After SEE Portal

नगरपालिकाले रोक्यो तलब, प्रधानाध्यापकले आफैं दिए

Bridge Course

कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाले निजीस्रोतका शिक्षकको तलब रोकेको छ ।

दसैँ लागि सक्दा पनि निजी स्रोतका शिक्षकलाई नगरपालिकाले पारिश्रमिक नदिएपछि दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नो तलब विद्यालयमा कार्यरत ६ जना शिक्षकलाई प्रदान गरेका छन् ।

 बिहानदेखि ४ बजेसम्म नियमित पढाएपनि दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई साउनदेखि असोज महिनासम्म आफूले पाएको तलबबापतको रकम शिक्षकलाई प्रदान गरेका हुन् ।

प्रधानाध्यापक भण्डारीले छ जनैलाई बराबर पुग्ने गरी आफूले पाएको तलब बाँडिदिएको शिक्षकहरू बताउँछन् ।

“दसैँका बेला मेरो खातामा तलब आइपुग्यो”, प्रधानाध्यापक भण्डारीले भने, “आफूसँग विद्यालयमा पढाउने अति लगनशील शिक्षकलाई दसैँ जस्तो महत्त्वपूर्ण पर्वको समयमा खाली हात पठाउनसक्ने कुरै भएन, बरु आफू खाली हुनु ठिक छ भनी पाएको तलब पछि सोध भर्ना हुनेगरी बाँडिदिए ।”

शिक्षकहरूको मेहनत र लगनलाई सम्मान गर्दै दसैंको गर्जो टारेको प्रधानाध्यापक भण्डारी बताउँछन् । “दसैँको बिदा हुनै लाग्दा निजी स्रोतका शिक्षक तलब नपाइएपछि खाली हात घर जान थाले, भावुक भएर हेर्न थाले”, प्रधानाध्यापक भण्डारीले भने, “मुटु भक्कानियो, मन थाम्न सकिन, त्यसपछि आफ्नै तलबबाट रकम बाँड्ने निधो गरे, बाँडे ।”

तलब नपाएर हैरान भएकाबेला प्रधानाध्यापकले आफ्नै तलबबाट दसैँ खर्चका लागि रकम उपलब्ध गराएपछि निकै सहज भएको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए । थोरै रकम पाए पनि दसैँका लागि खर्च गर्न पुग्ने भएकाले खुसी भएको उनले बताए ।

“स्थायी शिक्षक जस्तै हामीले पनि विद्यालयमा पठनपाठनको काम गरेका छौँ”, उनले भने, “विद्यालय व्यवस्थापन समितिले राखेकाले उसैले तलब व्यहोरोस् भनेर नगरपालिकाले पठाउने अनुदान रोक्दा निकै हैरान छौँ, हतास मनस्थितिमा पनि छौँ ।”

जनप्रतिनिधिले आफ्ना शिक्षक राख्नलाई बर्सैंदेखि शिक्षण गर्दै आएका शिक्षकलाई विस्थापन गर्न विद्यालयमा अनुदान रोकेको अभिभावकको आरोप छ ।

“गुणस्तरीय शिक्षाको नारा दिएर चुनाव जितेका जनप्रतिनिधिले नगर शिक्षक राख्ने बहानामा विद्यालयमा वर्षौंदेखि पठनपाठनको काम गर्दै आएका शिक्षकलाई विस्थापन गराउन तलब रोक्ने निर्णय कतिको ठिक हो”, एक अभिभावक भन्छन्।

कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा एक जना स्थायी र एक जना राहत दरबन्दीका शिक्षक छन् भने छ जना शिक्षक निजी स्रोतबाट राखिएको छ ।

सो विदँलयमा १६२ जना विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले निजी स्रोतका शिक्षकको तलब रोके पनि वडा कार्यालयले विद्यालयलाई रु दुई लाख अनुदान रकम उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको वडा कार्यालयले जानकारी दियो । वडालपे बजेट प्रदान गरे पनि खाता सञ्चालन नहुँदा विद्यालयको खातामा रकम आई पुगेको छैन । खातामा रकम नआइपुग्दा निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्ना लुहार विद्यालयमा पढ्नेमध्ये ८० प्रतिशत बढी विद्यार्थी दलित समुदायको रहेको बताउछन् “अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा निजी स्रोतका शिक्षकको तलब जुटाउन सकेका छैनौँ, नगरपालिकाले अनुदान रकम रोक्दा विद्यालय सञ्चालन गर्न निकै अप्ठ्यारो भएको छ, उनले भने, “नगरपालिकाले विद्यालयले निजी स्रोत शिक्षकको तलबबापतको अनुदान रकम रोक्ने हो भने विद्यार्थी अनुपातमा दरबन्दीका शिक्षकको व्यवस्था गर्न सक्नुपर्छ, विद्यालयलाई राजनीति गर्ने थलोका रुपमा विकास नगरी स–साना बालबालिकाको भविष्यका बारेमा सोच्नुपर्छ ।”

 

A Levels MA
Thuprai - Books and E-books