After SEE Portal

नो अब्जेक्सन लेटर दिन नसक्दा प्रमुखले दिए राजीनामा

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेवास्ता गरेका कारण नो अब्जेक्सन लेटर (एनओसी) जारी गर्ने कार्यमा आफू असक्षम भएको भन्दै वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुखले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले लेखेको राजीनामा पत्र आफ्नो फेसबुक वालमा समेत पोस्ट गरेका छन् ।

शाखा प्रमुख (उपसचिव) शान्तिराम पौडेलले राजीनामा पत्र हिजो बुधबार शिक्षा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख कालीप्रसाद पराजुलीलाई बुझाएका छन् । आज विहान १० बजे राजीनामा सनाखत गर्न पौडेल मन्त्रालय जाँदैछन् ।

“म अब ब्याक हुन्न” उनले भने, “मैले घुर्काएको पनि होइन । म आफ्नो अडानमा छु । समयमा नो अब्जेक्सन लेटर दिन नसक्दा मैले नैतिक धरातल गुमाएँ । म त्यो जिम्मेवारीमा रहनु हुँदैन । तसर्थ नैतिकताका आधारमा राजीनामा दिएको हुँ ।”

दैनिक कम्तीमा एक हजार दुई सय जनाको आवेदन पर्ने गरेको छ । तीमध्ये अधिकांशले सोही दिन नो अब्जेक्सन लेटर प्राप्त गर्ने गरेका छन् । शाखामा विहान ७ बजेदेखि नै सेवाग्राहीहरुको भीड सुरु भइसक्छ । जम्मा पाँच जना कर्मचारीका भरमा नो अब्जेक्सन लेटर जारी गर्नुपर्ने भएपछि भीड व्यवस्थापन गर्न त्यहाँका कर्मचारीलाई हम्मे हम्मे परेको छ ।

त्यहाँका समस्याका बारेमा उनले मन्त्रालयका जिम्मेवार पदाधिकारीलाई पटक पटक गुनासो गरेका थिए तर मन्त्रालयले बेवास्ता गरिरह्यो ।

“नो अब्जेक्सन लेटर दिन विद्यार्थी १० दिनसम्म काठमाडौँको होटेलमा बसेको छ । विहानैदेखि लाममा छ । मेरो झ्यालका छेउमा आइपुग्दा उसलाई नो अब्जेक्सन लेटर दिन सकेन । त्यसो हुँदा मैले नैतिक धरातल गुमाएँ । मैले जागिरबाट सन्तुष्ट हुने अवस्था पनि रहेन” उनले थपे, “म व्यवस्थापन गर्न सक्दिन । अरु नै कर्मचारी ल्याउ भनेको छु । राज्यले सेवा दिन सकेन भने विद्यार्थीले कहाँबाट सेवा पाउँछ रु”

समयमा सेवा उपलब्ध गराउन नसक्दा धेरै विद्यार्थीले भर्ना हुने अवसर पनि गुमाएका छन् । विदेशी विश्वविद्यालयले एक वा दुई दिनभित्र नो अब्जेक्सन लेटर बुझाइसक्न भन्ने गरेको तर शाखाले तत्काल उपलब्ध गराउन नसक्दा शुल्क तिरिसकेका विद्यार्थीले समेत भर्ना हुने अवसर गुमाउँदै आएका छन् ।

उनले आजबाट लागू हुने गरी राजीनामा दिएका छन् । गत मंसिर अन्तिममा त्यहाँ उनी सरुवा भएर आएका हुन् । यसअघि उनी शिक्षा विकास तथा समन्वय एकाइ धनुषामा प्रमुख थिए ।

यसअघि केही वर्ष अगाडि राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक (सहसचिव) विष्णुप्रसाद अधिकारीले पनि नियन्त्रकबाट राजीनामा दिएको तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पत्र बुझाएका थिए । त्यसपछि उनको स्थानमा रामराज खकुरेल (उपसचिव)लाई जिम्मेवारी दिइएको थियो ।

 

A Levels MA
Thuprai - Books and E-books