A Levels MA

विद्यालय पुनर्निर्माणका बाँकी काम शिक्षा मन्त्रालयलाई हस्तान्तरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका संरचनाको पुनर्निर्माणसम्बन्धी बाँकी कार्यहरु सम्बन्धित निकायमा हस्तान्तरण सुरु गरिएको छ । 

प्राधिकरणमा आज आयोजित औपचारिक कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरु तथा सडक एवं पुलहरुको कार्य हस्तान्तरण गरिएको हो ।

पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाहरुको पुनर्निर्माणसम्बन्धी कार्यहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सोअन्तर्गतका तोकिएका जिल्लास्थित कार्यालयहरुमा हस्तान्तरण गरिएको छ ।

यी बाँकी रहेका कार्यहरु पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई हस्तान्तरण गरे । 

पुनर्निर्माण गर्न बाँकी रहेका कार्यसहित सम्बन्धित केन्द्रीय एवं जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेका सम्पत्ति, दायित्व, श्रेस्ता कागजात, बेरुजु विवरण एवं कार्यालयसमेत सम्बन्धित निकायमा हस्तान्तरण भएका छन् । हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायहरुले तत्कालै पुनर्निर्माणका कार्यहरु सञ्चालन गर्नेछन् । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष आठ महिना २० दिनमा पुनर्निर्माण गर्नुपर्ने कुल संरचनामध्ये मूलभूत रुपमा प्रायः सम्पूर्ण कार्यहरु सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताए । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले हस्तान्तरण भएर आएका कार्यहरु तोकिएको समयभित्रै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे । 

यही भदौ ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको २० औँ बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरुमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु हस्तान्तरण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी पुस १० गतेसम्म क्रियाशील रहनेछ । 

पुनर्निर्माणको प्रगति (२०७८ असार ३१) 

विद्यालय भवन

लक्ष्य – ७५५३

पुनर्निर्माण सम्पन्न – ६,६४७ (८७.६६ प्रतिशत)

पुनर्निर्माण जारी – ९३६ (१२.३४ प्रतिशत) 

Thuprai - Books and E-books