संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिका संयोजकसंग भोलि छलफल गर्ने भएको छ ।
समितिले उपकुलपति नियुक्ति प्रक्रियालगायतका विषयमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसंग छलफल गर्ने भएको छ । समितिले आज सूचना जारी गर्दै उपकुलपति नियुक्ति प्रक्रियालगायतका विषयमा मन्त्रालयसंग छलफल गर्ने जनकारी दिएको हो ।
विवादित तथा पूर्व उपकुलपतिहरूको नाम सर्टलिष्टमा परेको भन्दै आज राष्ट्रिय सभाको बैठकमा समेत चर्को विरोध भएको थियो । उपकुलपतिको सर्टलिष्टको विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माघ २५ गते राती अल्पसूची (सर्टलिस्ट) सार्वजनिक गरेको थियो ।
समितिले कुशुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलबासे, प्रकाश घिमिरेको नाम सार्वजनिक गरिएको छ । त्यस्तै भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको नाम सार्वजनिक गरेको छ ।
सार्वजनिक भएकामध्ये त्रिविका एक जना पूर्वउपकुलपति, वर्तमान उपकुलपति र कतिपय अन्य विश्वविद्यालयका पूर्वउपकुलपति भइसकेका व्यक्ति छन् ।