After SEE Portal

आयोगले नतिजा खस्कँदै गएपछि नेगेटिभ मार्किङको प्रबन्ध हटायो

Bridge Course

शिक्षक सेवा आयोगले २०७८ चैत्र २ गते देखि लागु हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम, २०७८ सार्वजनिक गर्यो । १०० पूर्णाङ्कको परीक्षा र ५० प्रतिशत उत्तीर्णाङ्क तय गरेर पाठ्यक्रम सार्वजनिक गर्यो । पाठ्यक्रम अनुसार जम्मा ५० ओटा प्रश्न सोद्ने र प्रत्येक सही उत्तरको २ नम्बरका दरले अङ्क प्रदान गर्ने पाठ्यक्रमले निर्धारण गर्यो ।

खस्कँदै गएको नतिजालाई केही राहत दिन आयोगले लाइसेन्सको परीक्षामा केही सुधार गर्ने भएको छ । आयोगका उच्च अधिकारीका अनुसार शिक्षक छनोटका लागि लिएको तीनै तहको सामान्य विषयको परीक्षाको नतिजा लज्जास्पद आएपछि आयोगले माध्यमिक तह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा वस्तुगत प्रश्नमा नेगेटिभ मार्किङ हटाइएको छ।

आयोगले गत चैत्र ३० गते माविको लाइसेन्सका लागि विज्ञापन गरेको थियो । २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम खुला गरेको थियो । सो परीक्षामा सहभागी हुन ६७ हजार २६८ जनाले आवेदन दिएका छन्। ६५ हजार १७६ जना आवेदकले समय सीमाभित्र आवेदन दिएका थिए ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार सुदूरपश्चिम प्रदेशबाट ६ हजार ८३६, कर्णालीबाट ५ हजार ८१३, लुम्बिनीबाट १० हजार ९६२, गण्डकीबाट ५ हजार ६९६, बागमतीबाट १७ हजार ७८, मधेशबाट ८ हजार ६९७, र प्रदेश एकबाट १० हजार ९४, जनाले आवेदन दिएका छन् ।

मावि अध्यापन अनुमतिपत्रको परीक्षा असार १८ गते बिहान ८ बजे प्रदेशगत रुपमा सञ्चालन गर्ने आयोगले विज्ञापन गरेको छ।

लाइसेन्सको परीक्षामा विगत

आयोगले २०७७ असारमा अघिल्लो वर्ष २०७६ लिएको अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी ९४ प्रतिशत उमेदवार अनुत्तीर्ण भएका थिए । आयोगले असार २०७७ मा सार्वजनिक गरेको प्राथमिक तहको परीक्षाफल अनुसार कूल ६६ हजार ५६२ परीक्षार्थीमध्ये ३ हजार ८८३ जना अर्थात् ५.८३ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । यस्तै, निम्नमाध्यमिक तहको परीक्षामा ४.६३ प्रतिशत र माध्यमिक तहको परीक्षामा १४.७३ प्रतिशत परीक्षार्थी मात्र पास भएका थिए ।

निम्नमाध्यमिक तहको परीक्षामा १ लाख २ हजार २८४ जना र माध्यमिक तहमा ५६ हजार २७६ जना उमेदवार सहभागी थिए । समग्रमा ८ प्रतिशत परीक्षार्थी मात्र अघिल्लो पटकको लाइसेन्स परीक्षामा पास भएका थिए ।

हालैको शिक्षक छनोटको खुला प्रतियोगिताको नतिजा पनि कमजोर

यसैविच शिक्षक सेवा आयोगले तीनै तहका लागि शिक्षक छनोटका लागि खुला प्रतियोगिताको पहिलो चरणको परीक्षा २०७८ सालमा सञ्चालन गर्यो । आयोगले गत १५ चैतमा सञ्चालन गरेको परीक्षामा ३२ हजार ९७ जना सहभागी थिए। एक महीनापछि २० वैशाखमा आएको नतीजामा तीन हजार ८८६ अर्थात १२.१० प्रतिशत मात्रै उत्तीर्ण भए ।

त्यसैगरी, निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदका लागि ८८ हजार ५१९ जना परीक्षार्थीले परीक्षा आवेदन फारम भरेका थिए । सामान्य विषयको परीक्षामा जम्मा ७६ हजार ९०६ परीक्षा सहभागी भएका थिए । सहभागी मध्ये २० हजार ९८२ जना मात्र उत्तीर्ण भएका छन् । कुल उत्तीर्णको संख्या हेर्दा निमाविमा २७।२८ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भए ।

त्यस्तै प्राथमिक तहको नतिजा पनि उल्लेख्य नतिजामा सुधार भएन । आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फको नतिजा सार्वजनिक गर्यो । सो परीक्षामा १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ का सबै जिल्लाबाट लिखित परीक्षामा २१ हजार ४६६ परीक्षार्थी सामेल भएका थिए । उक्त परीक्षार्थी मध्ये सामान्य विषयमा ४ हजार २४७ जना मात्र उत्तीर्ण भएका छन् । त्यस्तै मधेश प्रदेशमा १० हजार १०९ जना लिखित परीक्षामा सहभागी भएका थिए भने ९५२ जना मात्र उत्तीर्ण भएका छन् ।त्यसेगरी बागमती प्रदेशमा लिखित परक्षिामा १७ हजार २२३ जना सहभागी मध्ये ३ हजार ७८९ जना मात्र उत्तीर्ण भएका छन् । त्यसैगरी गण्डकी प्रदेशबाट सामान्य परीक्षामा १५ हजार ७९७ जना सहभागी भएका थिए । सो परीक्षामा ३ हजार ६०६ जना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट लिखित परीक्षामा १६ हजार ९९६ जना सहभागी भएका थिए उक्त परीक्षामा ३ हजार ४६८ जना मात्र उत्तीर्ण भएका छन् । त्यस्तै कर्णाली प्रदेशबाट लिखित परीक्षामा ८ हजार २२१ जना सहभागी भएका थिए । ती मध्ये १ हजार १९१ जना उत्तीर्ण भएरका छन् त्यसैगरी सुदुर पश्चिम प्रदेशबाट लिखित परीक्षामा १२ हजार ८४६ जना सहभागी भएका मध्ये २ हजार १३२ मात्र उत्तीर्ण भएका छन् ।

 

A Levels MA
Thuprai - Books and E-books