After SEE Portal

कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन

Bridge Course

कैलालीको टीकापुरमा अझै कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक पुगेका छैनन् । यो शैक्षिक सत्रबाट परिवर्तन भएका पाठ्यपुस्तक अझै पनि दुरदराजका विद्यालयमा पुग्न नसकेका हुन् ।

 दुर्गमका विद्यालयमा अझै पाठ्यपुस्क उपलब्ध हुन सकेपछि अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पठनपाठन नियमित हुन सकेको छैन ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार यो शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भएको छ । विद्यार्थीले नयाँ पाठ्यपुस्तक पढ्न पाउनुपर्ने भए पनि अझै हातमा पुस्तक नपुगेको टीकापुरका विद्यार्थी वसन्त विकको गुनासो छ । “किताब छैन, किताब नभएकाले विद्यालयमा नियमित पढाइ हुन सकेको छैन”, विकले भने, “किताब नै नभए कसरी पढ्नु ? विद्यालयमा गए पनि किताब छैन भन्दै शिक्षकले पनि पढाउँदैनन् । गएका साथीहरु पनि समयअगावै घर फर्कन्छन् ।”

टीकापुरका सुरेश चौधरी कक्षा ९ मा पढ्छन् ।उनले पनि अझै पाठ्यपुस्तक पाएका छैनन् । पाठ्यपुस्तक नभएर उनले पनि पढ्न नपाएको गुनासो गरे ।

“स्थानीय तह निर्वाचनलगत्तै जेठ महिनाबाट विद्यालयमा पढाइ सुरु भयो । पढाइ सुरु भएको २० दिनसम्म पनि हामीले पाठ्यपुस्तक पाएका छैनौँ”, चौधरीले भने, “यसले त पछिल्ला कक्षामा पनि असर पार्छ । समयमै पढ्न नपाए कोर्स पूरा हुँदैन । अनि हामीलाई घाटा लाग्छ ।”

विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा शिक्षक के, कसरी शिक्षण गर्ने भन्ने कुरामा अन्यौलमा छन् । शिक्षकमा ढिलो गरी पाठ्यपुस्तक आए कोर्ष पछाडि धकेलिन्छ कि भन्ने चिन्ता बढेको पशुपतिनाथ आधारभूत विद्यालयका शिक्षिका शान्ति बुढाले बताइन् । “कोर्स पछाडि धकेलिने देखिएको छ । अन्य कक्षामा धमाधम पढाइ भइरहेको छ”, शिक्षक बुढा भन्छिन्,, “समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सबैले पहल गरिदिनुपर्छ । बालबालिकाको समयमै पढ्न पाउने अधिकार सुरक्षित हुनुपर्छ ।”

पाठ्यपुस्तक नहुँदा पनि विद्यार्थीलाई व्यस्त राख्न केही न केही क्रियाकलाप गर्न जरुरी छ । हातमा पाठ्यपुस्तक नहुँदा उनीहरुलाई व्यस्त राख्न शिक्षकले पाठ्यक्रमका आधारमा उनीहरुलाई अन्य सन्दर्भ पुस्तक शिक्षण गरिरहेको जनजागृति मावि सीतापुरका प्रधानाध्यापक मुक्तिप्रसाद भण्डारी बताउछन् । “विद्यार्थीको पढाइलाई सहयोगी हुने खालका अन्य क्रियाकलापमा व्यस्त राख्ने, अन्य किताब अध्ययनमा सघाउने काम गरिरहेका छौँ’’, प्रधानाध्यापक भण्डारीले भने, “जसले उनीहरुको अध्ययनमा बाधा नपुगोस्, पढाइमा रुचि लागि रहोस् भन्ने उद्देश्य हो ।”

विद्यालयमा पठाइएका स्वअध्ययन सामग्री प्रयोग गर्न सकिने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउछन् । “विद्यालयमा उपलब्ध पाठ्यक्रमअनुसार शिक्षण गर्न सकिन्छ । विद्यालयमा भएका अन्य पुस्तक पढ्न लगाएर पनि विद्यार्थीलाई सिर्जनशील बनाउन सकिन्छ ।” उनले भने, “हामीले हरेक विद्यालयमा स्वअध्ययन सामग्री उपलब्ध गराएका छौँ । यस्तो समयमा ती सामग्री प्रयोग गरेर विद्यार्थीलाई व्यस्त राखौँ किनकि अझै पुस्तक कहिले पुग्छ भन्ने यकिन छैन । त्यसैले अभिभावकले पनि घरमा बालबालिकालाई पुराना किताव भए पनि पढ्न लगाउनुपर्छ ।”

पाठ्यपुस्तक उपलब्ध नभए पनि पाठ्यक्रम र अन्य सहयोगी सामग्रीको आधारमा कक्षामा पठनपाठन गर्न अभिभावकको समेत सुझाव छ । किताव नभएर बालबालिका आत्तिएकाले पाठ्यक्रमका आधारमा उनीहरुलाई विद्यालयमा रुचि लाग्ने खालका क्रियाकलापमा ब्यस्त राख्नुपर्ने अभिभावक झरना विक बताउछिन् ।पुस्तक कहिले विद्यालयसम्म आउने हो अझै यकिन छैन । विद्यार्थीको हातमा पाठ्यपुस्तक समयमा उपलब्ध नभए पनि पाठ्यक्रमका आधारमा विभिन्न क्रियाकलापमा व्यस्त बनाई राख्नुपर्ने बिकले बताइन् ।

A Levels MA