After SEE Portal

त्रिविलाई शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको निर्देशन

Bridge Course

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक क्यालेन्डरको कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

समितिको बैठकमा विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको प्रस्तुतिपछि सांसदहरुले पूर्वाधार र संरचनाका हिसाबले पनि ठूलो विश्वविद्यालयलाई व्यवस्थितरुपमा सञ्चालन नगर्दा उच्चशिक्षा र रोजगारीका लागि विद्यार्थीहरु विदेश जान बाध्य भइरहेको औँल्याए ।

समितिका सभापति डा कालुराम राईले उच्चशिक्षाका लागि विद्यार्थी बाहिर जानुपर्ने अवस्थालाई कसरी रोक्न सकिन्छ भनेर चिन्तनमनन गर्नुपर्ने आग्रह गरेका थिए ।

बैठकमा नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले मुलुकको पहिचान शिक्षाको विकासका आधारमा हुनुपर्ने बताउँदै सर्वाेत्कृष्ट र विद्यावारिधि गरेकालाई सिधै प्रक्रिया पूरा गरेर सिधै प्राध्यापकमा नियुक्ति दिनुपर्ने बताए ।

नेकपा (एमाले) का सांसद् विद्या भट्टराईले विश्वविद्यालयहरुमा कसले के कारणले तालाबन्दी गर्ने गरेको हो ? त्यसको कारणको भित्री तहमा पुगेर राजनीतिको उपल्लो तहबाटै समस्या समाधानका लागि ठोस प्रतिबद्धता आवश्यक भएको बताए ।

नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले त्रिवि स्वायत्त निकाय भएकाले उसले गर्न सक्ने काम आफैँ गर्नुपर्ने र आफ्नो विश्वविद्यालयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए ।  उनले विश्विद्यालयमा हुने तालाबन्दी र त्यहाँ भित्रका भौतिक हमला अनुचित भएकाले त्यसलाई नियन्त्रण गर्ने काममा आफूहरु सहयोगी हुने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले त्रिविका विद्यार्थीको चाहना र प्राज्ञिक सन्तुष्टिबारे विश्वविद्यालयले अध्ययन गर्नुपर्ने माग गर्दै आफूले गरेको सर्वेमा विद्यार्थीले समयमा परीक्षा र परीक्षाफल प्रकाशन नभएको गुनासो गरेको जानकारी गराए । उनले हरेक विषयको वार्षिक शैक्षिकपात्रो लागू गर्न आग्रह गरिन् । सोही पार्टीका सांसद डा तोसिमा कार्कीले परीक्षामा प्रश्नपत्रमा त्रुटि गर्नेलाई कारबाही गर्न माग गरिन् ।

बैठकमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले राष्ट्रिय योग्यता परीक्षण लागू गराउन तयारी भएको जानकारी गराउँदै त्रिविका क्याम्पस गाभ्ने प्रक्रिया पनि प्रारम्भ भएको बताए । उनले आयोगले राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याउने भएकाले त्रिविलगायत सबै विश्वविद्यालयले तोकिएको समयमा अध्यापन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नैपर्ने स्पष्ट पारे ।

४१ दिनदेखि तालाबन्दी    

त्रिविका उपकुलपति प्राडा बास्कोटाले गत ४१ दिनदेखि कीर्तिपुर पीडित सरोकार समाजका नामबाट विश्वविद्यालयमा जागिर लगाइदिन माग गर्दै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएकाले आफूहरु बाहिर बसेर काम गर्न बाध्य भएको बताए ।

उनले एक वर्षदेखि त्रिविको सेवा आयोगका अध्यक्षको पद रिक्त भएकाले जनशक्ति व्यवस्थापनका कार्यमा कठिनाइ भएको बताउँदै भएको विश्वविद्यालयलाई समृद्ध बनाउन जोड दिई नयाँ विश्वविद्यालय नखोल्न आग्रह  गरे ।

हाल त्रिविसहित ११ विश्वविद्यालय सञ्चालनमा छन् भने दुई नयाँ विश्वविद्यालयका कानुन कार्यान्वनमा आई सञ्चालनको तयारीमा छन् । यस्तै मानित विश्वविद्यालयसरह छ स्वास्थ्य प्रतिष्ठानहरु सञ्चालनमा छन् ।

प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा

त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।   परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति प्राडा बाँसकोटाले बताए ।

‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ”, प्राडा बाँसकोटाले बताए ।

प्राडा बाँस्कोटाले समितिको आजको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै  भने,  ‘‘अन्तर्राष्ट्रिय मान्यताअनुसार अङ्ग्रेजी भाषामा प्रश्न बनाउननै पर्ने हुन्छ, त्यसमा नेपाली भाषा थप्न सकिन्छ तर हरेक मातृभाषा पिच्छे प्रश्न सोध्न सकिँदैन ।” मुलुकका एक सय २३ मातृभाषा बोलिन्छन् ।     

हाल तीन लाख ४७ हजार दुई सय ६९ विद्यार्थी रहेको मुलुकको ठूलो उक्त विश्वविद्यालयमा एक हजार एक सय २४ सम्बन्धनप्राप्त र ६२ आङ्गिक क्याम्पस छन् ।

हाजिरी मेसिन प्राध्यापकले नै लगे

त्रिविका प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन समेत विश्वविद्यालयमा राख्न नदिएको  उपकुलपति प्राडा बास्कोटाले बताएका छन् ।

पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले बोकेर हिँडेको उनले समितिको बैठकमा जानकारी दिए ।

सो समितिको बैठकमा बोल्दै उनले सो मेसिन बोकेर हिँड्नेहरूलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो गरे।उपकुलपति बास्कोटाले उनीहरूलाई कारबाहीका लागि काठमाडौँको कुनै एक होटलमा आफूहरूले गरेको मिटिङको माईन्युट समेत संगठनको आवरणमा केही मानिसहरूले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि समेत व्यक्त गरे। उनले विश्वविद्यालय राजनीतिक भागबन्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि पटक पटक दोहोर्‍याए।

A Levels MA