न ६० थरिका ‘मेनु’ तयार गरिएको छ । केन्द्रले ‘मेनु’ तयार गरे पनि स्थानीयस्तरमा ती बाहेकका थप किसिमका खानेकुरा उपलब्ध हुन सके तिनलाई उपभोग गर्न सकिने छ ।

पोषिलो जाउलो प्रतिदिन प्रतिविद्यार्थीलाई खुवाउँदा १३ रुपियाँ ११ पैसा, मकैको खिर र तरकारी खुवाउँदा प्रतिविद्यार्थी १३ रुपियाँ १४ पैसा, फर्सीको प्यान केक पकाउँदा प्रतिविद्यार्थी १३ रुपियाँ, कोदोको हलुवा पकाउँदा प्रतिविद्यार्थी १३ रुपियाँ, च्याउको क्वाटी पकाउँदा प्रतिविद्यार्थी १२ रुपियाँ २४ रुपियाँ, आलु पनिर पकाउँदा प्रतिविद्यार्थी १४ रुपियाँ ६४ पैसा लाग्न सक्ने अनुमान गरिएको छ । हरेक ‘मेनु’मा खाजा बनाउँदा प्रयोग गरिने सामग्री, तिनको मूल्य र तिनको उपभोगबाट प्राप्त पोषकतत्व तथा तिनको मात्रासमेत उल्लेख गरिएको छ ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले आज सो सहयोगी पुस्तिका सार्वजनिक गर्दै भने, “यसलाई छिटै सबै विद्यालयमा पु¥याइनेछ । यसैअनुसार खाजा पकाएर खुवाउन सकिनेछ । आवश्यकताअनुसार विद्यालय आफैले ‘मेनु’ थपघट गर्न सक्नेछ । त्यो स्थानअनुसार फरक हुनसक्दछ ।”

केन्द्रले तयार पारेको ‘मेनु’मा पूर्वी पहाडी, मध्य पहाडी, पश्चिम पहाडी, पूर्वी तराई, पश्चिम तराई, पूर्वी हिमाली, पश्चिम हिमाली लगायतका क्षेत्रका आधारमा विभिन्न थरिका खाजाको विवरण प्रस्तुत गरिएको छ । 

पोषिलो जाउलो पकाउँदा प्रतिविद्यार्थी ११ रुपियाँ ७६ पैसा, चिउरा मासु पकाउँदा प्रतिविद्यार्थी १४ रुपियाँ ५३ पैसा, पानी रोटी पकाउँदा प्रतिविद्यार्थी ११ रुपियाँ १८ पैसा, फाफरको रोटी पकाउँदा प्रतिविद्यार्थी १३ रुपियाँ ६० पैसा, खिचडी पकाउँदा प्रतिविद्यार्थी १३ रुपियाँ ४३ पैसा, छोला चिउरा पकाउँदा प्रतिविद्यार्थी १३ रुपियाँ ५३ पैसा, चामलको खिर र तरकारी पकाउँदा प्रतिविद्यार्थी १३ रुपियाँ ६० पैसा, भुटेको अण्डा र चिउरा पकाउँदा प्रतिविद्यार्थी १३ रुपियाँ ८३ पैसा, मकैको खिर पकाउँदा प्रतिविद्यार्थी १८ रुपियाँ २६ पैसा लाग्ने, चिनोको खिर र तरकारी पकाउँदा प्रतिविद्यार्थी १९ रुपियाँ २४ पैसा खर्च लाग्ने विवरण सहयोगी पुस्तिकामा उल्लेख गरिएको छ ।

कर्णालीका प्रतिविद्यार्थीलाई दैनिक २० रुपियाँ र अन्य स्थानका विद्यार्थीलाई १५ रुपियाँका दरले उपलब्ध गराइन्छ । केन्द्रका निर्देशक गणेश पौडेलले ‘मेनु’मा उल्लेख भएका कतिपय खानेकुरा सरदर १३ रुपियाँ र केही त्यसभन्दा बढी भएकाले विभिन्न किसिमका खाजा खुवाउँदा उपलब्ध रकमले धान्नसक्ने दावी गरे ।

यस कार्यक्रमबाट देशभरिका २९ हजार ५८७ प्रारम्भिक बाल विकासका पाँच लाख ४१ हजार ९८० बालबालिका र २७ हजार ५४० विद्यालयका २३ लाख ९८ हजार ८०९ प्राथमिक तहका विद्यार्थी गरी कुल २९ लाख ४० हजार ७८९ जनाले निःशुल्कमा विद्यालयमा दैनिक खाजा खान पाउनेछन् । यसका लागि सरकारले सात अर्ब ७२ करोड ९३ लाख ३० हजार रुपियाँ विद्यालयहरुमा पठाइसकिएको छ ।

केन्द्रका महानिर्देशक अर्यालले एकैपटक त्यतिका रकम विद्यालयमा पुग्दा पूजीँको चलायमान भएको बताउँदै भने, “स्थानीय तहमा उत्पादित खाद्यवस्तुको प्रयोग गर्न सक्दा त्यसले स्थानीय रोजगारीमा मद्दत गर्दछ । आमा समूह लगायत स्थानीय समूह पनि यसमा जोडिन सक्छन् । दैनिक १५ रुपियाँमात्र भयो भन्नुभन्दा क्रमशः यो बढ्दै जानु महत्वपूर्ण हुनेछ ।”

सो कार्यक्रममा नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष तिलक कुँवरले यति रकमले खाजाको व्यवस्था गर्नुभन्दा रकम नै विद्यार्थीलाई दिने अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत गराउँदै पकाउने जनशक्तिको व्यवस्थापन गर्न विद्यालयलाई कठिन हुने भएकाले अभिभावकहरुले नै पालैपालो पकाउने व्यवस्था सहयोगी पुस्तिकामा नै गर्न सक्दा उपयुक्त हुने सुझाव दिए ।