After SEE Portal

तालै तालाले सजियो त्रिवि पदधिकारीको कार्यकक्ष

Bridge Course

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्य कक्ष र सेवा आयोगमा विभिन्न माग राखी फरक फरक समयमा गरिएको तालाबन्दीका कारण एउटै ढोकामा तीनओटा सम्म ताला झुन्डिएका छन् ।

विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा नेपाल विद्यार्थी संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र लोकतान्त्रिक प्राध्यापक संघले फरकफरक समयमा ताला लगाएपछि पदाधिकारी कार्यकक्ष तालाले सजिएको हो ।

अहिले त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल र रजिष्ट्रार पेशल दाहालको कार्यकक्षमा तीनओटा ताला लागेका छन्।

कोभिड १९ का कारण प्रभावित हुँदै आएको विश्विद्यालय तालाबन्दीका कारण अझै थला परेको छ । त्रिविले असन्तुष्ट समूहसंग वार्ताका लागि पहल गरिरहेको समयमा पटकपटक तालाबन्दी गर्ने कार्यले त्रिवि गम्भीर भएको जनाएको छ ।

प्रजातान्त्रिक प्राध्यापक संघ नेपालले गते असार १९ गते त्रिविका उपकुलपतिलाई ३३ सुत्रीय माग राखी ज्ञापन पत्र बुझाएको थियो ।

सो मागलाई सम्बोधन गर्न त्रिविले व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । सो समितिसंग संघले वार्ता गर्न अस्वीकार गर्दै साउन ५ गते केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको थियो ।

संघले पदाधिकारीसँग मात्र वार्तामा बस्ने माग गरेपछि गत साउन ७ गते शिक्षाध्यक्षको संयोजकत्वमा प्राध्यापक संघका प्रतिनिधिहरूसँग छलफल गरिएको भए पनि सहमति जुट्न सकेन ।

त्यस्तै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले गत असार २६ गते त्रिविका उपकुलपति समक्ष विभिन्न माग राख्दै ज्ञापनपत्र बुझायो । सो मागलाई सम्बोधन गर्न भन्दै त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर मगरको सयोजकत्वमा साउन १ गते वार्ता समिति गठन गर्यो । तर नेविसंघले पनि वार्ता पदाधिकारीसंग मात्र गर्ने भनेपछि त्रिवि र संघबिच वार्ता हुन सकेन ।

त्रिविले पुन साउन ४ गते शिक्षाध्यक्ष सिवलाल भुसालको संयोजकत्वमा वार्ता समिति गठन गर्यो । सोही दिन नेविसंघले एक विज्ञप्ति प्रकाशित गर्दैं उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गर्यो ।

कमजोर पूर्वाधार, दक्ष जनशक्तिको कमी, साधन स्रोतको न्यूनता हुँदाहुदै पनि कोभिड १९ विरुद्ध लड्नका लागि विश्वविद्यालयले सकेसम्मको प्रयत्न गरिरहेको अवस्थामा त्रिविका विभिन्न पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिनु दुखद भएको त्रिविले जनाएको छ ।

विश्वविद्यालयका अस्पतालहरू कोभिडका विरामीको उपचारमा सक्रिय छन्, विश्वविद्यालयका भौतिक पूर्वाधार क्वारेन्टिनमा प्रयोग भएको र सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयका शिक्षक तथा विद्यार्थी कोभिड १९ का विषयमा अनुसन्धान गरिरहेका छन् । विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरूले जनचेतना फैलाउन र स्वयंसेवकको रुपमा काम गरिरहेको अवस्थामा वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्ने शिक्षाध्यक्ष भुसालले बताए ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय, कीर्तिपुर एवं त्रिवि सेवा आयोगको कार्यालय, र विभिन्न डीन कार्यालयमा फरक फरक समयमा लगाएको ताला खोल्न अहिले सम्म ठोस पहल नगरिएको आन्दोलनरत पक्षको भनाइ छ ।

त्रिविले डीन तथा सहायक डीन नियुक्ति गर्दा मनपरी गरेको, क्याम्पस प्रमुख दलीय आस्थाको आधारमा गरेको, पदाधिकारीले त्रिवि सुधारका लागि पहल नगरेको असन्तुष्ट समूहले आरोप लगाउँदै आएका छन्।

पदाधिकारीको कार्यकक्षको मूल ढोकामा तालाबन्दी गरेपछि त्यसभित्र रहेका अन्य कार्यालयको कार्यसम्पादनमा समेत समस्या भएको त्रिविले जनाएको छ । तालाबन्दी गर्ने समूहले त्रिवि अन्तर्गका निकायमा नियुक्ति गर्दा आफ्ना समूहका व्यक्तिलाई नियुक्त गर्न दवाव दिने उद्देश्यले ताला लगाएको त्रिविले दावी गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books