After SEE Portal

शुक्लाफाँटा नगरपालिकामा दसवर्षे शैक्षिक योजना

Bridge Course

शुक्लाफाँटा नगरपालिकाले दसवर्षे शैक्षिक योजना निर्र्माण गरेको छ । शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय बनाउनका लागि योजना निर्माण गरिएको हो ।

विगतको अवस्था, वर्तमानको यथार्थ र भविष्यको सपना बोध हुने गरी योजना निर्माण गरिएको छ । योजनामा ज्ञान, सीप अनुभवलाई आत्मसात् गर्दै वर्तमानमा भविष्यको आशाका लागि काम गर्न सघाउने उद्देश्य राखिएको छ ।

आगामी दस वर्षको अवधिमा नगरपालिकाको शिक्षा विकासका लागि मार्गचित्र तय गर्न मिश्रित अवधारणामा केन्द्रित रही योजना तयार पारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । उनका अनुसार उपलब्ध स्रोत, साधनको समुचित र अधिकतम परिचालन गरी मुलुकले राखेका दीर्घकालीन सोच, शिक्षासम्बन्धी संवैधानिक व्यवस्था, राष्ट्रिय शिक्षा नीति, राष्ट्रिय विज्ञान तथा प्रविधि नीति, सामुदायिक विद्यालय सबलीकरणका लागि सम्बोधन गर्नुपर्ने विषय योजनामा राखिएका छन् ।

आवधिक योजनाका लक्ष्य, दिगो विकासका लक्ष्य, नेपाल सरकारले अन्तर्राष्ट्रिय रुपमा व्यक्त गरेका प्रतिबद्धता, समय समयमा आइपर्ने दैविक प्रकोप र प्राकृतिक जोखिमले पार्ने प्रभावलाई समेत सम्बोधन हुने गरी नगरपालिकालाई शैक्षिक हव बनाउने गरी विसं २०७८ देखि २०८८ सम्मको दसवर्षे शिक्षा योजना निर्माण गरिएको छ ।

“शिक्षामा नवीनतम् सूचना सञ्चार प्रविधिको प्रयोग, शिक्षकको पेसागत विकास, बालमैत्री विद्यालय वातावरण निर्माण जस्ता प्राथमिक मुद्दालाई योजनामा समेटिएको छ”,उनले भने, “नयाँ सोच, नवीन शैलीद्वारा नगरवासीको बढ्दो चासो, राष्ट्रिय अपेक्षा, विश्वपरिवेशमा सिर्जित ज्ञानको विकासलाई सम्बोधन गर्न यस योजनाले सघाउने विश्वास लिएका छौँ ।”

उनका अनुसार यो लगानी दोहरो नपर्ने गरी समुचित र न्यायपूर्ण वितरणका लागि पनि सचेत र सतर्क भई यस क्षेत्रमा लगानी गर्न इच्छुक सबै पक्षसँग एकापसमा हातेमालो गर्दै शिक्षा क्षेत्रको विकासका लागि प्रतिबद्ध हुनु आवश्यक छ ।

शिक्षा क्षेत्रसँग सम्बन्धित नीतिगत व्यवस्थासँगै राष्ट्रिय शिक्षा नीति, कानुनी व्यवस्था, संवैधानिक व्यवस्था, पन्ध्रौँ योजना, विद्यालय क्षेत्र विकास योजना, दिगो विकास लक्ष्य, नगरपालिकाको भौगोलिक, सामाजिक, सांस्कृतिक आर्थिक तथा जनसाङ्ख्यिक स्वरुपलाई योजनमा समावेश गरिएको छ ।

योजना निर्माणको प्रक्रियाअन्तर्गत नयाँ शिक्षा क्षेत्र योजना, नगरपालिकाको शिक्षा क्षेत्रको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीति, प्रमुख उपलब्धिका सूचकलाई राखिएको छ । अपेक्षित उपलब्धि तथा प्रमुख क्रियाकलाप तथा लक्ष्य, शिक्षामा सूचना प्रविधि, उपलब्धि, नतिजा, आपत्कालीन तथा सङ्कटपूर्ण शिक्षा, सिकाइ उपलब्धि लगायतका कुराहरुलाई योजनामा उल्लेख छन् ।

 “राज्य पुनः संरचना भई तीन तहका सरकार अस्तित्वमा आएसँगै स्थानीय तहमा शिक्षा क्षेत्रको आवधिक योजना निर्माणको पहिलो प्रयासका रुपमा यसलाई लिएका छौँ”, नगरपालिकाको शिक्षा शाखाका प्राविधिक दीपेन्द्र जोशीले भने, “शिक्षा क्षेत्रको योजनाको ढाँचामा एकरुपता ल्याउने गरी दसवर्षे योजना निर्माण गरी तीनवटै सरकारहरुमार्फत अगाडि बढाइएको छ, नगरको शिक्षाको योजनाबद्ध विकासका लागि दसवर्षे योजनाले सघाउ पुर्याउने छ ।”

उनका अनुसार शिक्षालाई साधारण, परम्परागत, प्राविधिक र व्यावसायिक शिक्षामा वर्गीकरण गरी नगरलाई सुहाउँदो शिक्षालाई लागू गरिने व्यवस्था योजनामा गरिएको छ ।

आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क, माध्यमिक शिक्षा निःशुल्क हुने, गरिब, दलित, असहाय र अपाङ्गताका लागि उच्च शिक्षासमेत निःशुल्क हुने व्यवस्थालाई निरन्तरता दिइएको छ । संवैधानिक व्यवस्थाअनुसार आधारभूत आवश्यकतासम्बन्धी नीतिअन्तर्गत शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्र हितप्रति समर्पित जनशक्ति तयार गर्ने कुरालाई मनन गर्दै गुणस्तरीय र रोजगारमुलक शिक्षामा जोड दिइएको छ ।

कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम लागू गरी स्थानीय भाषामा शिक्षण गर्ने व्यवस्थासँगै कक्षा ४ देखि ८ सम्म स्थानीय आवश्यकतालाई परिपूर्ति गर्ने गरी स्थानीय विषय निर्माण गरी कार्यान्वयन गरिने व्यवस्था योजनामा समावेश गरिएको छ ।

यसैगरी कक्षा १ देखि १२ सम्मका पाठ्यक्रम तथा पाठ्यपुस्तक, पाठ्यसामग्री छपाइ गरी विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पु¥याउने व्यवस्था गरिने छ ।

पाठयक्रमले सिकाइ बालमैत्री, स्थानीय आवश्यकतालाई परिपूर्ति गर्ने सान्दर्भिक र समयसापेक्ष बनाइने छ । पाठयक्रम विकास कार्यान्वयन सुधार र परिमार्जन गरिँदै लैजाने नीति अगाडि सारिएको छ ।

योजनामा वर्तमान परिवेशलाई दृष्टिगत गरी पाठ्यक्रमले सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी विद्यार्थीलाई एक्काइसौँ शताब्दी सुहाउँदो मानव निर्माण गर्ने लक्ष्य लिइएको छ ।

नगरपालिकामा हालसम्म सामुदायिक ३२, संस्थागत २५, सामुदायिक सिकाइ केन्द्र दुई र बालविकास केन्द्र ६५ सञ्चालनमा रहेका छन् । नगरपालिकामा साक्षरत प्रतिशत ९५ प्रतिशत रहेको छ ।

A Levels MA