“गाउँलेले अन्धो भनेर हेला गर्थे । उनीहरुले ‘पूर्वजन्ममा कसैको आँखा फुटाइदिएकाले तिमीहरु पनि आँखा नदेख्ने भयौ, पूर्व जन्मको पाप हो, अब पूजा गरेर पाप पखाल’ भन्थे” पर्सा जगरनाथपुरका कन्हैयाप्रसाद साहले समाजले दिएको पीडालाई यसैगरी व्याख्या गरे ।
उनका दिदी र बहिनी पनि दृष्टिविहीन हुन् । एकै घरका तीन जना छोराछोरी दृष्टिविहीन जन्मिएपछि समाजले अभिभावकलाई समेत पापीको संज्ञा दियो । “तिमीहरु पापी भएकाले यस्ता सन्तानलाई जन्म दियौ भनेर बाबुआमालाई पनि समाजले सुनाए” उनले भने ।
त्यतिमात्र होइन एक व्यक्तिले त २० हजार रुपियाँ दिएमा तीनै जना सन्तानको आँखा देख्नसक्ने बनाइदिने भन्दै ठगी गरेर रकम कुम्ल्याए । यसबीचमा किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम (इन्गेज परियोजना) सञ्चालन भयो । परियोजनाको सम्पर्कमा कन्हैयाप्रसाद र उनका दिदीबहिनी पनि आइपुगे । परियोजनाले उनीहरुको जीवनलाई पनि नयाँ दिशा प्रदान गर्याे ।
आज ललितपुरमा आयोजना भएको कार्यक्रममा उनले भने, “म न्यायाधीस बनेर समाजलाई देखाउने छु । यो मेरो प्रतिज्ञा हो ।”
चार वर्षअघि उनी घरमा कुँजिएका थिए । कखरा पनि आउँदैन थियो । परियोजनाका कारण सामान्य लेखपढ् गर्न सक्ने भए । पढाइमा निकै मिहिनेत गरे । शिक्षकहरुले सिधै कक्षा ३ मा उकालिदिए । त्यसपछि सिधै कक्षा ६ मा उक्लिए । अहिले उनी वीरगन्जमा कक्षा ६ मा अध्ययन गर्दैछन् । उनी कक्षामा दोस्रा विद्यार्थी हुन् । चार वर्षको अवधिमा सिधै कक्षा ६ मा पुग्न सक्नुले अवसर पाएमा दृष्टिविहीनले पनि गर्न सक्छन् भन्ने योभन्दा उपयुक्त उदाहरण सायदै अरु हुनसक्ला ।
“अन्धाले पढ्न सक्छन् भन्ने मलाई थाहै थिएन । म पढ्छु भन्ने कुरा त कल्पनाभन्दा बाहिर थियो” उनले सुनाए, “तर मैले पढेर समाजलाई हामी जस्ता अन्धाले पनि पढ्न सक्छन् भनेर देखाइदिएका छौँ ।”
यस्ता थुप्रै बालबालिका कार्यक्रममा सहभागी भएका थिए । उनीहरुको सफलताका कथा सुनिए । सुनाइए । कुनै बेला घरमा कुँजिएर रहनु परेका वा बीचैमा विद्यालय छाड्नु परेका अपाङ्गता भएका वा सीमान्तकृत बालबालिका यति बेला विद्यालयमा नियमित जाने गरेका छन् ।
बेलायती सरकारको सहयोगमा भीएसओ लगायतका संस्थाको सहकार्यमा लुम्बिनी प्रदेशको बाँके तथा मधेस प्रदेशको सर्लाही र पर्सामा सञ्चालन गरिएको परियोजनाको अवधि सकिएको छ । यस अवधिमा ती क्षेत्रका दुई हजार ५२५ किशोरी प्रत्यक्ष लाभान्वित बनेका छन् । ३० हजारभन्दा बढी बालबालिका, शिक्षक, अभिभावक पनि यसबाट लाभान्वित भए ।
महिला शिक्षक प्रमिला श्रेष्ठले विगतमा कक्षामा आउन नचाहने किशोरी यस परियोजनाका कारण नियमित कक्षामा सहभागी हुने गरेको र कोही पनि बीचैबाट नभाग्ने गरेको सुनाइन् । उनले किशोरीलाई पढ्नुपर्छ भन्ने मनोबल बढेको बताइन् ।
कार्यक्रममा नेपालस्थित बेलायती राजदूत निकोला क्याथरिन पाेलिटले बेलायत सरकारले नेपालको शिक्षामा लगानी गर्न प्रतिबद्धता जनाएको बताउँदै नेपालको शिक्षामा सुधार हुँदै गए पनि गुणस्तरमा चुनौतिको समस्या रहेको धारणा व्यक्त गरिन् ।
शिक्षा सचिव रामकृष्ण सुवेदीले अब नेपालले समता शिक्षामा काम गर्नुपर्ने भएको बताउँदै समस्यामा परेका बालबालिकालाई शिक्षाको पहुँच पुर्याउनुपर्ने बताए ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका सहसचिव चन्द्रकान्त भुसालले बालिकालाई शिक्षाको पहुँचमा ल्याई गुणस्तर कायम गर्नसक्नुपर्ने बताउँदै विद्यालयमा आएकालाई टिकाएर बिकाउनसक्ने बनाउनु चुनौति रहेको बताए ।
भिएसओका नेपालका लागि प्रतिनिधि जयशङ्कर लालले १० देखि १९ वर्ष उमेर समूहका सीमान्तकृत तथा अपाङ्गता भएका किशोरीको शिक्षामा काम गर्दै आएको बताउँदै परियोजनाका कारण शिक्षाबाट त्यस्ता किशोरी बन्चित हुन नपरेको बताए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा. दिव्या दवाडीले समावेशी शिक्षण सिकाइ नहुन्जेल सुधार हुन नसक्ने उल्लेख गर्दै समावेशी शिक्षामा शिक्षकको तालिम नपुगेको बताइन् ।
पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले गाउँपालिकामा चार सयभन्दा बढी किशोरीले पढ्ने कल्पनासम्म नगरेको सुनाउँदै आज उनीहरुको पढ्ने अवस्था सिर्जना भएकोमा खुसी व्यक्त गरे ।