A Levels MA

मिलन आधारभूत विद्यालयलाई जोखिममा पार्दै स्याली नदी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मरघटैया शिविरस्थित मिलन आधारभूत विद्यालय उच्च जोखिममा परेको छ । स्थानीय स्याली नदीले दिशा परिर्वतन गर्दै शिविरको उत्तरतर्फको भागबाट कटान सुरु गरेपछि विद्यालय जोखिममा परेको हो ।

लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएपछि जग्गा कटान गर्न थालेको नगरप्रमुख दिलबहादुर ऐरले बताए । ‘विद्यालयको छेवैमा नदीले जग्गा कटान गर्न थालेको छ ’, उनले भने,‘तत्काल नदीको वहाव परिवर्तन गर्न सकिएन भने विद्यालय सहित बस्तीलाई पनि असर गर्छ ।’ उनले तत्काल नदी नियन्त्रणका लागि नगरपालिकासंग योजना बनेको नभए पनि प्राथमिकताका साथ नदी नियन्त्रण गरिने बताए ।

केही वर्षअघि नदीमा करिब एक करोड रुपियाँ खर्च गरेर तारजालीसहितको ढुङ्गाको तटबन्ध बनाइएपछि नदीले धार परिवर्तन गरी बग्न थालेको थियो । लगातारको वर्षाले नदीको धार विद्यालय रहेको क्षेत्र भएर बग्नेक्रमसँगै जग्गा कटान गर्न थालेको छ । विद्यालय नजिकै निर्माण भइरहेको राना थारु सङ्ग्रहालयसमेत नदीको उच्च जोखिममा परेको स्थानीयवासी नवलसिंह रानाले बताए ।

विसं २०६५ मा आएको विनाशकारी बाढीबाट शिविरका दुई दर्जन बढी परिवार विस्थापित भएका थिए । विस्थापित केही परिवारलाई अन्यत्र पुनःस्थापन गरे पनि अझै पनि केही परिवार पुनःस्थापनको पर्खाईमा नजिकैका सामुदायिक वनमा झोपडी बनाइ बस्दै आएका छन ।

बाढीले त्यही बेला बस्तीमा रहेको विद्यालयका भवन र जग्गा बगाएको थियो । विद्यालय बगेपछि स्थानीयवासीको प्रयासमा अर्को ठाउँमा विद्यालय पुनःस्थापन गरिएको हो ।

विद्यालय पुनःस्थापन गरिएको क्षेत्रमा समेत नदीले कटान गर्न थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । ‘बस्तीमा रहेको विद्यालय बगेपछि विगतमा बालबालिकालाई गोठ र आँगनमा राखेर पढाउनुपर्ने बाध्यता थियो’, स्थानीय सुमित्रारानाले भनिन्, ‘अभिभावकले धेरै संघर्ष गरेर गत वर्ष बस्तीमा जग्गा व्यवस्थापन गरी दुईकोेठे विद्यालय भवन निर्माण भएको थियो तर नदीले पुनः वहाव परिवर्तन गरी विद्यालय बगाउने नै भयो ।’

विद्यालय संरक्षणका लागि तत्काल तटबन्ध निर्माण गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीको भनाइ छ ।

Thuprai - Books and E-books