छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय

काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् । विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन् ।

पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भनेर पुस्तकलाई कार्टुनमा प्याकिङ गर्ने र तर्काएर राख्न थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहतको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको सो भवनको छानो मर्मतका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको छ ।

मर्मत चाँडै सम्पन्न नभए आगामी असार–साउनमा पुस्तकालय वर्षाका कारण प्रभावित हुनसक्ने देखिएको छ । पुस्तकालयका पुस्तकालय व्यवस्थापक जुजुभाइ डङ्गोलले हरेक वर्षाका समयमा यस्तै विजोग हुने गरेको र पछिल्लो वर्षाले के कति पुस्तकमा क्षति भयो भन्ने विवरण तयार भइनसकेको उनले बताए ।

अहिले पानीले भिजेका पुस्तकबाट पानी तैर्याएर (सुकाएर) पुनः पढ्न मिल्ने र नमिल्ने गरी वर्गीकरण गरिने उनको भनाइ छ । उनले बजेट कार्यान्वयनका लागि परिषद्बाट सहमति प्राप्त भएकाले छिट्टै छानो फेर्ने काम अघि बढ्ने जानकारी दिए । वर्षाका कारण पुस्तकालयमा जाने आउने बाटोसमेत हिलाम्मे भएको छ ।

पुस्तकालयमा विभिन्न विधाका गरी करिब ८० हजार पुस्तक र दुई हजार चार सयभन्दा बढी सदस्य छन् ।  पुस्तकालयमा दैनिक एक सय ५० जना अध्ययनकर्ता आउने गरेका छन् ।

विसं २०६० मा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्काको नेतृत्वमा २१औँ शताब्दीको आवाश्यकतानुकूलको पुस्तकालय स्थापना भएको थियो ।

पुस्तकालयले हाल राष्ट्रिय सभागृहको एउटा कोठाबाट स्थापित समाजले विद्युतीय पुस्तकालय सेवाका साथै पुस्तकालय विज्ञान र व्यवस्थापनबारे तीन महिने व्यावसायिक कोर्समा आधारित तालिम पनि सञ्चालन गर्दै आएको छ ।

पुस्तकालय व्यवस्थापन र तालिमका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयबाट चालु आवमा रु ५० लाख बजेट विनियोजन भएको थियो ।

पुस्तकालयमा प्राज्ञिक व्यक्ति, कूटनीतिज्ञ, राजनीतिककर्मी, कानुन व्यावसायी, उद्यमी, सामाजिक कार्यकर्ता र पत्रकारसमेत आवद्ध छन् ।

समाजलाई शिक्षित, सभ्य, लोकतान्त्रिक र शान्तिपूर्ण बनाउने लक्ष्य प्राप्तिका लागि स्थापित यो पुस्तकालयमा वार्षिक सदस्यता शुल्क रु तीन सय मात्रै रहेको छ ।

पुस्तकालयले वार्षिक रु डेढलाख तिर्दै आएको भने परिषद्ले एकतर्फी भाडा बढाएर वार्षिक रु छ लाखको हिसाब गरी अपुग रकम बक्यौतमा राख्दै आएको छ ।

समाजले प्रति स्क्वायर फुट रु १८ मा ७५ प्रतिशत छुट पाएकामा हाल परिषद्ले छुट नदिने जनाएको छ ।

पुस्तकालयले हाल जम्मा दुई हजार छ सय स्क्वायर फुट उपयोग गर्दै आएको छ । पुस्तकालयलाई आफ्नो स्वामित्वमा लिई व्यवस्थितरूपमा सञ्चालन गर्न पुस्तकालय स्थापनाले काठमाडौँ महानरपालिकालाई प्रस्तावपत्र पठाइ आग्रह गर्दै आएको छ ।

पुस्तकालयका अनुसार कर्मचारी तलब, पुस्तकालय व्यवस्थापन, पुस्तक खरिद र तालिमका लागि गरी वार्षिक रु ७०÷८० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

उक्त बजेट महानगरले विनियोजन गरेमा पुस्तकालयको स्वामित्व हस्तान्तरणसमेत गर्न सञ्चालक समिति तत्पर देखिएको छ ।

हाल पुस्तकालयमा ११ कर्मचारी कार्यरत छन् । सामुदायिक पुस्तकालयलाई प्रभावकारीरूपमा सञ्चालन र व्यवस्थापन गर्न सकिए पठन संस्कृतिको विकासका साथै विदेशीलाई देखाउने एक आकर्षक स्थलसमेत बन्न सक्ने पुस्तकालयमा व्यवस्थापक डङ्गोलले बताए ।

Thuprai - Books and E-books