After SEE Portal

स्थानीय तहमा विद्यालय क्वारेन्टाइनका लागि उपयुक्त

Bridge Course

बन्दाबन्दीका समयमा स्थानीय सरकारका लागि क्वारेन्टाइन निर्माण गर्दा विद्यालय उपयुक्त ठाउँ भएको छ ।

हतारमा क्वारेन्टाइनको व्यवस्थापन गर्दा समयमै स्थानीय तहले अन्य संरचना निर्माण गर्नुपर्ने भएको भए ठूलो खर्च हुने स्थानीय तहका प्रमुख बताउँछन् ।

कैलालीका सबैजसो स्थानीय तहले विद्यालयलाई क्वारेन्टाइन बनाएका छन् । टीकापुर नगरपालिकाले पाँच विद्यालयलाई क्वारेन्टाइन बनाएको छ । विद्यालयको विकल्पका रुपमा सिटी हललाई प्राथमिकतामा राखिएको बताउँदै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले हाल क्वारेन्टाइनमा धार्चुलाबाट आएका १० जनालाई राखिएको जानकारी दिनुभयो । उहाँले विद्यालयलाई क्वारेन्टाइन नबनाई अन्य विकल्प खोज्न लागिएको भए आर्थिक रुपमा ठूलो भार पर्ने जनाउँदै बन्दाबन्दी खुलेर भारतबाट मानिसको आवागमन भए थप १० देखि १२ क्वारेन्टाइन चाहिने बताउनुभयो ।

भजनी नगरपालिकाले दुई क्वारेन्टाइन निर्माण गरेको छ । हाल क्वारेन्टाइनमा १४ जना रहेका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कीर्ति विकले क्वारेन्टाइनका लागि विद्यालयभन्दा अर्को कुनै उपयुक्त ठाउँ हुन नसक्ने बताउँदै धेरै मानिस आउने अवस्था रहे अन्य विद्यालयलाई समेत तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले गाउँपालिकाले तीन ठाउँमा क्वारेन्टाइन निर्माण गरेको बताउँदै पालिकाभित्र रहेका पठनपाठन नहुने केही विद्यालय संरचनामा विकल्पका रुपमा सोचिएको बताउनुभयो । गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रमा विद्यालय समायोजन गर्दा दुई विद्यालय भवन प्रयोगविहीन बनेका छन् । जोशीपुर गाउँपालिकाले पनि तीन विद्यालयलाई क्वारेन्टाइन बनाएको छ । हाल एउटा क्वारेन्टाइनमा तीन जना मात्र रहेको जानकारी दिँदै गाउँपालिकामा कार्यरत कर्मचारी सिद्धराज जोशीले आगामी दिनमा आइपर्ने समस्याका लागि गाउँपालिका तयारीमै रहेको बताउनुभयो ।

‘विद्यालय संचालनमा नरहेको बेला क्वारेन्टाइनका लागि उपयुक्त हो । यसले राज्यको ठूलो रकम बचाएको छ’, डा रावलले भन्नुभयो, ‘स्थानीय सरकारले विद्यालयको विकल्प पनि तयार गर्नुपर्छ । विद्यालय सञ्चालन हुने अवस्था आए एकै पटक समस्या पर्न सक्छ ।’

टीकापुर बहुमुखी क्याम्पसका प्रा डा जगतबहादुरसिंह रावलले क्वारेन्टाइनका लागि विद्यालयभन्दा उपयुक्त विकल्प कुनै नभएको बताउनुभयो । उहाँले हाल क्वारेन्टाइन बनाइएका विद्यालयमा एसईई तथा ११ र १२ को परीक्षा केन्द्र पनि भएको हँुदा स्थानीय तहले विकल्पको तयारी गर्नुपर्ने बताउनुभयो ।

A Levels MA
Thuprai - Books and E-books