SEE Result 2082

केन्द्रले इ क्लास नेपाल मोबाइल एप्स सञ्चालनमा ल्यायो

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी आजदेखि इ क्लास नेपाल मोवाइल एप्स सञ्चालनमा ल्याएको छ ।  विद्यालय तहका विद्यार्थी तथा शिक्षकलाई तत्काल सेवा उपलब्ध गराउने उद्देश्यले सो एप्स आजदेखि सञ्चालनमा ल्याएको हो ।

भर्चुअल रुपमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेको सो एप्स प्रगति आइटी सोलुसनले निशुल्क तयार गरेको हो । सो एप्स ११ एमबी को छ ।

नेपालका सबै ठाउँमा सहज तरिकाले प्रयोग गर्न सकिने गरी उक्त एप्स तयार गरिएको केन्द्रका महानिर्देशक वैकुण्ठ प्रसाद अर्यालले बताए ।

कक्षा १ देखि १० सम्मका अनिवार्य विषय समावेश गरिएको एप्स एन्ड्राइभ मोवाइल तथा साधारण मोबाइलबाट शिक्षक तथा विद्यार्थीले प्रयोग गर्न सक्ने गरी तयार गरिएको छ । सो एप्समा विद्यार्थीका लागि पाठ्य सामग्री र शिक्षकका लागि शिक्षक निर्देशिका, मूल्यांकन विधि लगायका वैकल्पिक शैक्षिक सामग्री समावेश गरिएको छ । ‘वर्तमान विषम परिस्थितका अलावा जुनसुकै समयमा प्रयोग कर्ताले सो एप्स आवश्यकता अनुसार प्रयोग गर्न सकिने छ ।’ उद्घाटन कार्यक्रमलाई सम्बोध गर्दै महानिर्देशक अर्यालले भने, ‘ईसीडीका बालबालिकालाई लक्षित गरी सामग्री तयार गरिरहेका छौं , थप सामग्री थप गर्दै जाने योजनामा छौं ।’

सो एप्सको उद्घाटनपछि सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्रलाई क्षति हुन नदिनका लागि कक्षा १२ को परीक्षा सम्पन्न गरिएको र उच्च शिक्षाका लागि पनि विकल्पको खोजीका लागि छलफललाई अघि बढाएको बताए । ‘वर्तमान अवस्था तथा बदलिएको परिवेशमा बालबालिकाको सिकाइलाई वैकल्पिक रुपमा  निरन्तर राख्नका लागि यसले सहयोग गर्ने छ ।’ मन्त्री पोखरेलले भने, ‘महामारी छ भनेर बालबालिकाको सिकाइ अवरुद्ध गर्न नहुने सरकारको धारणा रहेकैले कक्षा १२ को परीक्षा सञ्चालन  भयो । अब यो एपमा राखिएको सामग्रीले विद्यार्थी, शिक्षक र अभिभावकलाई उपयोगी हुने छ ।’

+2 School
Counseling
Bachelors Portal