A Levels MA

जोशिला शिक्षकको जोशलाई रोकेन महामारीले

भर्चुअल कक्षामा माथिल्लो तहमा विद्यार्थीको उपस्थिति उत्साह जनक देखिए पनि अझै तल्ला कक्षामा चुनौती कायमै, चुनौतीका बाबजुद सामुदायिक विद्यालय पहिलो त्रैमासिक परीक्षामा जुटे ।

आकर्षक भवन । रित्ता कोठा । झारैझारले भरिएको परिसर । सामान्य अवस्थामा पनि न्यून मात्र विद्यार्थीको उपस्थिति हुने भनेर आजभोलि आम मानिसको मानसपटलमा सामुदायिक विद्यालयको चित्र कोरिन थालेको छ । तर सबै सामुदायिक विद्यालयलाई यसरी परिभाषित गर्दा अन्याय हुने अभिभावकहरु बताउँछन् ।

कोरोनाको विश्वव्यापी महामारीका कारण यो शैक्षिक सत्रको सुरुदेखि विद्यालयमा विद्यार्थी पुग्न सकेका छैनन् । औपचारिक रुपमा चैत्र ६ गतेबाट बन्द गरिएका विद्यालयमा विद्यार्थी कहिले पुग्ने हुन् कसैले भन्ने तथा आंकलन गर्ने अवस्था छैन ।

तस्वीर सौजन्यः हेरम्बराज कडेँल

एकातिर सरकारले केही गरेन । शिक्षकले केही नगरी तलब पचाए भनेर व्यापक आलोचना हुन थालेको छ । यिनै आलोचना, आग्रह तथा पूर्वाग्रहका बिच यस्ता सामुदायिक विद्यालय पनि छन् । जसले कोरोनाको महामारीलाई चुनौती दिँदै आफूसंग भएका वैकल्पिक उपायलाई उपयोग गरी निरन्तर विद्यार्थीको सिकाइ सहजीकरण गरिरहेका छन् ।

यी सामुदायिक विद्यालयलाई सरकारको कुनै कार्यविधि र निर्देशिकाको जरुरी परेन । विद्यालय बन्द भयो । विद्यार्थी तथा शिक्षक विद्यालयमा उपस्थित हुने वातावरण सिर्जना हुन सकेन । सहकर्मी शिक्षक, प्रवुद्ध व्यक्ति तथा विद्यालय व्यवस्थापनसंग छलफल गरी यी विद्यालयले सिकाइलाई निरन्तरता दिए ।

सुरुमा यी विद्यालयसंग पनि पर्याप्त मात्रामा प्रविधि तथा प्रविधिमैत्री पाठ्य सामग्री थिएन । छलफल तथा पूर्ण तयारी पछि गत वैशाख १९ गतेदेखि काठमाडौंको त्रिपुरेस्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्यो ।

सुरुमा माथिल्लो कक्षाबाट सुरु गरेको अनलाइन कक्षा अहिले पूर्व प्राथमिक तहसम्म नै सञ्चालन गर्न थालेको छ । माथिल्लो कक्षामा विद्यार्थीको उपस्थिति उत्साहजनक छ । प्रधानाध्यापक हेरम्बराज कडेँलका अनुसार कक्षा १२ का ८५ प्रतिशत विद्यार्थी दैनिक अनलाइन कक्षामा सहभागी हुने गरेका छन् भने कक्षा १० मा पनि विद्यार्थीको सहभागिता राम्रो छ । कक्षा १० मा ६० प्रतिशतभन्दा धेरै विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् ।

कक्षा १२ का अनलाइन कक्षामा सहभागी विद्यार्थी । तस्वीर सौजन्यः हेरम्बराज कडेँल

त्यस्तैगरी सुरुसुरुमा पूर्व प्राथमिक तहका विद्यार्थीको उपस्थिति अत्यन्त न्यून भएपछि प्रत्येक अभिभावकलाई टेलिफोन सम्पर्क तथा प्रत्यक्ष सम्पर्क विद्यालयले गर्यो । यो तहमा पनि अहिले दैनिक २० प्रतिशत विद्यार्थी सहभागी हुन थालेका छन् ।

पहुँच नभएका विद्यार्थीलाई

भनिन्छ सामुदायिक विद्यालय मजदुर, किसान तथा श्रमिकका छोराछोरी पढ्ने विद्यालय हो । यहाँका अधिकांश बालबालिकालाई बिहान बेलुकाको जोहो गर्न नै धौधौ हुन्छ । आर्थिक अभावका कारण प्रविधिको पहुँचमा पुग्न नसकेका विद्यार्थीलाई विद्यालयले भौतिक दुरी कायम गरी विद्यालयमा नै सिकाइ सहजीकरण गर्ने गरेको छ । विद्यालय आसपास बसोबास गर्र्ने दैनिक ३०–४० जना बालबालिकालाई विद्यालयले कक्षाकोठामा नै शिक्षण गराउँदै आएको छ । त्यसैगरी भौतिक दुरी टाँढा भएका विद्यार्थीलाई पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य अनुरुप परियोजना कार्य दिँदै आएको छ ।

भोलिबाट प्रथम त्रैमासिक परिक्षा

विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीको भोलिबाट प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्ने भएको छ । यसकालागि विद्यालयले अनलाइन प्रश्नपत्र निर्माण गरिसकेको प्रधानाध्यापक कडेँलले जानकारी दिए । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विद्यालयले प्रथम त्रैमासिक परीक्षामा बहुबैकल्पिक प्रश्न मात्र सोद्ने भनेएको छ । विद्यार्थीले अनलाइनबाटै उत्तरपुस्तिका सबमिट गर्ने प्रबन्ध मिलाएको विद्यालयले जानकारी दियो ।

सबै शिक्षकलाई तालिम

परम्परागत विधिबाट शिक्षण गर्दै आएका शिक्षकलाई प्रविधिमैत्री शिक्षण गर्नु आफैंमा चुनौतिपूर्ण विषय हो । लामो समय ‘चक एण्ड टक’ मा समय बिताएका शिक्षकलाई प्रविधिको अगाडि सहजता नहुनु स्वभाविक हो तर समयले सबै सिकाएको शिक्षकहरु बताउँछन् । ‘प्रवचन विधिबाट शिक्षण गर्दै आएका शिक्षकलाई आईसीटीको प्रयोगमा अभ्यस्त बनाउन आफैंमा चुनौती थियो ।’ प्रधानाध्यापक कडेँल भन्छन्, ‘हामीले सरकारको मुख ताकेनौं आफैं र केही साझेदार संस्थामार्फत सबै शिक्षकलाई तालिम प्रदान गर्यौ अब सबै शिक्षक प्रविधिमा अभ्यस्त भइसक्नु भएको छ ।’

यसका अलावा विद्यालयले हरेक हप्ता समीक्षा बैठक गर्ने गरेको छ । सिकाइ सजहीकरणका समयमा उत्पन्न समस्या तथा उपलब्धिको पहिचान गर्दै नयाँ मोडेलबाट आफ्नो क्रियाकलाप अगाडि बढाउने गरेको विद्यालयले जानकारी दियो ।

रोकिएन कक्षा ११ मा नयाँ भर्ना

विश्वनिकेतनले गत भदौ २१ र २८ गते कक्षा ११ का लागि नयाँ प्रवेश परीक्षा लियो । अनलाइनबाटै लिइएको सो परीक्षामा एक हजार विद्यार्थी सहभागी रहेका थिए । विद्यालयले अहिलेसम्म ३०० नयाँ विद्यार्थीलाई कक्षा ११मा भर्ना गरिसकेको छ ।

जुममा नै अभिभावक भेला

विद्यालयले तहगत रुपमा परक फरक समयमा अनलाइनमा नै अभिाभवक संग छलफल गरेको छ । छलफलमा आफ्ना छोरा छोरीलाई वैकल्पिक कक्षामा सहभागिताका लागि विद्यालयले आग्रह गरेपछि विद्यार्थीको उपस्थितिमा उल्लेख्य वृद्धि भएको विद्यालयले जानकारी दियो ।

काठमाडौंकै ज्ञानोदय माध्यमिक विद्यालयलाई पनि सरकारको निर्णय कुर्नु परेन । विद्यालयले वैशाख दोस्रो हप्ताबाट नै अनलाइन कक्षा सञ्चालन गर्यो । यो विद्यालयले पनि अनलाइनको पहुँच नभएका विद्यार्थीलाई भौतिक दुरी कायम गरी विद्यालयमा नै सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्दै आएको छ । यो विद्यालयले आगामी १५ गतेदेखि प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले जानकारी दिए । उनका अनुसार माथिल्लो कक्षामा विद्यार्थीको उपस्थिति उत्साहजनक छ । भने तल्ला कक्षामा केही कमी छ ।

त्यस्तैगरी भक्तपुर नगरपालिका–३ को मेधा माध्यमिक विद्यालयले अहिले पहिलो त्रैमासिक परीक्षा सञ्चालन गरिरहेको छ । कक्षा ६ देखि १० कक्षासम्मको परीक्षा विद्यालयले अनलाइनबाट सञ्चालन गरिरहेको हो । सबै विद्यार्थीको पहुँचमा इन्टरनेट नभएका कारण केही चुनौती देखिए पनि सहभागी विद्यार्थीलाई लक्षित गरी परीक्षा सञ्चालन गरिररहेको प्रध्यानाध्यापक गंगाधर हाडाले जानकारी दिए ।

सो विद्यालयका कक्षा १० का ९५ प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी भइरहेका छन् । कक्षा ९ का पनि जम्मा विद्यार्थी मध्ये ९७ प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी भएको विद्यालयले जानकारी दियो । एक घण्टाको परीक्षामा विदार्थीले १५ मिनेटभित्र उत्तरपुस्तिकाको फोटो खिचेर अपलोड गर्ने समय विद्यालयले विदार्थीलाई प्रदान गरेको छ । विद्यालयले आजदेखि ३, ४ र ५ कक्षाको परीक्षा सञ्चालन गरेको छ ।

यस्तै, भक्तपुरकै वागीश्वरी माविले अहिले मिड टर्म परीक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले जानकारी दिए । विद्यालयले आगामी असोज २१ गतेबाट पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको विद्यालयले जानकारी दियो । यो विद्यालयले गत जेठ १३ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयले अनलाइनबाट समेट्न नसकिएका विद्यार्थीलाई रेडियो टेलिभिजन कार्यक्रम मार्फत सिकाइ क्रियाकलापमा सहभागी हुन विद्यालयले विद्यार्थी तथा अभिभावकलाई आग्रह गर्दै आएको छ । भने वरिपरिका विद्यार्थीलाई भौतिक दुरी कायम गरेर सहजीकरण गर्दै आएको छ ।

भक्तपुरकै सूर्य विनायक नगरपालिकाका सामुदायिक विद्यालयले अनलाइन, भौतिक दुरी कायम गर्दै विद्यालयमा शिक्षण र टोल शिक्षण गर्दै आएको छ । हरेक विद्यार्थीका टोलटोलमा शिक्षकहरु पालैपालो गएर सहजीकरण गर्दै आएको भक्तपुर नगरपालिकाले जानकारी दियो ।

Thuprai - Books and E-books