पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा ह्याकरले अन्य सामग्री राखिदिए

पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा अश्लील सामग्री देखिन थालेका छन् । केन्द्रको वेबसाइटमा ह्याकरले एडवेयर, माल्वेयर स्क्रिप्ट अर्थात् विज्ञापनयुक्त भाइरस राखिदिएपछि यस्ता सामग्री देखिएका हुन् ।

केन्द्रको वेबसाइटको मेनुमा राखिएको पब्लिकेसनमा रहेको करिकुलम, रिपोर्ट्स, जनरल, टेक्स्ट बुक, टिचर्स गाइड जस्ता लिङ्कमा क्लिक गर्ने वित्तिकै प्रयोगकर्ता स्वतः ह्याकरले राखेको अश्लील पाठ्यसामग्रीमा पुग्छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको केन्द्रको वेबसाइटमा नै यस्ता भाइरस राखिएपछि प्रयोगकर्ता प्रविधिको दुरुपयोगको शिकार भएका छन् ।

लामो समयदेखि केन्द्रको वेबसाइटमा यस्ता सामग्री देखिए पनि केन्द्रका अधिकारी भने यसमा अनविज्ञता प्रकट गर्छन् । केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले आफूहरुले प्रयोग गर्दा यस्तो नभेटिएको, आफ्नो सिस्टम सुरक्षित रहेको भनेर बचाउ गर । तर, प्रयोगकर्ता लामो समयदेखि यस्ता अश्लील सामग्रीको सिकार हुँदै आएका छन् । केन्द्रले समाधानका लागि अहिलेसम्म पहल गरेको छैन ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई पत्राचार गरेर जानकारी गराइएको र केन्द्रले वेबसाइटमा असुरक्षा नभएको जानकारी पाएको भट्टराईले जानकारी दिए ।

‘साइबर सुरक्षा अनुसन्धानकर्ताका अनुसार ‘सेक्युरिटी टेस्टिङ’ अर्थात सुरक्षा परीक्षण नगरिएका कारण यस्तो समस्या देखिएको हुनसक्छ । ‘सरकारी वेबसाइट भनेर डेभलपरले सुरक्षा सावधानी नअपनाउँदा यस्तो समस्या आउँछ । झट्ट हेर्दा केन्द्रकै वेबसाइट जस्तो देखिए पनि वेबसाइटको नाम नभएर न्युमेरिकल आइडी (अङ्कमा लेखिएको नाम) देखा पर्छ । त्यसभित्र राखिएका पाठ्यसामग्रीमा क्लिक गर्दा प्रयोगकर्ता अनावश्यक सामग्री राखिएको वेबसाइटमा पुग्ने गरेका छन्।

Thuprai - Books and E-books