After SEE Portal

महालेखा परीक्षणपछि एसईईका प्रश्नपत्र धुल्याइने

Bridge Course

महालेखा परीक्षण नगरुन्जेल एसईईका प्रश्नपत्रलाई नधुल्याइने भएको छ ।

गत २०७६ सालको एसईई सञ्चालन नहुने भएपछि सो परीक्षाका लागि सुरक्षित राखिएका प्रश्नपत्र तत्काल नधुल्याइने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले महालेखा परीक्षण सम्पन्न नहुञ्जेल प्रश्नपत्रलाई जलाउन वा प्रयोगविहीन बनाउन नमिल्ने बताउँदै भने, “महालेखाले माग्यो भने प्रश्नपत्र उपलब्ध गराउनुपर्ने हुन्छ । त्यतिञ्जेलका लागि सुरक्षित नै राख्नेछौँ ।”

यतिबेला देशका एक हजार ९९५ वटा प्रहरी निकायमा प्रश्नपत्र सुरक्षित राखिएको छ । परीक्षाका लागि एक हजार ९९५ परीक्षा केन्द्र कायम गरिएका थिए । परीक्षा केन्द्र नजिकका प्रहरी कार्यालयमा ती प्रश्नपत्र बाकसमा सुरक्षित राखिएको छ । 

परीक्षा नियन्त्रक (कक्षा १०) रामराज खकुरेलले प्रश्नपत्र सुरक्षित राख्न हरेक परीक्षा केन्द्रलाई टिनको बाकस खरिद गर्न रकम उपलब्ध गराइएको र त्यसैमा प्रश्नपत्रलाई दुईवटा ताल्चा लगाएर राखिएको बताए । बाकस खरिद गर्न हरेक परीक्षा केन्द्र कायम भएका विद्यालयलाई दुई हजार रुपियाँका दरले रकम उपलब्ध गराइएको थियो । हरेक बाकसमा दुई वटा ताल्चा लगाइएका छन् । एउटा ताल्चाको साँचो केन्द्राध्यक्षसँग छ भने अर्को साँचो सुरक्षा प्रमुखका साथमा छ ।

ती प्रश्नपत्र विद्यार्थीलाई अभ्यास गर्न दिइनुपर्ने माग सरोकारवालाले राख्दै आए पनि बोर्डका पदाधिकारी जलाउनुपर्ने बताउँछन् । बोर्डले कक्षा १२ को प्रश्नपत्र छिटै परीक्षा केन्द्रसम्म पुर्‍याउने भएको छ । ती प्रश्नपत्रलाई तिनै टिनका बाकसमा राखिने भएको छ । आर्थिक वर्ष सकिएपछि महालेखा परीक्षण हुने गर्दछ ।

ती प्रश्नपत्र छपाइ गर्न करिव तीन करोड रुपियाँ खर्च भएको छ । ५१ लाख प्रति छापिएका थिए । ८६ विषयका प्रश्नपत्र छन् । अनिवार्य विषयका ४२ सेट प्रश्नपत्र छन् । हरेक प्रदेशमा अनिवार्य विषयका फरक प्रश्नपत्र छपाइ गरिएको थियो ।

यसैबीच सरकारले विद्यालयले गरेको अन्तिम मूल्याङ्कनलाई आधार मानेर प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय परीक्षा बोर्डलाई परिपत्र गरेको छ । 

 

A Levels MA
Thuprai - Books and E-books